विरोध प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता त्रिविबाट पक्राउ

काठमाडौं । नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिको कार्यालय अगाडि सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ पर्नेमा त्रिवि नेविसंघ समितिका सचिव योगेन्द्र रावल, दीपक ओझा, रूपेश शाह लगायत रहेका छन् । उनीहरूलाई अहिले महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा राखिएको जानकारी दिइएकाे छ ।

त्रिविमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता भर्ती गरेको, छ महिना हुँदा समेत पठनपाठन र स्थगित परीक्षाबारे निकास ननिकालेको भन्दै उनीहरूले विराेध प्रदर्शन गरेका हुन् । यस्तै नेविसंघ कार्यकर्तालाई झूटा मुद्दा लगाएको पनि उनीहरूकाे आरोप छ ।

यता नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले वार्ता, संवाद,  छलफल र समन्वय मार्फत् सामाधान पहिल्याउनुको साटो उल्टै विद्यार्थीमाथि दमन, धरपक्कड र प्रहरी प्रशासनको बलमा आफ्नो कुत्सित मनशाय पूर्ति गर्ने खेलमा विश्वविद्यालय उद्यत भएको आरोप लगाएका छन् । साथै पक्राउ गरिएका विद्यार्थी नेताहरुलाई तत्काल रिहा गर्न र वार्ता र संवाद मार्फत् नेविसंघका जायज मागहरु पूरा गर्न विश्वविद्यालयको गम्भिर ध्यानाकर्षण समेत उनले गराए ।

प्रतिक्रिया