पशुपति क्षेत्रको गुरुयोजनाबारे पूर्व पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण

 

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका पूर्व पदाधिकारीहरूले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले स्वीकृत गरेको चौथो चरणको पशुपतिनाथको गुरुयोजनालाई लिएर आफूहरूको ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कोषका पूर्व पदाधिकारीहरूले कोषले अघि सारेको गुरुयोजनालाई अवधारणा पत्र मात्रै भएको टिप्पणी गरेका छन् । उनीहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘ अवधारणा पत्र गुरुयोजना होइन, हुन सक्तैन ।’

‘ विश्व सम्पदा सूचीमा सूचीकृत विश्वका सम्पूर्ण हिन्दुहरूका आराध्य देव भगवान् श्री पशुपतिनाथको मन्दिरले चर्चेको पशुपति क्षेत्रको पहिलो दश वर्षीय गुरुयोजना वि.स. २०५६ सालमा सुरु भई त्यसको समयावधि वि.स.२०६६ सालमा समाप्त भएको सन्दर्भमा त्यस अवधिमा गुरुयोजनाको अवधारणाले दिशानिर्देश गरेको तेस्रो चरणसम्मका केही कार्यहरू सम्पन्न भए’ विज्ञप्तिमा भनिएको छ, ‘चौथो चरणको कार्य भू उपयोग तथा संरचनागत गुरुयोजनाको काम हुन नसकी बाँकी रहेको अवस्थामा हालै पशुपति क्षेत्र विकास कोषले चौथो चरणको गुरुयोजनालाई सञ्चालक परिषद्ले मिति २०७६/१०/१९ मा स्वीकृति प्रदान गरिसकेको र नेपाल सरकारबाट स्वीकृत हुन मात्र बाँकी रहेको भन्ने कुरा मिडियामार्फत जानकारीमा आएको तथा स्थानीय स्तरमा यसको विरोध भएको सम्बन्धमा हामी पशुपति क्षेत्र विकास कोषका पूर्व पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएकोले सो गुरुयोजना भनिएको दस्ताबेजलाई गुरुयोजना भन्न नसकिने बरु गुरुयोजनाको अवधारणासम्म भन्न सकिने भएकोले सो दस्ताबेजलाई गुरुयोजना भनेर स्वीकृत गर्न नहुने र स्थानीय स्तरमा उठेका सवालहरूलाई समावेश र सम्बोधन गरेर गुरुयोजना तयार र स्वीकृत गर्नु पर्ने समेत देहायका विषयतर्फ सम्बन्धित पक्षको ध्यानाकृष्ट गराउन चाहान्छौं ।’

उनीहरूले पशुपति क्षेत्रको मूलत्व भनेको त्यहाँको धर्म–संस्कृति भएकोले धर्म–संस्कृतिको संवर्धन र वर्चस्वलाई ध्यान पु¥याइएको नदेखिएको बताएका छन् । त्यस्तै, स्थानीय जनप्रतिनिधिहरू, सरोकारवालाहरू, विभिन्न सरोकारवाला निकायहरू तथा विषयगत धर्म, संस्कृतिविद्हरूसँग गुरुयोजनाका बारेमा छलफल परामर्श पनि नभएको उनीहरूको अर्को गुनासो छ ।

दश वर्षीय गुरुयोजनाको समीक्षा नभईकन अगाडी बढ्दा विगतका कमीकमजोरीहरू यथावत् रही रहने अवस्था देखिएको उनीहरूको भनाई छ । र, अबको गुरुयोजनाको चरण भू–उपयोगसहितको संरचनागत गुरुयोजना भएकोले त्यहाँ के–के निर्माण हुने हुन् त्यसको विस्तृत नाप/नक्सासहित एकीकृत योजना हुनुपर्नेमा सोको अभाव देखिएको पनि उनीहरूको भनाई छ ।

कार्यक्रममा कोषका पूर्व सदस्य सचिव सुशिलकुमार नाहटाले पशुपति क्षेत्र विकास कोषले अघि सारेको गुरुयोजनालाई अवधारणा पत्र भनिनुपर्ने बताए । नाहटाले अवधारण पत्र बनाउने बेलामा सरोकारवाला पक्षसँग छलफल तथा परामर्श नै नगरिएको पनि गुनासो पोखे ।

कार्यक्रममा कोषका पूर्व सदस्य सचिव निर्मल कुइँकेलले स्थानीय जनप्रतिनिधिहरू, सरोकारवालाहरू, विभिन्न सरोकारवाला निकायहरू तथा विषयगत धर्म, संस्कृतिविद्हरूसँग गुरुयोजनाका बारेमा छलफल परामर्श पनि नभएको गुनासो पोखे ।

प्रतिक्रिया