चितवनको राप्तिमा जङ्गली हात्तीको वितण्डा- दैनिक अन्नबालीमा क्षति

चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको  जिल्लाको राप्ती नगरपालिकाको केही वडामा जङ्गली हात्तीले आतङ्क श्रृजना गरेको छ ।  चितवन राष्ट्रिय निकुञ्जबाट रातको समयमा आउने जङ्गली हात्तीले नगरपालिकाको वडा नम्बर १ र ३ मा दैनिक जसो क्षति पुर्‍याउँदै आएको छ ।

मानव बस्तीमा प्रवेश गरी घर, कुखुराको खोर भत्काउने र धान र मकै बालीमा क्षति पुर्‍याउन थालेपछि स्थानीय आतङ्कित भएको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए ।  नगरको वडा नम्बर ३ मा बढी क्षति पुगेको छ ।  उनका अनुसार विगत डेढ महिनादेखि लगातार जङ्गली हात्ती मानव बस्तीमा प्रवेश गरेर क्षति पुर्‍याइरहेको छ ।

रातको समयमा दैनिक जसो जङ्गली हात्ती गाउँ छिर्छ समिति अध्यक्ष स्याङ्बोले भने,‘बढी मात्रामा अन्नबालीमा क्षति गरिरहेको छ । कहिलेकाहीँ  ४/६ वटा सम्म हात्ती एकै साथ आउने गरे पनि प्रायः दुई वटा अनिवार्य आउने उनले बताए । समितिको कार्यालयमा अहिलेसम्म २३ जना किसानले राहतका लागि निवेदन दिएको उनले बताए । ती किसानको जग्गा नम्बरी हो । तर ऐलानी जग्गा भएका किसानको पनि अन्नबालीमा क्षति पुगेको छ । अहिले यो क्षेत्रमा धानको बाला झुलिसकेको छ । चितवन राष्ट्रिय निकुञ्जले लालपुर्जा भएको जग्गा क्षति भए मात्र क्षतिपूर्ति रकम दिँदै आएको छ ।

जङ्गली जनावरबाट अन्नबाली क्षति भएमा अधिकतम १० हजार रुपैयाँसम्म निकुञ्जले क्षतिपूर्ति दिँदै आएको छ । डेढ महिनाको अवधिमा जङ्गली हात्तीले एउटा घर र एउटा कुखुराको खोर भत्काएको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष स्याङ्बोले बताए । वडा कार्यालय र समितिले हात्ती आतंक रोक्न प्रयास गरे पनि सफल भएको छैन । हात्तीको आतङ्क रोक्न विद्युतीय तार जडान गरे पनि प्रभावकारी भएको छैन ।

त्यस्तो तार काठको सहायताले हात्तीले भत्काइ दिने गरेको स्याङ्बोले जानकारी दिए । त्यस्तै निकुञ्ज प्रशासन, समिति र स्थानीयले संयुक्त गस्ती गर्दा पनि प्रभावकारी भएको छैन । मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि राप्ती सहित खैरहनीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बजेट विनियोजन गरेर पर्खाल निर्माण सुरु भएको छ तर अहिले अलपत्र अवस्थामा । पर्खाल निर्माण कार्य कार्यान्वयन गर्न सके भौतिक तथा अन्नबालीमा हुने क्षति रोकिने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया