वामदेवलाई सांसद बनाएकोमा साझा पार्टीको आपत्ति, हारेकालाई मन्त्रीमण्डलमा नलैजान आग्रह

काठमाडाैं । प्रतिनिधि सभाकाे पछिल्लाे निर्वाचनमा पराजित नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टीले गम्भीर आपत्ति जनाएकाे छ ।

राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना भएकाे उसकाे ठहर छ ।

‘यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो । लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो’, साझा पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुन: एक पटक “तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको छ ।’

‍संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु पनि अर्काे विडम्वनापूर्ण विषय भएकाे साझाले जनाएकाे छ । साथै गौतमलाई मन्त्रीमण्डलमा नलैजान पनि साझाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकाे छ ।

पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा नागरिकप्रतिको चरम वेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याइए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ सरकारलाई सचेत समेत गराइएकाे छ ।

प्रतिक्रिया