टिचिङ हिँडेका डा. केसीलाई जबरजस्ती ट्रमा सेन्टर लगियाे

काठमाडौं । जुम्लाबाट साेमबार नेपालगञ्ज हुँदै मंगलबार काठमाडाैं आइपुगेका डा. गाेविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर पुर्याइएकाे छ । त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले उनलाई ट्रमा सेन्टर पुर्याएकाे हाे ।

केसीका सहयाेगी प्रितम सुवेदीका अनुसार त्रिवि शिक्षण अस्पताल हिँडेका डा. केसीलाई प्रहरीले अपहरण शैलीमा जबरजस्ती ट्रमा सेन्टरकाे आकस्मिक कक्षमा लगेकाे हाे । प्रहरीले लैजाँदै गर्दा डा. केसीले गुण्डागर्दी गरेकाे बताए ।

त्रिवि शिक्षण अस्पतालबाट गत वर्ष अवकाश लिएका डा. केसीकाे याे १९ औं पटककाे अनशन हाे । उनले अनशन सुरू गरेकाे ९ दिन पुगिसकेकाे छ । जुम्लामा अनशन सुरू गरेका उनले  काठमाडाैं फर्किएपनि अनशन जारी राख्ने बताएका छन् ।

डा. केसीले पछिल्लो पटक भदौ २९ गतेदेखि १९ औँ सत्याग्रह सुरु गरेका थिए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ ६ रानी चौरमा रहेको वाविरा मन्दिरमा सत्याग्रह सुरु गरेका हुन् ।

त्यस्तै २०७५ साउन १० को सहमति कार्यान्वयन गर्नुपर्ने, चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्रमा बरिष्ठता मिचेर भएको नियुक्ति सच्याउनुपर्ने लगायतका मागहरू रहेका छन् ।

प्रतिक्रिया