सम्मतिको विरोधाभाष !

• सुन्दर पन्थी

काठमाडौं । शुक्रबार अफिस १ः३० बजे दिउँसो सकेपछि स–परिवार वीरगञ्जस्थित ससुरालीतिर लागियो । बाहिर तातो हावा र चर्को घाम, तै पनि घरभित्रको पंखाको हावाले पसिना ओभाइरहेको थियो । पारिवारिक वातावरणमा अपरान्हको समय व्यतित भइरहेको थियो । लुँडो चलिरहेको थियो । सदावहार गीतहरुको मधुर आवाज आइरहेको थियो । आनन्दपूर्वक तराईका खानेकुराहरुमा मज्जा आइरहेको थियो । जबसम्म ससुरा बाले कुरा झिक्नु भा’को थिएन कि, ‘ज्वाइँ साहेब हँ… के छ, विचार ! करतानी कि सामके खाना चित्लाङ्ग मे खायल जाई’ । श्रीमतिबाट तुरुन्तै प्रतिक्रिया आयो, ‘बुबाले राम्रो कुरो झिक्नु भो, हो हो जाऊँ सबैजना आज उतै खाना खानेगरी, रमाइलो गर्ने ।’ मलाई भने यो कुरा रत्तिभर मन परिरहेको थिएन । किनकी, यस्तो वाफिलो वातावरण, त्यैमाथि बाटोको हालत उस्तै । सबै बाटो कतै बनाउँदै गरेको छ कतै भत्केको छ, धुलै धुलो छ, उवाड–खवाड, खाल्डा खुल्डी, त्यसमाथि लामो यात्रा, सामूहिकताको अगाडि मेरो मन भाँचेरै भने, ‘ठीकै छ, हुन्छ । आज बाहिरै खाऊँ न त’ । सासुआमाले पनि भन्नुभयो–‘वास्तवमा म पनि माथितिर जान इच्छुक छु । चित्लाङ्ग नगएको पनि वर्षौं भयो, ससुराबाले कहिल्यै घुमाउनु लैजाने होइन ।’

यात्रा सहज थिएन, गाडी चलाउन असाध्यै गाह्रो । एक त जताततै खाल्डा खुल्डी अनि गर्मी, धुँवा, धुलो अनि यात्रा उस्तै लामो । वीरगञ्जदेखि पथलैया सडकखण्डमा त जताजतै सडक निर्माण कार्य चलिरहेको थियो । जसले गर्दा सबै जनालाई यात्रा कष्टकर लागिरहेको हुँदो हो । त्यसमाथि पनि बाटो अप्ठ्यारो । बल्लतल्ल चित्लाङ्ग पुगियो । थकित भइयो । यात्रा जस्तै खराब रहेछ । होटलको खानेकुरा । जसोतसो खाना खाइयो । कसैले केही प्रतिक्रिया दिएनन् । चुपचाप वीरगञ्ज फिर्ती सवारी भो । उस्तै कष्टकर यात्राबाट ।

घर आउँदा ढिलो भैसकेको थियो । सबैजना थकित, तै पनि एकजनाले भन्न भ्याईहाले ‘गजबको रमाइलो यात्रा भएन त ?’ नमीठो व्यंग्यजस्तो लाग्यो उनको भनाइ पनि । वास्तवमा सासुआमाले भन्नुभएको थियो । जबकि, सबैभन्दा यात्रामा बिसन्चो उहाँलाई नै भइरहेको थियो गाडी लागेर । उहाँलाई थाहा थियो, पहिले नै बान्ता हुन्छ भनेर । उहाँ आरामले घरमा बस्न सक्नुहुन्थ्यो । तर, अरुको उत्साहले उहाँलाई रोक्यो । मलाई अतिनै भो भन्ने लागेर भने–‘मलाई त हामीले जे गर्यौँ, त्यो पटकै चित्त बुझेन ।’ ससुरा बाले प्वाक्क बोले ‘किन चित्त दुखाउँछौ भनेर मात्रै लिएर गएको हुँ ।’ उताबाट सासुआमा पनि बोल्नुभयो–‘म पनि तपाईँहरुको खुशीको लागि मात्रै गएकी हुँ । यस्तो गर्मीमा बाहिर जान मलाई पनि मन थिएन ।’ ससुरा बा, जसले यो विचार निकाल्नुभएको थियो । उहाँले भन्नुभयो, ‘ज्वाइँ राजालाई बोर भयो होला, हप्ताभरि घर–अफिस मात्रै गर्दा, यसो शुक्रबार घुमघाम गर्न रमाइलो होला भनेर पो त ।’

हामी सबै एउटा अन्यौलमा पर्यौँ । हामीले सँगै यात्रा गर्ने निर्णय गरेका थियौँ । जुन, वास्तवमा हामी कसैको भित्री चाहना थिएन कि त्यसरी यात्रा गरौँ भनेर । सबैले एक अर्काको चित्त नदुखाउन र विचार नबझाउन सहमतिमा आएका थियौँ । परिवारको सबैभन्दा मान्य व्यक्ति (ससुराबुबा)बाट जुन प्रस्ताव भएको थियो । यसका फाइदा अप्ठ्यारोको कुराहरुमा विचार गर्न छलफल गर्नतिर लागेनौँ । परिवारकै बुजुर्ग व्यक्तिका रुपमा उहाँको बचन पनि राखियो । अर्को एक जनाले स्वीकार गरेपछि त्यहीँ प्रस्ताव अरु बलियो हुन गयो र तेस्रोले झन फरक विचार ल्याउने कुरा आएन । यही हिसाबले हाम्रो निर्णय भयो । खासमा कसैले पनि चाहना नगरेको निर्णय सर्वसम्मतीमा भयो । हामी सबै दिउँसै घर बसेर जुन आराम गर्न सक्थ्यौँ । समय रहँदै त्यस सहज विकल्पलाई छोडेर हामी दुःख पायौँ ।

जीवनमा यस्ता कैयौं परिस्थितिहरुमा हामी यस्ता विरोधाभाषपूर्ण व्यवहारहरु देखाउँछौँ । अनि त्यसरी लिइने गलत निर्णयको शिकार पनि हामी आफैँ नै बन्छौँ । त्यस्ता परिस्थितिहरुमा समूहका सदस्यहरुको इच्छाविरुद्ध हुन जान्छ कि भन्ने असल चाहनाले गर्दा फरक विचार प्रस्तुत गर्न हिच्किचाहट हुन्छ । त्यसपछि नचाहँदा नचाहँदै हामी यस्तै विडम्बनापूर्ण सामूहिक निर्णयको शिकार बन्दछौँ ।

सामान्यतयाः यस्तो किन हुने गर्दछ भने व्यक्तिले सामाजिक भावनाको कारण अनि साथीको अपेक्षाअनुरुपको व्यवहार दर्शाउन, निर्णय प्रक्रिया सहज र सजिलो पारिदिन, समूहका सदस्यहरुको मन राख्न एवं मैत्री र विश्वासको सम्बन्ध नबिगार्न सहमतिको भावना प्रदर्शित गर्न आवश्यक ठान्दछ । त्यस्तै संस्थागत परिवेशमा समूहको सदस्यले आफ्नो भावना किन पनि नदर्शाउने संभावना हुन्छ भने कसैलाई पनि ऊ बढ्ता बाठो वा हिरो बन्न खोज्ने स्वभाव राखेको अथवा स्थापित मानमर्यादालाई चुनौती दिन खोजेको आभाष नहोओस् भन्नेमा सजग रहन चाहन्छ । तर अक्सर, यी डरहरु गलत डरहरु हुन् । यस्ता प्रवृत्ति नै वास्तवमा गलत निर्णयहरुको कारण बन्ने गर्दछन् । यसरी आफू बेवकुफ भै समूहमा फिट हुन समर्थनको स्वर बोल्ने यस्तो मानवीय व्यवहार र प्रवृत्तिलाई व्यवस्थापनको भाषामा अविलेन विरोधाभाष [The Abilene Paradox]को रुपमा व्याख्या गरिएको छ ।

के हो अविलेन विरोधाभाष [The Abilene Paradox]
यो व्यवहारलाई समूहसोच वा [Groupthink] पनि भनिन्छ । यो उद्योग, संगठन र सामाजिक संरचनाहरुको परिवेशमा अध्ययन र विश्लेषण गरिन्छ । यसले समूहहरुको मनोविज्ञान र सामाजिक व्यवहार र समूहभित्रका सदस्यहरुबीचको सम्बन्ध [Intra Group Relation] को गतिशीलता [Dynamism] लाई जनाउँछ । एक पेशागत संगठनमा, यो समूहसोचले एक प्रभावकारी भूमिका खेल्दछ । जसमा नकारात्मक नतिजाको डरले व्यक्तिहरु आफूभन्दा माथिल्ले पदका वा बरिष्ठ सदस्यहरुलाई प्रश्न गर्नबाट टाढा रहन्छन् र छलफल र निर्णय गर्ने समूह उही विचारहरुलाई सुदृढ पार्ने एउटा इकोचेम्वरमा रुपान्तरण हुन पुग्दछ ।

यसैले आवश्यक सूचना तथा धारणाहरु विना निर्णय–प्रक्रियालाई प्रभावकारी बनाउन असम्भव छ । कुनै विषयमा फरक दृष्टिकोण प्राप्त गर्नु, र छलफलमा योगदान दिने विचारको प्रभावकारिताको जाँच गर्ने कार्य गर्नु नै अत्यन्तै महत्वपूर्ण हुन्छ । शास्त्रले पनि भनेको छ–‘वादे वादे जायते तत्वबोधः’ अर्थात् एउटा नेतृत्वकर्ताले आफैँतिर फर्केर सोेध्नुपर्छ कि, आफ्ना विचारहरु ठीक छन् वा छैनन् ? अनि आफ्नो समूहका सदस्यहरु यस्तै अविलेन प्याराडक्सको शिकार पो भैरहेका छन् कि ? अविलेन विरोधाभाषले संथागत सम्म्ती व्यवस्थापनको असफलतालाई दर्शाउँछ ।

वास्तवमा भन्ने हो भने आधुनिक संगठनहरुमा नेतृत्वका लागि एउटा सबैभन्दा जटिल समस्या सम्मती व्यवस्थापन हो । दन्द व्यवस्थापन, यो त कार्य चिन्तालाई मैत्री समझदारीको आधारमा उनीहरुको अभिनयको परिणाम स्वरुप संगठनका सदस्यहरुले गरेका नकारात्मक कल्पनाहरुले विरोधाभाषपूर्ण तर्कहरुलाई सजिलै समर्थन गर्ने ठाउँमा उभ्याउँदछ । तत्पश्चात् गतल निर्णयका शिकार स्वयं नेतृत्व चाहना नहुँदा नहुँदै हुन पुग्दछ ।

प्रतिक्रिया