बन्दाबन्दीमा मान्छेलाई छाडेर ऋणैऋण बोक्ने सुकलालको ‘रिक्सा’

• सृष्टि नेपाल (द्वारिका)

काठमाडौं । गत वर्षको ११ चैत्रदेखि संघीय सरकारले देशव्यापी रुपमा बन्दाबन्दी (लकडाउन) गर्यो । विना तयारी गरिएको बन्दाबन्दीमा फरक मान्छेले फरक खालका समस्याको सामना गर्नुपर्यो । ४ साउनमा बन्दाबन्दी खोलिए पनि आम जनताहरुको व्यवसाय धराशायी हुनुले ती जनताहरु अझै आफैँसँग नमज्जासँग डराइरहेछन् ।

लकडाउन, सटडाउन अनि विभिन्न जिल्लामा लगाइएको निषेधले जनताहरुको सकसलाई अझ सशक्त बनायो । उही सकसले पछ्याएको छ, रिक्सावाला सुकलाल श्रेष्ठलाई । सुकलाल, बन्दाबन्दीमा दुई/तीन दिन कोठामा सुतेरै बिताए । त्यसपछि काठमाडौंमा विना काम बस्न सकेनन् । घर फर्किने निधो गरे ।

१४ गते गाडीको बन्दोबस्त भयो । १५ गते घर पुगे । घर पुगेको दुई दिनपछि फेरी उही छट्पटी– ‘कहिले लकडाउन् खुल्ला र काममा फर्किउँला !’ लकडाउन अलिकति खुकुलो भएपछि साउनको २० गते उही संघर्षको दुनियाँमा फर्किए । २१ गतेबाट मजदुरीको कर्म सुरु भयो ।

छोराछोरी, श्रीमती सबैको मुखमा माड उनैको परिश्रमले धानेको छ । पहिले त खासै गाह्रो थिएन जीविकोपार्जनमा । आफ्नै मजदुरीको यता खाइपिइ, कोठाभाडा समेत तिरेर घर खर्च पठाउँथे । लकडाउन्ले भने निकै सकस बनायो ।

मासिक ३० हजारसम्म कमाउने उनको बोनी समेत हुँदैन आजभोलि । सायद यो समय इतिहासमै कुरुप हो उनका लागि । जन्मिएदेखि आजका दिनसम्म उनले कल्पना समेत नगरेको दिन हो यो । कालो दिन ।

एउटै गतिमा शान्तसँग बगेको उनको जीवनमा एक्कासी तुफान ल्याइदियो कोरोना र लकडाउनले । खै के मिलेन, मिलेन । भद्रगोल जस्तो । खल्लो । नमिठो । कस्तो, कस्तो । एउटै गतिमा गुडिरहेको गाडीको स्टेरिङ्ग फेल भएर दुर्घटना भएजस्तो !

पूरै परिवारको जिम्मेवारी उठाएका उनको अहिले एक्लो पेट पाल्न समेत धौधौ परेको छ ।

बिहान ५ देखि ६ बजेभित्र असनचोक आइपुग्छन्, सुकलाल । दिउँसो २/३ बजिसक्दा पनि बोनी समेत हुँदैन । तैपनि आशैआशमा साँझ ७ बजेसम्म त्यहीँ बस्छन्, उही ग्राहक ढुकेर ।

‘बिहान ५ बजेदेखि आएर बसेको । बोनी समेत भएको छैन । यता आउँछु पनि हुँदैन, उता जान्छु पनि हुँदैन । गाह्रो छ हजुर’, उनी विरक्त मान्छन् ।

लकडाउन् पूरै खुलिसकेको छैन । व्यापार व्यवसाय ठप्प छन् । कपडालगायतका पसलहरु दिन बिराएर मात्रै खुलिरहेका छन् । न त विदेशीकै लागि खुल्ला गरिएको छ देश । त्यसकारण, पुरपुरोमा हात लगाएर बस्न बाध्य छन् उनी ।

उनी भन्छन्– ‘ठमेल क्षेत्र नखुलेसम्म पर्यटक खासै भेटिँदैनन् । सामानका भारी बोकेका व्यापारी र पर्यटकले नै हो रिक्सा चढ्ने । उनीहरु नै नभएपछि कसरी हुनु र आम्दानी !’ पहिले भ्याइनभ्याइ जतिकै हुन्थ्यो । अहिले त कामको सुविस्ता छ, तर शान्ति छैन मनमा । चिया खाने खर्च समेत जुट्दैन ।

कुनै दिन त बोनी नगरी कोठामा फर्कन्छन् रे उनी ।

भैँसी बेचेर रिक्सा

उनले रिक्सा चलाउन थालेको करिब ६ वर्षजति भयो । ७१ सालमा किनेका थिए, घरको भैँसी बेचेर । लागत, मर्मत सम्भार, रंगरोगन गरी चिटिक्क बनाए । ५५ हजार जति खर्च भयो । अझै पनि ऋणमै छन् । बचत पनि शून्य छ ।

खेती किसानी गरेर बचत हुने कुरा पनि त भएन । खेतीकिसानीले घरखर्च धान्न नसकेपछि र छोराछोरीका सीमित रहरहरु पनि पूरा गर्न मुश्किल भएपछि उनी राजधानी होमिएका थिए, २५ वर्षको उमेरमा ।

केही समय ज्यामी काम गरे, त्यसपछि किनेका हुन् रिक्सा । साहु पनि आफैँ, कामदार पनि आफैँ । फाइदा आफ्नै, बेफाइदा पनि आफ्नै । तर उनले सुरुवाती ताकादेखि नै बेफाइदा भने खेप्नु परेन । सन्तानलाई पढाउन पुगेकै थियो । ५ जनाको परिवार सुखले पालेका थिए ।

कमाएको जति खानैमा ठिक्क हुन्थ्यो । उही त हो नि सन्तानको रहर, आवश्यकताको परिपूर्ति गरिदिनै पर्यो, अभिभावक भएपछि । उनीहरुको रहर पूरा गरेर बाँकी रहेका पैसाले तेल मसला किन्नै पर्यो । बचत सुक्को बसेन । न त जग्गा जमिन जोड्न सके । अहिले बचत नहुँदा समस्या भएको उनी सुनाउँछन् ।

हाल ओमपाल बस्ने उनले पढ्न पाएनन् । ६ महिना घरको खेतीले पुग्यो भने ६ महिना किनेर खानुपर्छ । हलो जोतेर, गाइबाख्रा चराउँदै बित्यो उनको बाल्यकाल र किशोरावस्था । एक जोर लुगा लगाउन समेत धौधौ थियो उनका पालामा । त्यसैले पनि  आफ्ना सन्तानलाई त्यो दुःख भोग्न नपरोस् भन्ने ठान्छन् र निरन्तर परिश्रममा जुट्छन् उनी ।

खल्लो दशैं

नेपालीहरुको महान् चाड बडा दशैं सुरु हुन मात्र एक महिना बाँकी छ । कोरोना भाइरस (कोभिड १९) महामारीका कारण यो वर्षको दशैं निकै नमिठो हुने रिक्सा चालक सुकलाल श्रेष्ठ गुनासो पोख्छन् ।

कोरोना महामारी आउनु अगावैका वर्षहरुमा दशैं सुरु हुँदै गर्दा एक/दुई महिना अघिदेखि नै कमाइ राम्रो हुन्थ्यो उनको । दशैंका मुखमा मासिक ३५/४० हजारसम्म कमाउँथे । अरु महिनामा २०/२५ हजार कमाइ हुन्छ । दशैंको समयमा ३५ हजारसम्म कमाइ हुँदा छोराछोरीलाई नयाँ कपडा, नुन मसला लगायतका दशैंका सपिङ्ग गर्न पुग्थ्यो । अहिले त शून्य छ आम्दानी ।

यसपालीको दशैंझैँ कस्तो कल्पना गर्नुभएको छ त ?  प्रश्न खस्न नपाउँदै उनको मुहारमा मलिनता झल्कियो । अन्यौल सुनिए । घर जाने/नजाने समेत टुंगो छैन । ‘पैसा छैन । ऋणैऋण छ । पहिले पनि ऋण नै थियो, अहिले झनै थपियो । ६ महिना भइसक्यो लकडाउन भएको । यो अवधिमा कमाइ शून्य, उल्टो ६०/७० हजार ऋण लाग्यो’, उनी भन्छन् ।

आफ्नो दुःख एकातिर छँदैछ । उता घरबेटीले भाडा लेऊ भनेर कचकच गरेको गर्यै छन् । एक महिनाको छुट गरिदिउँला, बाँकी देऊ भनेका छन् । ‘लकडाउन खुलेपछि कमाइ हुन्छ, अनि तिरौँला, खाएर भाग्दिनँ’, यही आश्वासन दिएर टारिदिएका छन् घरबेटीको कचकच ।

चिन्ता पनि के को मात्रै लिनु !

चिन्ता नलिऊँ भनेर पनि सुख पाएका छैनन् उनले । बिहान भर्खरै मात्रै घरका जहानले फोन गरेका थिए, ‘दशैं आउन लागिसक्यो । लत्ताकपडा, मरमसला र खर्चबर्च लिएर आउनू ।’

उनीहरुलाई रोग र संक्रमणकालीन अवस्थाबारे के थाहा । वश् बाबा, यो चाहियो, त्यो चाहियो भनिदिए भइहाल्यो । पोहोर साल घर जाँदा त १०/१२ हजारको लुगा, माछामासु, मरमसला, टिकाटालो गरेर करिब ५० हजार जगेर्ना गर्नुपर्थ्यो । पुग्थ्यो पनि, आम्दानी राम्रै थियो ।

अहिले त चियाखर्च जुटाउन समेत मुश्किल परेका बेला ५० हजार कहाँबाट ल्याउनु ? फेरि ऋण कसरी लिनु, थेग्न पनि सक्नुपर्यो । लकडाउनमै ६० हजार ऋण लिइहाले ।

‘यदि अबको एक महिनाको अवधिमा कमाइ भएन भने दशैंमा घर गइँदैन । घर गएपछि छोराछोरी नयाँ लुगाफाटा खोज्छन्, उनीहरुलाई कमाइ भएको छ/छैन के थाहा !’

०००

उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्, हाम्रो दृष्टिले कैद गर्न भ्याएको । उनीजस्ता धेरै मजदुरको जीवनमा सुनामीको छाल उर्लिएको छ । त्यसले अन्धाधुुन्धको भड्खालोमा फसाइदिएको छ उनीहरुलाई ।

खै कहिले फर्किएलान् उही पुराना दिन, जहाँ उनीहरुले अघाउँदी खान पाएका थिए !

प्रतिक्रिया