सन्दर्भ-२७ औं विश्व अल्जाइमर दिवस: के हो डिमेन्शिया, यसका लक्षण के-के हुन् ?

  • डा. निदेश सापकोटा

विश्व अल्जाइमर महिना प्रत्येक सेप्टेम्बर महिनामा सन् २०१२ देखि मनाउने गरिएको भएता पनि २१ सेप्टेम्बरका दिन विश्व अल्जाइमर दिवस सन् १९९४ बाटनै मनाउन थालिएको हो ।

यो पटकको नारा भनेको डिमेन्शियाका बारेमा कुरा गरौं भन्ने छ । यो महिना र विशेष गरि २१ सेप्टेम्बरको दिन डिमेन्शिया (स्मरण शक्तिमा क्रमिक ह्राश हुन गइ स्मरण शक्तिनै नहुनु) सम्बन्धि जागरूकता र डिमेन्शिया वरिपरी रहेको कलंकलाई चुनौती दिन अन्तर्राष्ट्रिय अभियानको रुपमा परिचित छ ।

Alzheimer Disease International (ADI) ले विश्वव्यापी रूपमा गरेको एक अध्ययन अनुसार प्रत्येक ३ जना व्यक्तिमध्ये २ जनाले यो विश्वास गर्दछन् कि उनीहरूको देशमा डिमेन्शियाको बारेमा थोरै व्यक्ति वा केहीले मात्र बुझ्न सकेका छन् । झन् नेपाल जस्तो मुलुकको अवस्था यहि अनुरुप अनुमान गर्न सकिन्छ । भनिन्छ विश्वमा प्रत्येक ३ सकेण्डमा एक जनालाई डिमेन्शिया हुने गर्दछ ।

नेपालको अवस्थाको कुरा गर्दा २०६८ सालको जनगणनालाई आधार मान्ने हो भने पौने तीन करोडको ९ प्रतिशत जनसंख्या ६० वर्षभन्दा माथिको बयोवृद्धाहरुको छ । यसैलाई मान्ने हो भने झण्डै २७ लाख भन्दा बढि ६० वर्ष माथिका बयोवृद्धाहरु रहेका छन् । र, २७ लाखको कम्तिमा पनि ५ प्रतिशतलाई बिर्सने रोग भएको आंकलन गर्न सकिन्छ । यस अर्थमा नेपालमा करिब १ लाख ३५ हजार भन्दा बढि व्यक्तिलाई डिमेन्शिया अर्थात बिर्सने रोग छ भन्ने अनुमान गर्न सकिन्छ ।

डिमेन्शियामा मस्तिष्कमा भएका कोशिकाहरुमा एक प्रकारको खराब प्रोटिन जम्मा हुन्छ । जसले गर्दा हाम्रो स्मरण शक्तिमा क्रमिक ह्राश हुदै जान्छ र अन्तत्वगत्वा स्नायु प्रणालीले पुरै काम गर्न छाड्छ । यो रोगमा स्मरण शक्तिको अलावा व्यक्तिको सोच, व्यवहार र भावनालाई असर गर्दछ । यो गहन समस्या हो । प्रत्येक व्यक्तिले डिमेन्शियाको अनुभव आफ्नै तरिकाले गर्दछन् । अन्ततः प्रभावित व्यक्तिहरू आफैंको हेरचाह गर्न असमर्थ हुन्छन् र दैनिक जीवनमा जिवनोपार्जन गर्न परिवार वा अरु कसैको मद्दतको आवश्कता पर्दछ ।

                                                                                      यो चित्रमा देखाएको जस्तो खराब प्रोटिन जम्मा हुन्छ ।

डिमेन्शियाका १०० भन्दा बढी प्रकारहरू छन् । डिमेन्शियाको सब भन्दा प्रमुखरूप भनेको अल्जाइमर रोग हो । डिमेन्शियाका अन्य लक्षणहरु यस प्रकार छन् ।
-स्मरण शक्ति गुमाउनु
-सही शब्दहरू फेला पार्न नसक्नु
-अरु व्यक्तिले के भनिरहेका छन् बुझ्नमा कठिनाई हुनु
-पहिले आफुले गर्दै आएका नियमित कार्यहरू गर्न कठिनाई हुनु
-विना कारण व्यक्तित्व र मुड परिवर्तन हुनु

  • डा. सापकोटा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक तथा प्रतिष्ठानका प्रवक्ता समेत हुन् ।
प्रतिक्रिया