डडेल्धुरा अस्पतालको प्रयोगशालामा २६ जनाको स्वाब रिपोर्ट पोजेटिभ

डडेल्धुरा । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका १८६ जनाको शुक्रबार नमूना परीक्षण गर्दा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको डडेल्धुरा अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालाका मेडिकल ल्याब टेक्नोलोजिस्ट जिनी गणेजुले जानकारी दिए ।

सङ्क्रमितमध्ये डडेल्धुरा जिल्ला नवदुर्गा गाउँपालिकाका दुई र अमरगढी नगरपालिकाका एक, दार्चुलाको मार्मा गाउँपालिकाका २० र महाकाली नगरपालिकाका एक तथा बैतडीको पाटन नगरपालिकाका दुई गरी कूल २६ जना रहेको सो अस्पलालले जनाएको छ ।

काँग्रेस नगरसभापतिद्वारा राहत वितरण

कोरोना भाइरसको सङ्क्रमण फैलिएयता नेपाली काँग्रेस अमरगढी नगरसभापति दानबहादुर पालले विपन्न, गरिब तथा आर्थिक अवस्था कमजोर परिवारलाई राहत वितरण गर्दै आएका छन् । उनले लकडाउन शुरु भएदेखि नै विपन्न र ज्यालादारीमा काम गर्ने तथा विभिन्न समस्यामा पर्दै आएका परिवारलाई खाद्यान्नलगायत विभिन्न सहयोग गर्दै आएका छन् ।

नगरसभापति पालले कोरोना भाइरसका कारण प्रभावित भएका अमरगढी नगरपालिका—९ चमालेकका दलित बस्तीमा पनि खाद्यान्न बाँडेका छन् । यसैगरी उनले अमरगढी नगरपालिका–१० बिजोडा गाउँका एक परिवारलाई पनि नगद सहयोग गरेका छन् । बिजोडाका मोहनबहादुर बिष्टको २८ वर्षकै उमेरमा निधन भएको थियो । उनको परिवारको सहयोग गर्न पालले वडा सदस्य प्रेमबहादुर बिष्टलाई रु दुई हजार पाँच नगद उपलब्ध गराएका छन् ।

सभापति पाल समाजिक कार्यमा पनि अग्रसर रहेका छन् । उनले अहिलेको बेला मजदूर र छाक टार्न समस्यामा रहेका मानिसलाई सहयोग गर्नु नै ठूलो पुण्य रहेको बताउँदै आफ्नो क्षमता अनुसारको सहयोग गरेको बताए । रासस

प्रतिक्रिया