घरभाडा छुुट दिनेलाई पुरस्कार

गलकाेट । कोरोना महामारीका सन्दर्भमा नेपालमा पाँच महिना व्यवसाय ठप्प जस्तै भयो ।

गत चैतदेखि करिब पाँच महिना बन्दाबन्दी भएपछि व्यवसायीहरुको उठिबास नै लागेको छ । लामो समय व्यवसाय बन्द हुँदा व्यवसायीलाई घरभाडा तिर्न समस्या भएको छ ।

घरभाडा तिर्न नसकेर व्यवसाय बन्द गर्न थालेका व्यवसायीको राहतका लागि बागलुङ उद्योग वाणिज्य सङघले सक्रियता देखाएको छ । सङघले बन्दाबन्दी हुँदादेखि नै घरधनीहरुलाई भाडा छुट दिन आग्रह गर्दै आएको छ । हालसम्म बागलुङ बजारका झण्डै १५० घरधनीले घरभाडा छुटसमेत दिएका छन् ।

कोरोना भाइरसका कारण आफ्नै घरमा व्यवसाय गर्नेभन्दा भाडा तिरेर व्यवसाय सञ्चालन गर्नेलाई निकै समस्या सिर्जना भएको छ । सङघले घरभाडा छुट दिनेलाई प्रोत्साहन गर्न थालेको छ । सङघको आग्रह वा स्वतःस्र्फूत रूपमा घरभाडा छुट गरेका घरधनीहरुलाई सङघले प्रोत्सानस्वरुप सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको हो ।

घरभाडा छुट दिने घरभेटीलाई प्रोत्साहन र अन्य घरधनीलाई भाडा छुट दिन अभिप्रेरित गर्नका लागि घरधनीलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम अघि सारेको सङघका अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिए । ‘कोरोना महामारीमा व्यवसायी धेरै मारमा परेका छन्, भाडामा व्यवसाय सञ्चालन गर्नेहरुले भाडा तिर्न नसकी व्यवसाय बन्द गर्दा त्यसको मार घरधनीलाई समेत हुने गर्दछ’, राजभण्डारीले भने ‘धेरै घरधनीले एक महिनादेखि पाँच महिनासम्मको घरभाडा छुट गरेका छन् ।

उहाँहरुलाई कदरस्वरुप उद्योग वाणिज्य सङघले सम्मान गर्नेछ ।’ राजभण्डारीका अनुसार घरभाडा छुट दिने घरधनीको लागत सङ्कलन भइरहेको र आगामी उद्योग वाणिज्य सङघको साधारणसभामा सम्मान गरिने छ । उनले घरभाडा छुट दिने घरधनीहरु बढ्दै गएमा साधारणसभा अघिनै सम्मान गरिने बताए । सङघका अनुसार हालसम्म बागलुङ बजारका करिब १५० घरधनीले आफ्नो घरमा सञ्चालित व्यवसायलाई घरभाडा छुट दिएको तथ्याङ्क छ ।

बागलुङका ठूला तथा साना व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरुले घरभाडा तिर्न नसक्दा व्यवसाय नै धरापमा परेको गुनासो गर्दै आएका छन् । हालसम्म बागलुङ बजारका एक दर्जन व्यवसायीले भाडा तिर्न नसकेर व्यवसाय नै बन्द गरेका छन् । उद्योग वाणिज्य सङघले घरभाडा छुट दिने घरधनीको सङख्याका आधारमा कस्तो पुरस्कार दिने भन्ने निर्णयमा पुगिने बताएको छ । रासस

प्रतिक्रिया