कांग्रेस महिलामैत्री पार्टी हो, ३३ प्रतिशत महिला समावेश छन् : सभापति देउवा

काठमडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस पार्टी महिलामैत्री भएको बताएका छन् । पार्टीको महिला विभागले आइतबार गरेको भर्चुअल अन्तर्क्रियामा उनले महिलामैत्री पार्टी भएको र ३३ प्रतिशत महिलालाई समावेश गरिएको पनि बताए ।

उनले भने, ‘कांग्रस पार्टी महिलामैत्री पार्टी हो, ३३ प्रतिशत महिलालाई समावेश गरिएको छ ।’

यस्तै उनले नेतृहरूलाई गाउँगाउँ गएर संगठन विस्तार गर्न आग्रह गर्दै महिलाबाट भोट कम आएको भन्दै महिलाको भोट बढाउनुपर्ने बताए । उनले भने, ‘महिलाहरूबाट कांग्रेसलाई जति भोट आउनुपर्ने त्यो नआएको गुनासो सुनेको छु, भोट बढाउनु पर्‍यो।’

देउवाले अहिलेको अवस्थाभन्दा पार्टीलाई ठूलो बनाउन आफू लागिपरेकोसमेत बताए । ‘मेरो अठोट पार्टीलाई ठूलो पार्टी बनाएरै छोड्छु भन्ने छ,’ उनले भने।

तत्कालीन नेकपा एमाले र एमाओवादी केन्द्र दुई पार्टी एक भएर चुनाव लडेको र कांग्रेस एउटा पार्टी दुइटाजस्तो भएर चुनाव लड्दा पार्टी दोस्रो हैसियतमा रहेको उनको भनाइ छ । उनले भने, ‘एमाले र माओवादी एक पार्टी भएर लड्यो। कांग्रेस एक पार्टी भएर पनि दुइटाजस्तो भएर लड्यो, पार्टीलाई एकतावद्ध बनाउने प्रयास जारी नै छ।’

 

 

प्रतिक्रिया