अवैध लागूऔषध एकसय ८ केजी गाँजासहित ९ जना पक्राउ, एक फरार

काठमाडौं । मकवानपुर, मनहरी गाउँपालिका-६ लोथर खोलाको ड्याम साईडबाट करिब १ सय केजी अवैध लागूऔषध गाँजासहित ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका-४ बस्ने २७ वर्षीय मदन कोईराला, सोही गाउँपालिका-९ बस्ने २६ वर्षीय कपिल खाँड ठकुरी र ३० वर्षीय टलकबहादुर घलान रहेका छन् । अवैध लागूऔषध गाँजा लिएर आउँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले ६ वटा बोरामा ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको लागूऔषधसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस्तै कपिलवस्तु, यसोधरा गाउँपालिका-७ मर्यादपुरबाट २७ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत सिद्धार्थनगर बस्ने २५ वर्षीय लल्लु धुनिया र सोही ठाउँ बस्ने २० वर्षीय अजमरी धुनिया रहेका छन् । प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको छ ।

त्यसैगरी सर्लाही, चन्द्रनगर गाउँपालिका-५ मोहनपुर टोलबाट २ सय २५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्रोभेटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चक्रघट्टा गाउँपालिका-९ बस्ने २८ वर्षीय राजदेव यादव र १६ वर्षीय किशोर रहेका छन् । प्रहरी चौकी मोहनपुरबाट खटिएको प्रहरीले ना२९ प ७३१८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

उता रोल्पा, थवाङ गाउँपालिका-२ स्थित छेरवाङबाट १२ पुरियामा रहेको करिब १० केजी लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही गाउँपालिका ठुलोगाउँ बस्ने ४५ वर्षीया मुली झाँक्री र ३५ वर्षीया मुलज्योती रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यता धनुषा, बिदेह नगरपालिका-१ मैनाथपुर गाँउस्थित बोर्डर नजिकबाट करिब ८ केजी लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी ठाँडीझिझाँबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई देखेर नेपालबाट भारततर्फ साईकलमा खेसारीको दाल सहित सेतो प्लाष्टिकको बोरामा लोड गरी जाँदै गरेको मानिस उक्त साइकल छाडेर फरार भएपछि खोलेर हेर्दा करिब ५ किलो खेसारीको दाल र उक्त परिमाणको गाँजा बरामद भएको हो । फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया