रक्तचन्दनको कारोबार गरेको अभियोगमा काठमाडाैंकाे तीनचुलीबाट ४ जना पक्राउ

काठमाडौं । रक्तचन्दनको कारोबार गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुलीबाट ४ जनालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ पर्नेहरुमा नुवाकोट किस्पाङ गाउँपालिका-५ ठण्डापानी घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध तीनचुली बस्ने २८ वर्षीय ओम बहादुर तामाङ, सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

यस्तै काभ्रे तिमाल गाउँपालिका-८ घर भई ललितपुर पाटन बस्ने २९ वर्षीय कर्नेस तामाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-६ घर भई बौद्ध तीनचुली बस्ने ४२ वर्षीय लाक्पा लामा पनि उक्त अभियाेगमा पक्राउ परेका छन् ।

अवैध रुपमा रक्तचन्दनको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे । बौद्ध तीनचुलीस्थित डमरु फर्निचर कारखानाभित्र रहेको सुनिल तामाङको कोठामा बिक्री गर्ने उद्देश्यले राखेको २१ केजी रक्तचन्दन जस्तो देखिने करिब १ लाख ८६ हजार १ सय ५० रुपैयाँ मूल्य बराबरको दुई वटा मुडा समेत प्रहरीले बरामद गरेको छ ।

उक्त रक्तचन्दन आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया