किन रोके प्रधानमन्त्रीले नयाँ क्षेत्रफल समेटिएको पुस्तक ? संविधानविद् र नेताहरु भन्छन्-‘दोहोरो चरित्र’

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले विगत धेरै वर्षदेखि भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रलाई गाभ्दै नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्यो । त्यसपछि कुटी, गुञ्जी, नाभी हुँदै लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्दा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१.२८ वर्गकिलोमटिर पुगेको कुरा उल्लिखित पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गर्नबाट रोकेका छन् ।

पाठ्यक्रम विकास केन्द्रले नेपालको समग्र परिचयसहित तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ पुस्तक स्वीकृतका लागि मन्त्रिपरिषद्मा पेश भए पनि प्रधानमन्त्री ओलीले रोकेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा उक्त पुस्तक सार्वजनिक गर्नेबारे छलफल हुँदा प्रधानमन्त्री ओलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई अहिले बाहिर नल्याउन निर्देशन दिएको श्रोत श्रोत बताउँछ ।

त्यसअघि सरकारले सार्वजनिक गरेका औपचारिक कागजपत्रमा देशको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर मात्र उल्लेख हुँदै आएको थियो । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरासहितको भूभाग समेटेर गत ७ जेष्ठमा नेपालको नक्सा सार्वजनिक गरेको थियो ।

नेपालले नक्सा सार्वजनिक गरेपछि चिढिएको भारतले अहिलेसम्म द्धिपक्षीय वार्ताका गर्न मानेको छैन । भारतको स्वतन्त्रता दिवसका दिन दुई देशका प्रधानमन्त्रीबीच सामान्य कुराकानी भएपनि मुख्य विषयमा कुराकानी भएको छैन ।

अहिले आएर ओलीले पुस्तक सार्वजनिक नगर्न निर्देशन दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । जबकि, उक्त पुस्तकमा नेपालको प्राचीनदेखि आधुनिक समय समयसम्मका विषयवस्तुहरु समेटिएका छन् ।

उक्त पुस्तकमा नेपालको ऐतिहासिक सन्दर्भ, सिमानाको परिचय र सिद्धान्त, नेपाल शब्दको उत्पत्ति, प्राचीन इतिहास, पृथ्वीनारायण शाहको एकीकरण अभियान, पृथ्वीनारायण शाहपछि नेपालको विस्तार, विशाल नेपालजस्ता विषय पनि समावेश छन् ।

‘प्रधानमन्त्रीको दोहोरो चरित्र’
अहिले आएर यसरी प्रधानमन्त्रीले निर्देशन दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको बेला संविधानविद् भीमार्जुन आचार्यले भने प्रधानमन्त्रीको दोहोरो चरित्रको रुपमा बुझेका छन् ।

उनले प्रधानमन्त्रीले जनदबाबमा परेर मात्रै नक्सा जारी गरेकोजस्तो देखिएका पनि उनले बताए । “अहिले आएर प्रधानमन्त्रीको दोहोरो चरित्र देखियो । उहाँले शुरुमा के सोचेर यस्तो गर्नुभयो ।” संविधानविद् आचार्यले मकालु खबरको जिज्ञासामा भने, ‘उहाँले जनदबाबको सामना गर्नु नसकेर नक्सा प्रकाशन गर्नुभएको होकि भन्नेजस्तो पनि देखिएको छ ।’

‘प्रधानमन्त्रीको नक्कली राष्ट्रवाद’
यस्तै यता प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डिला संग्रौला (पन्त)ले पनि प्रधानमन्त्रीले नक्कली राष्ट्रवाद देखाएको टिप्पणी गरिन् ।

मकालु खबरसँगको कुराकानीका क्रममा सांसद संग्रौलाले प्रधानमन्त्रीले नेपाली जनताको आँखामा छारो हाल्ने काम मात्रै गरेको आरोप लगाइन् । “प्रधानमन्त्रीज्यूले नक्कली राष्ट्रवाद देखाउनुभयो । शुरुमा त्यति आँट गर्नुभयो । अहिले आएर फेरि त्यसकै समग्र अध्ययनपछि बनेको पुस्तक रोक्नु भनेको जनताको अगाडि ठिक्क हुनु खोज्नु मात्रै हो ।” उनले हामीसँग भनेकी छिन्, ‘यसरी जनतालाई झुक्याउन पाइन्न ।’

‘अगाडिको कदमअनुसार त्यसो गर्न मिल्दैन’
बागमती प्रदेश इंचार्ज तथा नेकपा नेतृ अष्टलक्ष्मी शाक्ले भने प्रधानमन्त्रीको बचाऊ गरिन् । प्रधानमन्त्री डराउने स्वभावको नभएको भन्दै शाक्यले अगाडिको कदमअनुसार प्रधानमन्त्रीले त्यसो गर्न नमिल्नेसमेत बताइन् ।

“आजसम्म मैले बुझेकीमा चाहिँ प्रधानमन्त्रीज्यू त्यस्तो हुनुहुन्न । उहाँले अगाडि आँट भरोसा गरेरै नक्सा प्रकाशन पनि गर्नुभएको हो ।” मकालु खबरसँगको कुराकानीको क्रममा शाक्यले भनिन्, ‘मलाई जहाँसम्म लाग्छ, प्रधानमन्त्रीज्यूले त्यसो गर्नुभएको छैन होला ।’

प्रतिक्रिया