टिकटकमार्फत् समाज सेवामा होमिएका श्रीराम पौडेल

काठमाडौं । केटाकेटी वा वृद्धवृद्धा जो परिवारमा अशक्त छन् । उनीहरु जहिले पनि होचोहेलोको शिकार बनिरहेको हामी पाउँछौँ ।

हाम्रो समाजको परम्परा नभए पनि वर्तमान बनोटले यस किसिमको वातावरण सिर्जना गरिरहेको हुन्छ । जो घरपरिवारकालागि अनुत्पादक हुन्छन्, ती उपेक्षित बन्दै गइरहेका छन् । त्यो हुनु वर्तमान आधुनिक भनिएको समाज र पैसामुखी परिवेशको कारण पनि हो । जसले गर्दा यस्ता अनुत्पादक वर्ग बेवारिसे हुने अवस्था छ । अर्कोतर्फ सामाजिक, सांस्कृतिक विचलनका कारण र दुर्घटनाका कारण पनि कतिपयले परिवार गुमाउँछन् । यसरी परिवार गुमाउनेको पनि अवस्था बेवारिसे नै हो ।

अनुत्पादक भनिएको वर्ग बेवारिसे हुनुमा सबैभन्दा ठूलो भूमिका परिवारकै हुन्छ । परिवारका सदस्यको लापरबाही र कर्तव्यपरायणताको अभावमा आमाबुबा वा केटाकेटी बेवारिसे बन्न पुग्छन् । अर्कोतर्फ विविध दुर्घटनाजन्य कारणपछि मानिस बेवारिसे हुने भनेको राज्यको दोष पनि हो । राज्यले आम नागरिकको संरक्षण गर्ने जिम्मा लिनुपर्छ ।

आम नागरिकको भरणपोषणको जिम्मेवारी राज्यकै हो । राज्य कमजोर र कर्तव्यविमुख बनिदिँदा हाम्रा आमाबुबा वा बालबच्चा बेवारिसे बनिरहेका छन् तर, पनि ‘कोही नहुनेका लागि भगवान् छन्’ भनेजस्तो समाजकै केही व्यक्ति वा समूह भगवान बनेर आइदिन्छन् र यसरी बेवारिसे बनेका हाम्रा आमाबुबा वा बालबच्चाको संरक्षण गरिदिन्छन् । पुण्य कमाउँछन् । यसरी पुण्य कमाउनेहरु देशभर विभिन्न नामले चिनिएका छन् । जसमध्ये मानव सेवा आश्रम, मातातीर्थ वृद्धाश्रमआदि उदाहरण हुन् ।

यहाँ यस्तै बेवारिसे वा बेवारिसे पारिएका आमाबुबा वा बालबालिकाहरुले संरक्षण पाइरहेका छन् । उनीहरुलाई विभिन्न दाताहरुले मन खोलेर सहयोग पनि गरिरहेका छन् ।आफूलाई जन्मदिने आमाबुबा वा भोलिका कर्णधारलाई भवितव्य बाहेकका अवस्थामा परिवारले किन संरक्षण गर्दैन र परिवारले किन जिम्मेवारी बोध गर्दैन भन्ने आमचासोको विषय हो । आमाबुबा वा बालबच्चा नहुनेलाई सोधौं त उनीहरुको महत्व कति हुन्छ ? तर आमाबुबा वा बालबच्चा हुनेले किन यसरी तिरस्कार गर्छन् ? यो गम्भीर चिन्ताको विषय हो । यही चिन्ताले सताउने गर्छ शैक्षिक व्यवसायी श्रीराम पौडेललाई पनि ।

पौडेल भन्छन्, ‘आफ्नो परिवारको संरक्षण गर्नु सबै नागरिकको कर्तव्य हो । तर कर्तव्यबाट भागिरहेको पुस्ता देखेर धेरै चिन्ता लागेको छ ।’ आमाबुबा भगवानका रुप हुन् भन्ने महसुस गर्नुपर्नेमा छोराछोरीले नै वृद्धाश्रममा लगेर छाड्ने चलन कत्ति पनि राम्रो नभएको उनको भनाई छ । उनी भन्छन्, ‘आफ्नै बाबाआमाको स्याहार, हेरचाह गर्न नसक्ने तर मातातीर्थका एक व्यक्ति वा समितिले तपाइँका बाबाआमा पालिदिनुपर्ने यो कस्तो विडम्बना हो ?’ यही विडम्बनाबाट आजित भएका उनी समाजकोलागि योगदान गर्नुपर्छ भन्ने सोचेर अहिले सामाजिक काममा होमिएका छन् ।

शिक्षा क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका साथै शैक्षिक व्यवसायीको पहिचान बनाएका पौडेल हाम्रै उमेरमा कोही पनि बालबालिका र अभिभावकहरु सडक र आश्रममा भेटिनु नपरोस् भन्ने अभियानमा आफू लागिपरेको बताउँछन् । कोही पनि आमाबुबा वा बालबालिका परिवारबाट विमूख हुन नपरोस् भन्ने उनको धारणा छ । त्यसैले उनी पछिल्लो समय सक्रिय रुपमा सहयोगीको भूमिका खेलिरहेका छन् । उनले यसरी आमाबुबा वा बालबालिकाले संरक्षण पाइरहेको स्थानमा जाने, सकेको सहयोग गर्ने, सहयोगको लागि अपिल गर्ने काम यो लकडाउनको अवधिमा पनि गरिरहेका छन् ।

यसैक्रममा यसअघि पौडेलले मानव सेवा आश्रममा गएर त्यहाँ रहेका ४१ जना आमाबुबाको लागि एक महिना खान पुग्ने खाद्यान्नलगायतका सामग्री सहयोग गरेका थिए । मंगलबारमात्रै मातातीर्थ वृद्धाश्रममा पुगेर त्यहाँ रहेका १९ जना आमाहरुलाई एक महिना खान पुग्ने खाद्यान्नलगायतका सामग्री हस्तान्तरण गरे । यो कार्यमा बालाजु जेसिजले पनि सहयोगीको भूमिका निर्वाह गरेको छ । उनी बालाजु जेसीजका संस्थापक अध्यक्ष साथै नेपाल जेसीजका महासचिव २०१८ पनि हुन् । उनले यो अभियानलाई निरन्तरता दिने सोच बनाएका छन् । जसको लागि पौडेलले आर्थिक संकलनको बाटो पनि खोजिसकेका छन् ।

टिकटकको आम्दानी मानवसेवामा
धेरैलाई लाग्न सक्छ टिकटक भनेको मनोरञ्जनकालागि मात्रै चलाउने हो । यसबाट आम्दानी गर्न वा अन्य काम गर्न सकिन्न तर, त्यस्तो होइन । टिकटकबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ र सोसल नेटवर्किङको काम पनि गर्न सकिन्छ । यसको उदाहरण हुन् श्रीराम पौडेल । उनले टिकटक चलाएर नै लकडाउनकोबीचमा मात्रै लाखौं रुपैयाँ कमाउन सफल भएका छन् । जसलाई उनले मानवीयता र समाज सेवामा प्रयोग गरिरहेका छन् । दैनिक खानलाउनको समस्या नभएहरुका लागि पौडेलको जति पनि टिकटकबाट कमाई हुन्छ, त्यसलाई समाजसेवामा लगाउने निर्णय गरिसकेका छन् । ‘टिकटकबाट कमाई भएको पैसालाई सर्बाइभकालागि प्रयोग गर्नु भन्दा असहायलाई सहयोग गर्नु उपयुक्त लागेर यो सहयोग गर्न तयार भएँ’ उनले भने ।

उनलाई आफ्ना धेरैसाथीसंगीले टिकटक चलाउने भनेर नकारात्मक रुपमा खिज्याउने वा हेयको भावले हेर्ने गरेका छन् । सकारात्मक सोचका धनी पौडेल यसलाई वेवास्ता गर्दै टिकटकमा अनवरतरुपमा समय दिइरहेका हुन्छन् । उनी भन्छन्, ‘यो वर्ग वा यो क्षेत्रको मान्छेले मात्रै टिकटकलगायतका सामाजिक सञ्जाल प्रयोग गर्नुपर्छ भन्ने होइन । सबैले प्रयोग गर्न सक्छन् र गर्नु पनि पर्छ । तर सकारात्मक रुपमा । सामाजिक सञ्जालका पनि राम्रा पक्षहरु छन्, तिनलाई सदुपयोग गर्न सकिन्छ ।’टिकटकमा सर्ट भिडियोको मार्फतबाट समाजमा भएका विकृति, विसंगती वा समस्यालाई उजागर गर्न सकिन्छ । यसबाट आफ्नो भाषा, कला, संस्कृतिको संरक्षण पनि गर्न सकिने उनको भनाई छ ।

उनी भन्छन्, ‘टिकटकलाई फनको लागि मात्रै प्रयोग गर्ने गरेको पाएको छु, तर यो फन मात्रै होइन, यसबाट समाजसेवा वा मानवसेवा गर्न सकिन्छ भन्ने उदाहरण दिन खोजेको हुँ ।’ जसको सदुपयोग गर्दै टिकटककै मार्फत्बाट उनी समाजसेवामा होमिएका छन् । त्यतिमात्रै होइन नयाँ साथी बनाउन र व्यापार व्यवसाय वृद्धि गर्न पनि टिकटकले सहयोग गर्ने उनको भनाई छ । उनी भन्छन्, ‘सोसल नेटवर्किङको लागि पनि टिकटक प्रयोग गर्छु ।’

आफ्नो व्यापार, व्यवसाय, पेशा जे–जे भए पनि त्यो मात्रै जीवन नभएको पौडेलको बुझाइ छ । आफ्नालागि त जो र जे पनि बाँच्छ तर, अर्काको लागि बाँच्नुको छुट्टै आनन्द हुने उनी बताउँछन् । उनी भन्छन्, ‘आफ्नो लागि सबै जिउँछन् तर अरुको लागि जिएर त हेर्नुहोस् ।’ हो त्यही अर्काकोलागि जिउने भावना र वातावरण टिकटकले सिर्जना गरिदिएको छ । उनकालागि टिकटक समाज सेवाको गतिलो आधार बनिदिएको छ ।

उनलाई यो अभियानमा सहयोग गर्नेहरु पनि छन् । टिकटकमा गिफ्टको माध्यमबाट अनि प्रत्यक्ष रुपमा सहयोग गर्ने ब्यक्ति पनि छन् । पौडेलको अभियानलाई आफ्नो अभियान सम्झेर सहयोग गर्ने ब्यक्तिहरुमा प्रवीण घिमिरे, कविता लामा, अकेसिया गुरुङ्ग, विजुङ्गु, रविन इमोसन, स्टेफन क्षेत्री, ममता भारती, डिल्लीराज पराजुली, पारस थापा, सावित्री थुलुङ्ग राई, रश्मिका प्रिया, गौरी तामाङ्ग तिलाराम, कमल कार्की, मिरा बस्नेत, काली सीमा, बाबुराम रेग्मी, विमल मगर आदि रहेका छन् । उनीहरुले पनि अभियानमा महत्त्वपूर्ण सहयोग गरेको पौडेलको भनाई छ ।

प्रतिक्रिया