मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरू (भिडियोसहित)

पार्टी अध्यक्षद्वय र महासचिवहरूलाई १० दिनभित्र एकीकरणका ठोस प्रस्ताव ल्याउन निर्देशन 
नेकपा सचिवालय बैठकले पार्टी एकता र एकीकरणका बाँकी कामहरूको बारेमा १० दिनभित्र ठोस प्रस्ताव तयार गर्न जिम्मा दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी अध्यक्षद्वय तथा महासचिवहरूलाई पार्टी एकताका बाँकी रहेका कामहरूको बारेमा ठोस प्रस्ताव तयार पार्न १० दिनको समय दिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । नेकपा सचिवालयको बैठकले संवैधानिक निकायहरूमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ । आज बसेको सचिवालय बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति प्रक्रिया अगाडि बढाउन आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले ।

सच्चा समाजसेवीले केही पनि लिँदैनन्, सेवा मात्रै गर्छन् : प्रम ओली 
प्रधानमन्त्री केपी शर्मा ओलीले परोपकारी संस्थाले समाजमा निःस्वार्थ रूपमा सेवा गर्नुपर्ने बताएका छन् । एकचालीसौँ सामाजिक सेवा दिवस मूल समारोह समितले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले मानवीय भावनाले मनैदेखि सहयोग गर्ने सोचका साथ सहयोग गर्नुपर्नेमा जोड दिएका हुन् । उनले समाजमा गरिबी हटाउने, मौलिक हक व्यवस्थापन गर्ने काम सरकारको भएको तथा सरकारको ध्यान नपुगेको र सामर्थ्यले धान्न नसकेका अवस्थामा सामाजिक संस्थाले गरेका काम महत्त्वपूर्ण भएको स्पष्ट बताए ।

नयाँ नक्साको क्षेत्रफल समेटिएको पुस्तक वितरण नगर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नक्सा अनुसारको क्षेत्रफल समेटिएको पुस्तक वितरणमा नगर्न निर्देशन दिएका छन् । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्यायन सामग्री’ नामक सन्दर्भ पुस्तक वितरण तथा थप पुस्तक छपाई नगर्न प्रधानमन्त्रीले शिक्षा मन्त्रालयलाई निर्देशन दिएका हुन् । पुस्तकका शब्दहरू कूटनीतिक मान्यताअनुसार नभएको र थपिएको भूभागअनुसार क्षेत्रफललगायत अन्य कुरा पनि नमिलेको विभिन्न मन्त्रालयले टिप्पणी गरेका छन् । पुस्तकमा नेपालको नयाँ क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर छ । यसअघि नेपालको क्षेत्रफल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर मात्र थियो । पाठ्यक्रम विकास केन्द्रका अनुसार हालसम्म नयाँ नक्सा र क्षेत्रफलसहितको पुस्तक ५ सयप्रति छापिएको छ ।

रोकियो आधिकारिक ट्रेड युनियनको निर्वाचन
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन नहुने भएको छ । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले उक्त निर्वाचन रोक्ने निर्णय गरेको हो ।  निर्वाचन असोज २४ गतेका लागि तय भएको थियो ।

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना राप्रपाको मूल लक्ष्य
राष्ट्रिय प्रजातन्त्र पार्टीले गाईलाई पार्टीको झण्डामा अङ्कित गर्ने निर्णय गरेको छ । पार्टीको चुनाव चिन्ह गाई हुनुपर्ने माग उठिरहेको बेला पार्टी एकीकरणमा हलो लाई चुनाव चिन्ह बनाएको राप्रपाले गाई अङ्कित पार्टीको झण्डा कायम गर्ने निर्णय गरेको हो । चुनाव चिन्ह साबिकको राप्रपा (संयुक्त)ले प्रयोग गरेको हलो हुने भनिएको छ । आज बसेको पार्टीको कार्य सम्पादन बैठकले राप्रपाको झण्डा साबिकको राप्रपाले प्रयोग गरिरहेको गाई अङ्कित झन्डा रहने निर्णय गरेको राप्रपा नेता दीपक बोहराले बताए ।

डाक्टर केसीलाई ट्रमा सेन्टरबाट सारियो टिचिङ
काठमाडौँ । मङ्गलवार विमानस्थलबाट राष्ट्रिय ट्रमा सेन्टर लगिएका डा. गोविन्द केसीलाई त्रि वि शिक्षण अस्पताल महाराजगन्ज सारिएको छ । डा. केसीलाई ट्रमा सेन्टरबाट डिस्चार्ज गरेर साँझ साढे ६ बजेपछि टिचिङ अस्पताल पु¥याइएको उनका सहयोगी डाक्टर प्रितम सुवेदीले बताए ।  यसअघि त्रिभुवन विमानस्थलबाट डाक्टर केसीलाई प्रहरी परिचालन गरी ट्रमा सेन्टरमा लगिएको थियो । डाक्टर केसीले टिचिङ लैजानु पर्ने अडान राखेपछि उनलाई प्रहरीले एम्बुलेन्सबाट जबरजस्ती निकालेका थिए। प्रहरीको उक्त कदमको तीव्र निन्दा भएको थियो।

मङ्गलवार १३५६ सङ्क्रमित थपिए, ८२३ डिस्चार्ज, २ जनाको
कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा थप २ जना मृत्यु भयसँगै मृतकको सङ्ख्या ४२९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित सङ्ख्या ६६ हजार ६३२ पुगेको छ । कोरोना सङ्क्रमण निको भई ४८ हजार ६१ जना डिस्चार्ज भइसकेका छन् ।

शेयर बजारमा पहिरो, २२.९१ अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज २२.९१ अङ्कले शेयर बजार घटेको हो । १.४६ प्रतिशतले घट्दा नेप्से परिसूचक १५४६.१५ अङ्कमा झरेको हो । साताको पहिलो दिन आइतबार ३ अङ्कले बढेको शेयर बजार दोस्रो दिन हिजो सोमबार ६.१२ अङ्कले घटेको थियो । नेप्सेका अनुसार आज १९९ कम्पनीका ७७ लाख २१ हजार ९ सय ५४ कित्ता शेयर किनबेच हुँदा २ अर्व ७६ करोड ५४ लाख ७९ हजार ५ सय ६३ रुपियाँ बराबरको कारोबार भएको छ । आज सबै समूह राताम्मे भएका छन् ।

अक्टोबर १ देखि दोहा, कुवेत र रियादमा पनि नियमित उडान हुने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले खाडी मुलुकबाट पनि नियमित उडान सञ्चालन गर्ने भएको छ । अक्टोबर १ देखि खाडी मुलुकहरू कतारको दोहा, साउदी अरेबियाको रियाद र कुवेतमा नियमित उडान सञ्चालन गर्ने भएको हो । यसअघि भदौ १६ देखि सुरु भएको अन्तर्राष्ट्रिय उडानमा पिसिआर परीक्षण सहज नभएकाले ती मुलुक नियमित उडान भएको थिएन । अहिले चार्टर्ड र उद्धार उडानमात्र भइरहेको छ । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि चार्टर्ड उडानमात्र भएका तीन गन्तव्य दोहा, रियाद र कुवेतमा अब नियमित उडान गरिने छ । ती मुलुकबाट हुने अन्तर्राष्ट्रिय उडानको तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले बनाएको हो । उडान तालिकाअनुसार २५ दिनका लागि सातामा कूल औसत १०९ वटा उडान हुने गरी उडान तालिका तय भएको छ ।

नोबेल शान्ति पुरस्कार समारोह संक्षिप्त कार्यक्रमबीच डिसेम्बरमै गर्ने तयारी
सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह यस वर्ष डिसेम्बर १० का दिन नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी भएको छ । कोरोनाभाइरस महामारीका कारण उक्त समारोहमा सीमित व्यक्तिहरूलाई मात्र आमन्त्रण गरिने आयोजकले बताएको छ । भौतिक शास्त्र, रसायन शास्त्र, चिकित्सा विज्ञान र साहित्य तथा अर्थशास्त्रतर्फका पुरस्कारको वितरण भने त्यही दिन अर्थात डिसेम्बर १० मै स्वीडेनको स्टकहोममा गरिनेछ ।

प्रतिक्रिया