रामचन्द्र पौडेलको आक्रोशः सरकार जनताको कि पार्टीको ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सरकार जनताको भन्दा पनि पार्टीको मात्र भएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता पौडेलले कम्युनिस्ट पार्टीको चालामाला हेर्दा वर्तमान सरकार जनताको हुन नसकेको जिकिर गरेका छन् । उनले सरकार जनताको कि पार्टीको भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।

सरकारले संवैधानिक परिषद् र न्याय परिषद् तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरु समेत पार्टीले आफ्नो अनुकुलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्नुपर्ने कुरो आएको भन्दै नेता पौडेलले यसले सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको संकेत गरेका छन् ।

‘अहिले नेपालको कम्युनिष्ट पार्टीको चालामाला हेर्दा सरकार, संवैधानिक परिषद् र न्याय परिषद् तथा अन्य स्वायत्त निकायमा गर्नुपर्ने नियुक्तिहरु समेत पार्टीले आफ्नो अनुकुलको रोष्टर बनाएर पार्टीकै निर्देशन बमोजिम गर्नुपर्ने भन्ने कुरो आएको छ । यो भनेको संवैधानिक सर्वाेच्चता हाेइन, सर्वसत्तावादतिरको तानावाना हो ।’

नेता पौडेलले लोकतन्त्रमा पार्टीको घोषणापत्र र उमेदवार हेरेर जनताले चुनेपनि सरकार पार्टीको पेवा नहुने, जनताको हुनुपर्ने पनि बताएका छन् । उनले देश र जनता प्रति हैन नितान्त कम्यूनिष्ट पार्टी प्रति जवाफदेही हुने प्रथा कम्युनिष्ट अधिनायकवादमा मात्र हुने बताएका छन् ।

प्रतिक्रिया