जुम्लाबाट काठमाडौँ फर्किँदै डा.केसी, माग पुरा नभएसम्म सत्याग्रह जारी राख्ने

काठमाडौँ । डा. गोविन्द केसी जुम्लाबाट काठमाडौँ फर्कँदै छन् । जुम्लामा ८ दिनदेखि अनसनरत डा. केसी मङ्गलवार काठमाडौँ आइपुग्ने भएका छन् । डा. केसी सोमबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नेपालगञ्‍ज आइपुग्ने छन् ।

उनले दुई वर्ष अगाडीको घटना नदोहोरियोस् भन्दै काठमाडौँ फर्किने विचार गरेका उनका सहयोगी महेन्द्र कार्कीले बताएका छन् । उनले आफ्नो माग पुर नभएसम्म सत्याग्रह जारी राख्ने बताएका छन् ।

दुई वर्ष अघि जुम्लामा सत्याग्रह बसेका डा. केसीलाई काठमाडौँ ल्याउने क्रममा झडप हुँदा अस्पतालमा तोडफोडसमेत भएको थियो । उक्त घटना नदोहोरियोस् भनी आफू काठमाडौँ फर्किन लागेको सोमबार डा. केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘दुई वर्ष अगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतङ्क फैलाउँदै हिंसा र तोडफोड गर्‍यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन् । त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौँसम्म यात्रा गरेर उहीँबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौँ’ विज्ञप्तिमा भनिएको छ ।

उनले पछिल्लो पटक भदौ २९ गतेदेखि १९ औँ सत्याग्रह सुरु गरेका थिए । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेर जुम्लाको चन्दननाथ ६ रानी चौरमा रहेको वाविरा मन्दिरमा सत्याग्रह सुरु गरेका  हुन्।

प्रतिक्रिया