किंग्स् कलेज र मिट भेन्चर्स्, सिंगापुरबीच सहकार्य सम्झौता

काठमाडौं । व्यापार तथा व्यवस्थापन शिक्षामा अग्रणी किंग्स् कलेज र सिंगापुरस्थित मिट भेन्चर्सबीच आज (शुक्रबार) सहकार्य सम्झाैता भएकाे छ ।

उद्यमशिलताको क्षेत्रमा बृहत् अनुभव एवम् स्राेतयुक्त यी दुई संस्थाहरुले उद्यमशिलता एवम् नवप्रवर्तनको अवधारणालाई राष्ट्रिय मात्रै नभइ क्षेत्रीयस्तरमै कार्यान्वयन तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित सहकार्य सम्झौतामा हस्ताक्षर गरे ।

‘मिट भेन्चर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित भएका छाैँ । यस सम्झौताले नेपाली स्टार्टअप तथा अधिक संख्याका उद्यमीहरुलाई अन्तराष्ट्रिय मेन्टरबाट मेन्टरसिप हासिल गर्ने, अन्तराष्ट्रिय बजारको अन्वेषण गर्ने तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुसँग गाँसिने अवसर प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छाैँ,’ कलेजका प्रधानाध्यापक नरोत्तम अर्यालले भने ।

सम्झौता अनुसार किंग्स् कलेजले मिट भेन्चर्सलाई नेपालका साथसाथै दक्षिण एशियाका आशा लाग्दा स्टार्टअपसमक्ष पहुँच हाँसिल गर्न सघाउने अपेक्षा गरिएकाे छ । यसका साथसाथै कलेजले उसका विभिन्न अनुसन्धान तथा इन्क्युबेशन कार्यक्रममार्फत् यस क्षेत्रबाट हाँसिल भएका ज्ञान तथा उत्कृष्ट अभ्यासहरुलाई मिट भेन्चर्ससँग साझा गर्नेछ ।

यस्तै, आज भएको सहकार्य सम्झौताअनुसार मिट भेन्चर्सले नेपाली तथा दक्षिण एसियाली स्टार्टअपहरुका लागि लगानी सहायता हाँसिल गर्ने अवसर प्रदान गर्ने पनि बताइएकाे छ । नेपाली विद्यार्थीहरुले मिट भेन्चर्स तथा उसका सहायक कम्पनीहरुबाट उद्यमशिलताका परियोजनाहरुमाथि मेन्टरसिप हाँसिल गर्नका साथै उनीहरुलाई सिंगापुर तथा दक्षिणपूर्वी एशियामा आयोजना हुने उद्यमशिलता तथा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा प्रतिस्पर्धाहरुमा सहभागी हुन समेत अवसर प्राप्त हुनेछ ।

‘नेपालसँग सम्झौता गरिएको यो नै हाम्रो पहिलो सहकार्य हो,’ मिट भेन्चर्सका तर्फबाट फराह फिराडसले जानकारी दिँदै भनिन्, ‘उद्यमशिलताको विकास तथा प्रबद्र्धनको सवालमा हरेक मुलुकका आ–आफ्नै विशेष क्षमता हुन्छन् । आजको २१औं शताब्दीमा यस सुन्दर राष्ट्रबाट भोलिका दिनमा के–कस्ता उद्यमीहरु जन्मन्छन् भनेर हेर्न हामी निकै उत्साहित छाैँ ।’

एसिया क्षेत्रभित्र कार्य सञ्चालन गरिरहेको मिट भेन्चर्स् कर्पोरेट स्टार्टअप इनोभेसन कम्पनी हो । कर्पोरेट क्षेत्रअन्तर्गतको नवप्रवर्द्धन र स्टार्टअपलाई सफल रुपमा स्थापित गर्न सघाउनु यसको मुख्य उद्देश्य रहेको छ ।

प्रतिक्रिया