अवैध लागूऔषध सहित सर्लाही र झापाबाट तीन जना पक्राउ

काठमाडौं । अवैध लागू औषधसहित तीन जना पक्राउ परेका छन् । सर्लाहीबाट एक जना र झापाबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लालबन्दी नगरपालिका–८ बाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित सोही नगरपालिका–१४ बस्ने १९ वर्षीय बिसराम गोलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले ना२२प ९०१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा बोराभित्र लुकाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारी चालक गोलेलाई पक्राउ गरेको हो ।

यस्तै झापाकाे गौरादह नगरपालिका-९ बैगुनधुरास्थित सडकबाट १ सय ५८ बोतल ईस्कफ नामक लागूऔषध सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ बस्नेहरू २७ वर्षीय प्रमानन्द राजबंशी र २२ वर्षीय राजेश महतो रहेका छन् ।

बिशेष सूचनाको आधारमा प्रहरी चौकी महाभारा र सशस्त्र प्रहरी बल बैगुनधुराको संयुक्त टोलीले जाँच गर्ने क्रममा बिआर ३८ स ५६३० नम्बरको मोटरसाईकलमा सवार उनीहरूको साथबाट उक्त परिमाण लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया