नेपाल-चीन सीमाबारे बाेल्दै सरिता गिरीले भनिन्- सुरक्षाका लागि मित्रराष्ट्रसँग सल्लाह लिऊँ

काठमाडौं । पूर्व सांसद तथा मन्त्री सरिता गिरीले हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीनले नेपाली भूमि अतिक्रमण गरेकाबारे आधिकारिक रुपमा तुरुन्त जानकारी गराउन सरकारसँग माग गरेकी छिन् ।

आज (बुधबार) एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भूमि अतिक्रमणबारे आधिकारिक जानकारी गराउन सरकारसँग माग गरेकी हुन् । यदि सरकार स्वयमले आफ्नो सीमानाको सुरक्षा गर्न नसके छिमेकी देशको सहयोग लिनुपर्ने उनको भनाइ छ ।

यदि नेपाल सरकार आफनो सीमाना को रक्षा अहिलेको अवस्थामा स्वयम् गर्न सक्षम छैन भने मित्र राष्ट्रहरुसँग सल्लाह गरी र सहयोग मागी नेपालको उत्तरी सीमानाको रक्षाको व्यवस्था गर्नका लागि तत्काल अग्रसर हुन सरकारसँग आग्रह गर्दछु,’  गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,- ‘साथै हुम्ला जिल्ला लगायत अन्य उत्तरी भागका जिल्लाहरुमा चीनले नेपालको भूमि अतिक्रमण गरेको बारे पनि नेपाल सरकारले तुरन्त आधिकारिक जानकारी गराउन माग गर्दछु ।’

केही दिनयता देखि हुम्ला जिल्लाको लिमी र लाप्चा बीच नेपालको भूमिमा चिनिया पी एल ए ले ९ वटा अनधिकृत भवन निर्माण गरेका समाचारहरू निरन्तर आइरहेकाेप्रति आफ्नाे ध्यानाकर्षण भएकाे पनि उनले विज्ञप्तिमा उल्लेख गरेकी छिन् ।

यस्तै उनले भारतसँगकाे सीमा विवाद सबै ऐतिहासिक तथ्य र प्रमाणको आधारमा भारतसँग वार्ता गरी समाधान गर्न पनि पुनः माग गरेकी छिन् । यसअघि संसदमा हुँदा पनि उनले साे कुराकाे माग गरेकी थिइन् । जसकारण उनी आफ्नै पार्टीबाट निष्कासित हुनु परेकाे थियाे भने सांसद पद समेत निलम्बन भएकाे थियाे । 

प्रतिक्रिया