बोक्सीको आरोपमा महिलामाथि कुटपिट, पहुँचकाे धक्कु लगाउँदै अर्काे मुद्दामा फसाउने धम्की !

  • भरतराज शर्मा (गाेपाल)

सिराहामा बाेक्सीकाे आरोपमा एक महिलामाथि कुटपटि भएकाे छ । सिराहाको सिमावर्ती कुर्सन्डी गाउँपालिका वडा नं ५ नवराजपुर निवासी ४५ वर्षीया मूर्तिदेवी यादवमाथि मरणासन्न हुनेगरी कुटपिट भएकाे हाे ।

कुटपिटपछि मलमुत्र समेत खुवाइएकाे पीडित यादवले बताइन् । उनका अनुसार धर्मनाथ यादव, उनका छोरा सन्तोष यादव, देवनाथ यादव र उनका छोरा पशुपति यादव, महेश यादव र ब्रह्म यादव लगायतले बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका हुन् । ‘मरणासन्न हुनेगरी कुटपिट गरेर घर छेउकाे धान खेतमा फालिदिए । मलमुत्र समेत खुवाए’, उनले भनिन् ।

घटना हाे भदाै २८ गतेकाे । ६ जना बढीकाे समूहले उनीमाथि कुटपिट गरे । प्रहरी अगाडी बसेर टुलुटुलु हेरिरह्याे । न त छिमेकी कसैले कुटपिट नगर भन्दै छेकाे हाल्न आए । चलचित्रकाे छायांकन नियालेजस्तै गरी सबै हेरिमात्रै रहे ।

मकालु खबरसँगकाे कुराकानीमा मुर्तिदेवीका छाेरा गणेश प्रसाद यादवले साे दिनकाे घटना सुनाउँदै भने- ‘मेरी आमालाई बाेक्सीकाे आरोप लगाउँदै सबै मिलेर कुटपिट गरे । कसैले राेकेनन् । प्रहरीले समेत छेकेन ।’

कुटपिटबाट घाइते भएकी मुर्तिदेवीको चिउँडो र गालाको हड्डी नै भाँचिएको छ । अवस्था गम्भीर भएपछि घटना भएकै दिन उनलाई परिवारका सदस्यले उपचारका लागि लहानकै कामना नर्सिङ होममा पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि  अहिले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएकाे छ ।

इ.एन.टी. वार्डको बेड नम्बर २५ मा भर्ना भएकी मूर्तिदेवीकाे उपचारमा अहिलेसम्म ८० हजार बढी खर्च भइसकेकाे छ । अझै धेरै खर्च लाग्न सक्ने चिकित्सकहरू बताउँछन् ।

मूर्तिदेवीका छोरा गणेशले आफ्नी आमामाथि पिडकहरुले चाेरीकाे समेत आराेप लगाएकाे बताए । गाउँका भद्रभलाद्दमीका छेउमा छलफल चलिरहँदा समेत कुटपिट भएकाे र बचाउन जाँदा आफूमाथि पनि कुटपिट भएकाे उनकाे दाबी छ ।

उनीहरू कुटपिटविरुद्ध स्थानीय प्रहरीमा उजुरी गर्न जाँदा पीडक पक्षले माथिल्लो तहसम्म आफ्नाे पहुँच रहेकाे भन्दै उल्टै चोरी तथा डकैतीकाे मुद्दामा फसाउने धम्की दिएकाे मूर्तिदेवीले गुनासाे पाेखिन् । धम्की खाएरै भएपनि उनका श्रीमान् रामनारायण यादवले प्रहरीमा किटानी जाहेरी निवेदन गराइसकेकाे उनले बताइन् ।

मूर्तिदेवीको शरीरका विभिन्न भागका निलडामबाट पनि कुटपिट भएकाे स्पष्ट हुन्छ ।

यता सिराहा प्रहरीले घटनाबारे छानविन तथा अनुसन्धान भइरहेकाे बताएकाे छ । उता पीडक पक्षका सन्ताेष यादवकाे माेबाइल नम्बरमा मकालु खबरले सम्पर्क गरेर घटनाबारे बुझ्न खाेज्दा फाेन सम्पर्क हुन सकेन ।

यस्ता अपराध कम गर्ने उद्देश्य तथा पीडकलाइ कानूनी दायरमा ल्याउन नेपालमा कानून बनाइएपनि कडाइ हुन नसक्दा घटनाहरू राेकिएकाे पाइँदैन । विशेषगरी नेपालकाे तराई क्षेत्रका विभिन्न जिल्लामा बोक्सी, दाइजो प्रथा लगायतका निहुँमा महिलामाथि हिंसा हुने गरेकाे छ ।

नेपालमा बाेक्सीकाे आरोपमा कुटपिट गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया