गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ४ प्रहरीसहित ६ घाइते

काठमाडौं । गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुबै पक्षका ६ जना घाइते भएका छन् । आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गर्दा झडप भएपछि छ जना घाइते भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले जानकारी दिए ।

“झडप भएको हो । उहाँहरुको विरोध कार्यक्रम थियो । प्रदर्शनका क्रममा उहाँहरुले प्रशासन कार्यालयभित्रै प्रवेश गर्न खोजेपछि यस्तो घटना घटेको हो ।” गुल्मीका प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले मकालु खबरले राखेको जिज्ञासामा भने, ‘केही साथीहरु घाइते हुनुभएको छ । अहिले दुवै पक्षबीच सौहार्द ढंगबाट कुराकानी हुँदैछ । कुरा मिल्दैछ ।’

आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेको थियो । प्रदर्शनकै क्रममा प्रशासन कार्यालयभित्र प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई रोक्‍न खोज्दा झडप भएको हो ।

गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तका अनुसार प्रदर्शनकारीले प्रहरीकै सुरक्षा सामग्री खोस्ने प्रयास गरेपछि दुबै पक्षबीच झडप भएको हो । झडपमा कांग्रेसका दुई र प्रहरीतर्फ चार प्रहरी जवान घाइते भएको डीएसपी पन्तले बताएका छन् । घाइते सबैको जिल्ला अस्पताल गुल्मीमै उपचार भइरहेको छ ।

कांग्रेसले सोमबार रेसुंगा नगरपालिका–१२ को रानीपोखरी निमाविको विषयलाई लिएर प्रदर्शन गरेको थियो । रानीपोखरी निमाविको भवन कसले निर्माण गर्ने भन्ने विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीचमा विवाद भएको थियो ।

सोही विषयमा केही दिन अघि नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसको आरोप छ । ।

प्रतिक्रिया