डुबेर चार र करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं । विभिन्न जिल्लामा डुबेर चार जना र करेन्ट लागेर तीन जनाकाे मृत्यु भएकाे छ ।

रौतहट, मौलापुर नगरपालिका-३ गम्हरिया बस्ने रामप्रबेश यादवको छोरा ५ वर्षीय रबिकिशन कुमार यादवको सोही ठाउँस्थित खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर शनिबार मृत्यु भएको छ ।

सोही स्थान बस्ने छोटेलाल यादवका छोराहरू ४ वर्षीय अमित यादव र ६ वर्षीय मेघनाथ यादवसँगै नुहाउने क्रममा तीनै जना डुबी अशक्त भएकाले उपचारको लागि वीरगञ्जतर्फ लैजाने क्रममा रबिकिशनको बाटोमै मृत्यु भएको हो । डुबेर अशक्त भएका अन्य २ जनाको नेशनल मेडिकल वीरगञ्जमा उपचार भइरहेको छ ।

यस्तै कैलाली, जानकी गाउँपालिका-१ स्थित बिजुलिया नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका बेलासपुर बस्ने शेर नाथ योगीको छोरा ९ वर्षीय शिषिर नाथ योगीको शनिबार मृत्यु भएको छ । डुबेर बेपत्ता भएका शिषिरलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

उता सर्लाही, बलरा नगरपालिका-३ स्थित पानीले जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने मुकेश कुमार चौधरीको छोरा १३ वर्षीय सुभम चौधरीको शनिबार मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका सुभमलाई उद्धार गरी स्थानीय अस्पताल धुलिखेल बलरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुकुटामा पनि एक जनाकाे मृत्यु भएकाे छ । साँगुरीगढी गाउँपालिका-घण्टे बस्ने ७९ वर्षीय अमृत बहादुर राईको सोही ठाउँस्थित लेउती खोलाले बगाई शनिबार मृत्यु भएको हाे । खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही गाउँपालिका-७ स्थित फेदीमा शव फेला परेको हो ।

यस्तै विभिन्न तीन जिल्लामा करेन्ट लागेर तीन जनाकाे मृत्यु भएकाे छ ।

ईलाम, ईलाम नगरपालिका-८ स्थित माईबेनि हाईड्रो पावरमा काम गर्ने गुल्मी घर भएका २४ वर्षीय राजु लम्सालको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको छ । हाईड्रो पावरमा गेटफिटिङको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका लम्सालको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी सप्तरी, बोदेबर्साईन नगरपालिका-२ जोगिया बस्ने ६० वर्षीय भगत चौधरीको करेन्ट लागेर शनिबार राति मृत्यु भएको छ । सोही स्थान बस्ने ४५ वर्षीय बिदुर साहको घरमा भजनकीर्तनको लागि माइकको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीको युनिक अस्पताल रुपनीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

चितवन, भरतपुर महानगरपालिका-३ स्थित त्रिशक्ति कंक्रिट एण्ड ब्लक कम्पनीमा काम गर्ने पाल्पा मायागडी गाउँपालिका-८ घर भएका २७ वर्षीय प्रेम रानाको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । कम्पनीभित्र तारमा कपडा सुकाउने क्रममा करेन्ट लागेर घाइते भएका रानाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यी घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया