दाङ, महाेत्तरी र कपिलवस्तुमा सवारी दुर्घटना, तामाङसहित चार जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै ठाउँमा भएकाे दुर्घटनामा चार जनाकाे मृत्यु भएकाे छ । दाङ, महाेत्तरी र कपिलवस्तुमा सवारी दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएकाे हाे ।

शान्तिनगर गाउँपालिका-३ रानीवनस्थित सडकमा रा ३ प १०९४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-६ सुनडबरी बस्ने ५० वर्षीय आईते रोकाको शनिबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर हुँदै थप उपचारको नेपालगंज बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महोत्तरी, बर्दिबास नगरपालिका-६ स्थित सडकमा ज१च १८४६ नम्बरको बलेरोले ‘अनटेस्ट’ लेखेको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३२ वर्षीय प्रमोद राय र मोटरसाइकलमा सवार २८ वर्षीय देवबहादुर खपाङ्गीको मोडल अस्पताल लालगढ धनुषा हुँदै थप उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई फरार रहेका बलेरो चालकको खोजी गरिरहेको छ ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित सडकमा ग १ ख ८९७४ नम्बरको बसको ठक्करबाट पैदलयात्री विजयनगर-३ स्थित ससुरालीमा बस्दै आएका धादिङ गंगाजमुना गाउँपालिका-१ ईबी बस्ने ३१ वर्षीय फिरोन तामाङको शनिबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सबै घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया