पीएसजीको पहिलो जीत, नेयमारलाई दुई खेलमा प्रतिबन्ध !

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलो जीत निकालेको छ । नयाँ सिजनको तेस्रो खेलमा पीएसजीले पहिलो जीत हात पारेको हो ।

गएराति भएको खेलमा पीएसजीले मेट्जलाई १-० ले हरायो । खेलको निर्णायक गोल जुलियन ड्राक्सलरले इन्ज्युरी समयको तेस्रो मिनेटमा गरेका थिए ।

निलम्बनमा रहेको नेयमार र कोरोना संक्रमणका कारण एम्बाप्पेबिना खेलेको पीएसजीले कठिन जीत हात पारेको हो । जीतसंगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ ।

नेयमारलाई दुई खेलमा प्रतिबन्ध
फ्रान्सेली फुटबल संघले फरवार्ड नेयमारलाई बुधबार दुई खेलमा प्रतिबन्ध लगाएको छ । फ्रेन्च लिग वानमा मार्सेविरुद्धको खेलमा उनले रातो कार्ड पाएका थिए ।

खेलको अन्त्यमा सुरु भएको झगडामा उनीसँगै ५ खेलाडीले रातो कार्ड पाएका थिए । झगडाका क्रममा ब्राजिली खेलाडीले मार्सेका डिफेन्डर एलभारो गोन्जालेजलाई गालामा हानेका थिए र फुटबल संघले पूरा घटनाका छानबिन पनि गरिरहेको छ ।

प्रतिक्रिया