विश्वमा संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो, ९ लाख ६५ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ३ करोड १२ लाख नाघेको छ भने ९ लाख ६५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड १२ लाख ३० हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ९ लाख ६५ हजार ४१ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म २ करोड २८ लाख २१ हजार ४३७ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ४ हजार ११८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ७० लाख ४ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३३ हजार ३४४ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २९४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८७ हजार ९०९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ८७ हजार ३८२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४१ लाख ८५ हजार ६१२ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ४४ लाख ४४ हजार ६२९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३३० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ८९५ पुगेको छ ।

नेपालमा आइतबार देशभर गरी १ हजार ३२५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ६४,१२२ पुगेको छ । अहिले देशभरि १७,४७८ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये ९,०७१ जना संस्थागत आइसोलेशनमा र बाँकी घरमै भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ४११ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

प्रतिक्रिया