सीमा क्षेत्रको प्रहरी प्रशासनको प्रण– ‘तस्करीलाई कुनै हिसाबबाट छुट दिने छैनौँ’ [भिडियोवार्ता सहित]

• सुजाता लिम्बू

मोरङ प्रदेश नं. १ को राजधानी विराटनगर पछिल्लो समय कोरोना भाइरसबाट हुने कोभिड १९को चपेटामा छ । कारण, विराटनगर सीमा क्षेत्रमा पर्दछ । भाइरस रोकथाम तथा नियन्त्रणको व्यवस्थापकीय पक्ष नेपाल प्रहरीले सम्हाल्दै आएको छ । नेपालकै परिप्रेक्ष्यमा हेर्ने हो भने पनि हजारौंको संख्यामा प्रहरी कर्मचारीहरु पनि संक्रमित भएका छन् । यद्यपि पनि संक्रमण नियन्त्रणको जिम्मा भने प्रहरीले नै लिएको सत्य हो, अझ विशेष सीमा क्षेत्रमा । योसँगै अब दशैं तिहार नजिकिँदैछ । ठूला चाडपर्वमा विशेष गरेर सीमा–नाका क्षेत्रमा अन्य सामान्य समयको भन्दा आपराधिक कार्यहरु बढी हुने गरेको तथ्यांक सरकारी निकायहरुले नै दिँदै आएका छन् । कोरोनाको डर एकातिर छ भने आपराधिक कार्यमा संलग्नको दाउ अर्कोतिर छ । त्यसो त सीमा क्षेत्रको प्रहरी प्रशासनले यी सबै समस्याहरुको एकसाथ सम्बोधन हुने गरी के कस्तो योजनाहरु अघि सारेको छ ? चाडपर्वहरु नजिकिँदै गर्दा सीमा सतर्कता कसरी अपनाइरहेको छ ? यी यावत् विषयमा हाम्रो विराटनगरस्थित मकालुकर्मी  सूजाता लिम्बूले मोरङ प्रहरीका प्रहरी उपरीक्षक प्रमुख (एसपी) सन्तोष खड्कासँग जिज्ञासा राखेकी छिन् । प्रस्तुत छ, यो कुराकानी…

१. सीमा सतर्कतामा कसरी जुटनुभएको छ ?
बन्दाबन्दी र निषेधाज्ञा खुलेपनि सीमा–नाका पूर्ण रुपमा सिलबन्दी नै भएको अवस्था छ । तथापि, पनि पछिल्लो समयमा सवारी साधन खुलेको छ र भारतमा पनि सवारी साधन चलेको छ । यसले गर्दा भारतबाट जोगबनी नाका हुँदै नेपाल आउने नेपाली नागरिकहरुलाई हामीले उनीहरुको स्थानीय क्वारेन्टाइनमा पठाउने काम गरिरहेका छौँ । त्योबीचमा चोरी निकासी गरेर जबरजस्ती प्रवेश गर्न सक्ने विषयलाई मध्यनजर गर्दै चोरी पैठारीलाई पनि अझै कडाइ गर्नुपर्छ भन्ने हेतुले हामीले सीमामा विशेष अभियान नै चलाएका छौँ । त्यसलाई निरुत्साहित गर्नका लागि हामीले दिनरात खटेर काम गरिरहेको अवस्था छ । यसै सन्दर्भमा हामीले सामानहरु बरामद गर्ने, घटनामा संलग्नलाई नियन्त्रणमा लिने, जबरजस्ती गरेर नेपाल प्रवेश गर्नेहरुलाई संक्रामक रोग ऐनअन्तर्गत कारबाही गर्ने गरेका छौँ ।

२. बन्दाबन्दी खुलेपनि सीमा बन्द नै छ, चाडपर्व नजिकिँदै गर्दा सीमा तस्करी बढ्ने सम्भावना धेरै हुन्छ, यसका लागि सुरक्षाका योजना  के के छन् ?
सीमा अहिले सिल नै भएको हुनाले कसैलाई पनि आउने/जाने कुराहरुमा हामीले छुट दिने छैनौँ । तथापि, पनि प्रहरीहरुको आँखा छलेर सीमाबाट भन्सार छली गरेर सामानहरु ओसार–पसार गर्नेको हकमा हामी एकदमै कडाइका साथ खटिरहेका छौँ । यहाँले चाडपर्वको विषयमा कुरा राख्नुभएको छ, हामीले चाडपर्वलाई पनि लक्षित गरेर चाडपर्व विशेष सुरक्षा योजना भनेर तयार गरिसकेका छौँ । आउँदो हप्तामा कार्यान्वयनमा पनि आउने छ । हिजोको दिनमा हामीले सञ्चालन गरेको सीमासम्बन्धीको विशेष अप्रेशन र चाडपर्व विशेष सुरक्षा योजनाले सीमा तस्करीलाई पनि समेट्ने हुँदा तस्करीलाई हामीले कुनै पनि हिसाबमा छुट दिने छैनौँ । यद्यपि, कहीँबाट चोरीछली तस्करी गरेको पाएमा सूचनाको दायरालाई अझै बढाएर हामी सक्रिय भएर लाग्नेछौँ ।

३. दशैंतिहार नजिकिँदै छ, सदाका तथ्यांकलाई नै हेर्ने हो भने पनि सामान्य समयमा भन्दा चाडपर्वताका आपराधिक घटनाहरु बढेको देखिन्छ, यसबारे के–कस्तो तयारी गरिरहनुभएको छ ?
चाडपर्व विशेष सुरक्षा योजना भनेर हामीले त्यसमा धेरै कुराहरु समेटेका छौँ । विदेशमा रहेका नेपाली नागरिकहरु चाडपर्व मनाउन नेपाल आउन सक्नुहुन्छ । जिल्लाभित्र पनि विभिन्न स्थानबाट चाडपर्व मनाउनु आउनुहुन्छ/जानुहुन्छ । यी यस्तै समय र अवस्थालाई अवसरको रुपमा लिएर चोरी, तस्करीका घटनाहरु, लुटपाट पकेटमारका घटनाहरु गर्ने सबैलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष राख्ने, भाडा नियमन गर्ने, त्यस्तै चाडपर्वको समयमा हुन सक्ने आपराधिक घटनाहरुलाई नियन्त्रण गर्नेलगायतका सम्पूर्ण सुरक्षा योजनाहरु तयार गरिसकेका छौँ । यो सुरक्षा योजनाअन्तर्गत सम्पूर्ण मोरङ जिल्लामा एकै साथ सबै युनिटले काम गर्ने हुँदा सहज तरिकाले शान्तिपूर्ण ढंगबाट कोभिड– १९ को अवस्थामा पनि स्वास्थ्य सुरक्षाभित्र रहेर चाडपर्व सबैले मनाउन पाउनुपर्छ भन्ने हिसाबले सुरक्षा व्यवस्था मिलाएका छौँ ।

४. निषेधाज्ञा खुलेसँगै सवारी साधनहरु चल्न थालेका छन्, यसपछि कस्ता खालका सुरक्षा चुनौतीहरु थपिएका छन्, मोरङ प्रहरी के गरिरहेको छ ?
विगत ६ महिनादेखि देश बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा थियो । साना व्यवसाय तथा यातायात सबै क्षेत्र बन्द थिए । मानिसहरुको आवगमनलाई पनि सीमित गरिरहेको अवस्था थियो । ६ महिना लामो बन्दाबन्दी निषेधाज्ञापछि सम्पूर्ण क्षेत्र खुलेसँगै विभिन्न क्षेत्रमा भीडभाड बढ्न सक्छ, मानिसहरुको संख्या बढ्छ । लामो समयको बन्दाबन्दीले कतिपय मानिसहरु कामबिहीन भएका छन् । आयआर्जन शून्य भएको छ । तर, पछिल्लो समय उहाँहरुले आफूलाई सामान्य अवस्थामा लगिरहनुभएको छ । तथापि पनि मानिसहरु अपराधिक त्रियाकलापहरुमा पनि संलग्न हुनसक्ने यी सम्पूर्ण विषयलाई मध्यनजर राख्दै यसतर्फ हाम्रो सतर्कता छ । यो हाम्रो लागि एउटा चुनौतीको विषय पनि हो र सतर्कता पनि रहेको छ । तर, अहिले भर्खरै भएर होला त्यस्तो आपराधिक घटनाहरु चाहिँ बढिसकेको अवस्था छैन । तर पनि हामी सावधानी छौँ कि यो घटनाहरु यस्तो यस्तो ठाँउमा हुनसक्छ भनेर । विगतमा भएका घटनाहरुलाई पनि विश्लेषण गरेर सम्पूर्ण युनिटहरुलाई सजक गरेर त्यस्ता स्थानहरुमा पनि सुरक्षित गर्ने र जुन खालको आपराधिक घटनाहरु घटेको छ, त्यो घटनामा केन्द्रिकृत भएर फाइलिङ्ग गरेर अध्ययन सुरु गरिसकेका छौँ । चुनौती अवश्य पनि महसुस हुन्छ, हेर्दै जाऔं, कुन लेभलको अवस्था आउँछ, त्यहीँअनुसार पर्याप्त मात्रामा सुरक्षाकर्मी खटाउने र राम्रोसँग लिड गर्ने हो भने घटना नै घट्दैन । घटना घटिहाले पनि सफल अनुसन्धान गरेर अभियुक्तलाई कानूनी प्रक्रियामा लानेछौँ । यसमा हामी प्रण गर्छौँ ।

५. लामो समय बन्दाबन्दी भयो, प्रहरीले घर परिवारबाट टाढा रहेर काम गर्नुपरेको छ । समस्या त उनीहरुको पनि धेरै होलान्, यसबीचमा प्रहरीहरुको मनोबल बढाउने खालका तपाईँका योजनाहरु के के छन् ?
विगत ६ महिनादेखि देश विषम परिस्थितिमा छ । आयातित संक्रामक रोग कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि व्यवस्थापकीय पक्षका लागि नेपाल प्रहरी अग्रपङ्तिमा रहेर अन्य निकायहरुसँग हातेमालो गरेर अगाडि बढिरहेको अवस्था छ । यो अवस्थामा हाम्रो प्रहरी कर्मचारीहरुले विदा पनि बस्न पाएको छैनन् । साथसाथै चाडपर्व नजिकिँदै गर्दा चुनौतीहरु पनि बढ्दैछ । उहाँहरुलाई अझै बिदा पाउन सक्ने सम्भावना कम्ती छ । उहाँहरुलाई चाहिँ हामीले कामप्रति जिम्मेवारी बनाउन विभिन्न प्रेरणादायक कार्यक्रमहरु ल्याएका छौँ । संक्रमणबाट बचाउनका निमित्त हाम्रो कर्मचारीहरुलाई विभिन्न स्थानमा विभाजन गरेर राखेका छौँ । त्यस्तै उहाँहरुको विषयमा ध्यान दिएका छौँ । कुनै कर्मचारीलाई कोरोना संक्रमणको लक्षण देखिएको अवस्थामा उहाँहरुको पीसीआर जाँच गराएर पोजेटिभ देखिएको खण्डमा आइसोलेशनमा लान्छौँ । आइसोलेशनमा बसेको अवस्थामा खानापनी तथा सुविधामा पनि ध्यान दिएका छौँ । अति आवश्यक काम परेको अवस्थामा हामी विदा दिने पनि गरेका छौँ । तर, कस्तो अवस्था छ भने संक्रमणबीचको अवस्थामा काम गरिरहेका छौँ । घरमा जाँदा पनि हाम्रै कारणले घर परिवारको मान्छेलाई संक्रमण सर्न सक्छ भनेर हामीले बुझेका पनि छौँ र उहाँहरुलाई यो विषयमा जानकारी छ । यहाँ हामी कार्यालयका परिवारभित्र रहँदा पनि कसरी खुशी साथ रहने भन्ने विषयलाई मध्यनजर गर्दै खेलकुदको प्रबन्ध, मनोरञ्जनलगायतको व्यवस्था गरेका छौँ । यो कठिन परिस्थितिमा पनि अहिलेसम्म परिवारमा हाँसीखुशीकै माहोल छ ।
सम्बन्धित समाचारः ‘जब मान्छे अप्ठ्यारोमा पर्छ त्यहाँ भगवानको रुपमा पाउने भनेको प्रहरी नै हो’ [भिडियोसहित]

एसपी खड्कासँग गरिएको कुराकानी भिडिओमा–

प्रतिक्रिया