अब नेकपाका केन्द्रीय सदस्यहरुलाई पनि नियमित तलब, आवश्यक छ ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरूलाई नियमित तलब दिनेबारे सचिवालय बैठकमा छलफल भएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरूलाई नियमित आर्थिक सहयोग गर्ने बारेको प्रस्ताव छलफलको लागि एजेण्डा बनाइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले पूर्णकालीन कार्यकर्तालाई तलदेखि माथिसम्म कुनै न कुनै ढङ्गले सहयोग गर्ने कम्युनिस्ट पार्टीले अभ्यास गर्दै आएको नीति भएको बताए । उनले भने, ‘प्रदेश, जिल्ला या त्यो भन्दा तलको हकमा सम्बन्धित कमिटीले नै छलफल गर्ने भएको कारणले सचिवालयले केन्द्रीय कमिटीका सदस्यको हकमा के गर्ने भन्ने बारेमा पनि छलफल गर्ने कार्यसूची तय गरेको छ ।’

पार्टीले संसद् सदस्य या अन्य सुविधाको पदमा नरहेका आफ्ना केन्द्रीय सदस्यलाई नियमित आर्थिक सहयोग गर्नेबारे छलफल सुरु गरेको हो ।

यस्तै नेकपाले कोरोना भाइरसका कारण उत्पन्न महामारीको समयमा संघीय संसदका सदस्यले बैठक भत्ता लिने कि नलिने भन्नेबारे पनि नेकपाले पार्टीमा छलफल सुरु गरेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार आज बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने सैद्धान्तिक निर्णय पनि गरेको छ ।

नेकपा सचिवालयको अर्को बैठक सोमबार दिउँसो १ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया