पेरिसडाँडामा बस्दै नेकपा सचिवालय बैठक, के उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ मन्त्री बन्लान् ?

काठमाडौं । आइतबार (आज) सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ ।

बैठक पेरिसडाँडास्थित जनसंगठनको कार्यालयमा बिहान ११ बजे शुरु हुने नेकपाले जनाएको छ ।

गत २ असोजमा बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित गरिएको थियो ।

आजको बैठकमा गत २६ भदौमा सकिएको नेकपा स्थायी कमिटी बैठकले गरेको निर्णयहरुलाई कार्यान्वयन गर्ने विषयमा  छलफल हुने बताइएको छ ।

यसैगरी मन्त्रिपरिषद् पुनर्गठन, एमसीसी, संवैधानिक राजनीतिक नियुक्तिसँगै पार्टी एकीकरणका बाँकी कामलगायतका विषयमा पनि बैठकमा कुरा हुने बताइएको छ ।

यस्तै बैठकले केन्द्र तथा प्रदेशका मन्त्रिमण्डल पुनर्गठन र पार्टीका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउनेसम्मको विषयमा छलफल हुने सचिवालय नेताहरुले बताएका छन् ।

पछिल्लो प्रतिनिधिसभाको चुनाव हारेका नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा तानिएको छ भने नारायणकाजी श्रेष्ठ भने निर्वाचनमार्फत् नै राष्ट्रिय सभा पसेका छन् ।

यसअघिका सबै सचिवालय बैठकहरु प्रधानमन्त्री सरकारी निवासमा बस्दै आए पनि २८ महिनापछि पहिलो पटक पेरिसडाँडामा बस्न लागेको हो ।

पेरिसडाँडामा बैठक बस्ने तय भएसँगै त्यहाँ उच्च स्वास्थ्य सुरक्षा अपनाइएको छ ।

यसभन्दा केही दिन अगाडि गृहजिल्ला चितवन पुगेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै संघीय तथा प्रादेशिक मन्त्रिमण्डल पुनर्गठन हुने बताएका थिए ।

प्रतिक्रिया