नेपाल-भारत सीमा नाकाबाट एक युवतीकाे उद्धार, बलि चढाउन लगिएकाे आशंंका

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका घर भएकी १८ वर्षीय किशोरीलाई विभिन्न प्रलोभनमा पारेर भारत लैजाँदै गरेकाे अवस्थामा प्रहरी र साना हातहरु नामक संस्थाले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको लेटाङ्ग नगरपालिका-३ घर भइ हाल रामधुनी नगरपालिका-५ झुम्कामा बस्ने २२ वर्षीय मनिका ढकाल, सप्तरीको विष्णुपुर गाउँपालिका-५ का २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीको तिलाढी कौलारी गाउँपालिका- १ का २० वर्षीय प्रदिपकुमार मण्डल रहेका छन् ।

उनीहरूलाई नेपाल र भारतको सिमा नाका इस्लामपुरबाट आइतबार साँझ पक्राउ गरिएकाे मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये गिरोहका मुख्य नाईक सुमित रहेको खुलेको छ । पक्राउ परेका तीनै जनालाई मंगलबार मोरङ अदालतमा ‘मानव बेचबिखन तथा ओसारपसार’ मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

एसपी खड्काले भने, ‘प्रलोभनमा पारी भारत बिक्री गर्न लैजान खोजिएको प्रराम्भिक चरणको अनुसन्धानबाट देखिन्छ किशोरीलाई उद्धार गरेका छौँ । अहिले हामी अनुसन्धानको क्रममा छाैँ । थप विषय पछि खुल्नेछ ।’

पूजामा बली दिन भारत लगिएको आशंंका

उद्धार गरिएकी उक्त किशोरीलाई भारतमा बली दिन लगिएको आशंका गरिएको छ । ती किशोरीलाई भारत पुर्याएबापत उनीहरुले १२ लाख रुपैयाँ पाउने डिल समेत भएकाे पक्राउ परेका गिरोहका मुख्य नाईके सुमितले बयानको क्रममा बताएको साना हातहरू नेपाल मोरङ संयोजक विवश श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘किशोरीलाई पूजाको लागि भनेर बाेलाउनु । उचाइ नाप्नु, महिनावारी भए नभएको सोधिखोजी गर्नु, शरीरमा कुनै दाग नभएको हुनुपर्ने र विराटनगरमा पूजा छ भनेर बोलाएर भारतर्फ लैजानुलाई बलिको लागि लगिएकाे हुन सक्ने देखिन्छ । उनी थप्छन्,  ‘यस विषयमा प्रहरीले गहन अनुसन्धान गरे धेरै विषय खुल्नेछ ।’

सुमित र उनका भिनाजुबीच किशोरी उपलब्ध गराउने विषयलाई लिएर १२ लाख रुपैयाँको ‘डिल’ भएको प्रहरी स्राेतकाे भनाइ छ । यद्यपी एसपी खड्काले भने बलि नै दिने वा अरु केही गतिविधिमा लगाउने गरि लगेको भन्ने विषय खुलिनसकेको बताए । उनले भने, ‘हामी अनुसन्धानको क्रममा छाैँ, सबै कोणबाट सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ । थप विषय पछि खुल्नेछ ।’

इन्ची टेप खरिद

सुमित र मनिकाको २ वर्ष अगाडि फेसबुकमार्फत् चिनजान भएको थियो । मनिका ती किशोरीको घर नजिक तरकारी पसल सञ्चालन गर्दै आएकी थिइन् । उनी अविवाहित छिन् ।

प्रहरीका अनुसार कक्षा १० मा अध्ययन गर्ने किशोरीको घरमा मनिकाको आउजाउ रहेको थियो । उनले किशोरीकी आमा र बाबुलाई मामा माइजु भनेर सम्बोधन गर्थिन् । मनिकाले ती किशोरीलाई विराटनगरमा पूजा रहेको र पूजामा एक जना कन्या खोजिएकोले जान भनेकी थिइन् ।

पूजामा टिका लगाएर दक्षिणा ५ हजार रुपैयाँसहित नयाँ मोबाइल दिने भनेपछि मनिका उनीसँग आएको खुलेको छ ।मनिकाले किशोरी तयार भएको सुनाएपछि सुमितले उचाइ ५ फुटभन्दा माथि र शरीरमा कुनै दाग नभएको हुनुपर्ने बताएका थिए ।

त्यसपछि मनिकाले किशोरीको हाइट नाप्ने योजना बनाएर असोज १ गते उनलाई झुम्का बजार लिएर गएकी थिइन् । त्यहाँको एक हार्डवेयर पसलमा ९० रुपैयाँमा इन्ची टेप खरिद गरेर उनले किशोरीको हाइट नापेपछि ती किशारीलाई विराटनगर ल्याउने योजना बनेको थियो ।

पाँच हजारको लोभ  

पुजाका लागि लगिएकी युवतीलाई पूजामा बस्दा कालो लुगा लगाउनुपर्ने र कालो लुगाले छोप्दा डराउन नहुने भन्दै मनिकाले सम्झाएकी थिइन् । पूजामा आफूसँगै हुने बताएपछि पाँच हजार पाउने आशमा उनले सहमति जनाइन् । तर, विराटनगरबाट भारततर्फ पुगेको उनले पत्तो पाइनन् । बोर्डर कटाएपछि उनलाई एउटा गाडीमा हालेर लगिएको थियो । फारबिसगञ्ज पुुगेपछि मात्र उनले आफू बेचिन लागेको थाहा पाएकी थिइन् ।

‘विराटनगरमा पूजा भनेर ल्याएकोमा भारत प्रवेश गरेपछि आफू निकै डराएरकाे र चढेको गाढीबाट हाम फालेर नेपालतर्फ आएको उनले बताइन् । उनको साना हातहरू र प्रहरीको सहयोगमा उद्धार भयो ।

उनले भनिन्, ‘मलाई भारत पुर्याएकाे भन्ने थाहा पाएपछि म गाडीबाट हाम फालेर भागेँ, चिच्याउन र कराउन थालेपछि नडराउन आग्रह गर्दै उनीहरु पनि मलाई पछ्याउँदै आए । त्यसक्रममा उनीहरु पक्राउ परेका हुन् ।’

बाटोमा लैजाने क्रममा युवाले शंकास्पद तरीकाबाट अरुसँग फोनमा कुरा गरेको थाहा पाएपछि भागेको किशोरीले बताइन् ।

प्रहरीका अनुसार सुमितका भिनाजु भारतको सहरसा जिल्लाको झिट्कियामा बसेर निर्माण सम्बन्धी ठेक्का पट्टाको काम गर्ने गरेको खुलेको छ । भिनाजु र उनका भाई वीरेन्द्र मण्डलसँग सम्पर्क गरेर सुमितले किशोरीलाई भारत लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार किशोरीलाई लिएर जानेहरुसँग नेपाली नम्बरको मोबाइल मात्रै थियो । नेपाली सीमले जोगवनीबाट फारवेशगञ्जतर्फ लागेपछि काम गरेन । नेपालबाट जानेहरुसँग भारतीय नम्बरको सीम नभएका कारण उनीहरुबीच सम्पर्क टुटेको पाइएको छ ।

प्रतिक्रिया