‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ?’

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले स्वास्थ्य क्षेत्रको सुधारका लागि डा. केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

आज (मंगलबार) अनशनका क्रममा जुम्लाबाट काठमाडाैं फर्किएका डा. गाेविन्द केसीकाे पक्षमा उनले यस्ताे धारणा राखेका हुन् । डा. केसीमाथि भएकाे दुर्व्यवहारकाे विराेध गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेता भट्टराईले ‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ?’ भन्दै प्रश्न समेत गरेका छन् ।

‘यो राजाको निरंकुश पञ्चायती शासन हो की ओलीको ‘कमाउनिस्ट’ शासन हो ? डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक !,’ सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्- ‘स्वास्थ्य क्षेत्रको सुधारका निम्ति डा. केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं !’

जुम्लाबाट सोमबार नेपालगञ्ज हुँदै मंगलबार काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुर्याएकाे थियाे । केसीका सहयोगी प्रितम सुवेदीका अनुसार त्रिवि शिक्षण अस्पताल हिँडेका डा. केसीलाई प्रहरीले अपहरण शैलीमा जबरजस्ती ट्रमा सेन्टरको आकस्मिक कक्षमा लगेको हो । प्रहरीले लैजाँदै गर्दा डा. केसीले गुण्डागर्दी गरेको बताए ।

त्रिवि शिक्षण अस्पतालबाट गत वर्ष अवकाश लिएका डा. केसीको यो १९ औं पटकको अनशन हो । उनले अनशन सुरू गरेको ९ दिन पुगिसकेको छ । जुम्लामा अनशन सुरू गरेका उनले काठमाडौं फर्किएपनि अनशन जारी राख्ने बताएका छन् ।

डा. केसीले पछिल्लो पटक भदौ २९ गतेदेखि १९ औँ सत्याग्रह सुरु गरेका थिए ।

प्रतिक्रिया