लामो दूरीको सार्वजनिक यातायात खुल्यो, कसरी गर्ने सुरक्षित यात्रा ?

काठमाडौं । ६ महिनादेखि बन्द लामो दुरीको सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएको छ । कोरोनाका कारण गत चैत्र ११ मा गरिएको देशव्यापी लकडाउनका कारण थन्किएका सबै सार्वजनिक यातायात आजदेखि सञ्चालनमा आएका हुन् ।

काठमाडौंको बसपार्कमा बिहानैदेखि चहलपहल बढिसकेको छ । सार्वजनिक यातायात सञ्चालन हुने भएपछि हजारौं–लाखौं सर्वसाधारण भित्रिने र बाहिरिने छन् । यो अवस्थामा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउँदै सवारी सञ्चालन गरिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यातायात सञ्‍चालनका लागि अनुमति दिने निर्णय गरेको थियो । सरकारले साबिकभन्दा ५० प्रतिशत भाडा वृद्धि गरेर आधामात्रै यात्रु बोक्न पाउने नियम बनाएकाले सम्पूर्ण स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्नुपर्ने छ ।

सवारी सञ्चालन हुने भएपछि व्यवसायीश्रमिक कर्मचारी (चालक, सहचालक, परिचालक, बुकिङ)ले मास्क, स्यानिटाइजर, पन्जा, फेस सिल्ड, भाइजर प्रयोग गर्नुपर्ने, सवारीको सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु राखेर सरकारले तोकेको ५० प्रतिशत बढी भाडा लिन पाउने र यातायात श्रमिकको कोरोना बिमा गर्न बाँकी रहेका सम्पूर्ण काम कम्पनीले तत्काल गर्नुपर्ने मापदण्ड बनाएका छन् ।

हेर्नुहोस् यातायात व्यवसायीले तय गरेको पाँच बुँदे सवारी सञ्चालन मापदण्ड :-
लामो दूरीको सार्वजनिक यातायात खुल्दा उच्च दरमा वृद्धि भइरहेको कोरोना संक्रमणको वृद्धिको जोखिम अझ बढ्ने चिन्ता थपिएको छ । तसर्थ यातायातका साधन चढ्दा वा प्रयोग गर्दा उच्च सावधानी अपनाउनु जरुरी छ ।

  • यी सावधानी अपना‍औं
    -सामाजिक दूरी कायम गरौँ
    -स्वास्थ्यकर्मीले सेवामा जाँदा अनिवार्य रुपमा एन ९५ मास्क प्रयोग गर्ने, अन्यले यस्ता मास्क उपलब्ध नभए सर्जिकल वा कपडाको मास्क प्रयोग गर्ने
    -कोरोनासँग सम्बन्धित लक्षण भएका व्यक्तिले अनिवार्य रुपमा मास्क प्रयोग गर्नु पर्दछ । यस्ता व्यक्तिले सकेसम्म सार्वजनिक यातायात प्रयोग गर्नु हुँदैन
    -सँगै यात्रा गरी रहेका अन्य साथीसँग सामान, रुमाल मोवाइल आदि शेयर नगर्ने
    -आफ्ना साधनका स्टेयरिङ्ग, ह्याण्डिल, साँचो सफा राख्नु पर्छ। प्रयोग अघि र पछि रसायनले डिस्इन्फेक्ट गर्नुपर्छ
    -यात्रा गर्दा दिर्घ रोगी, अशक्त लामो समयसम्म औषधी सेवन गरिरहेका व्यक्ति, गर्भवती, बालबालिका र वृद्धहरुको विशेष ख्याल राख्नु पर्छ
    -यात्रा गर्दा सकेसम्म खाने कुरा वा पेय पद्धार्थ नपिउने
    -यात्रु संख्या एक तिहाई देखि आधासम्म मात्र हुनु उपयुक्त हुन्छ
    -पैसाको लेनदेन गर्दा भएपछि स्यानेटाइजरको प्रयोग गरिसकेपछि साबुन पानीले हात धुनु पर्छ
    -आफ्नो पालो कुरेर बिस्तारै भौतिक दूरी कायम राखेर चढ्ने वा ओर्लिने गर्नु पर्दछ
    -भीडभाड कम हुने स्टेसनहरु मात्र प्रयोग गरौँ
    -सकेसम्म नजिकको दूरी निजी साधन वा हिँडेरै यात्रा तय गरौँ

कोरोना संक्रमणसँग जुध्ने एकमात्र उपाय यो नै हो भन्ने अहिलेसम्म कुनै पनि विज्ञहरुले भन्न सकेका छैनन् । औषधि र खोपको विकास भइनसकेको अवस्थामा स्वास्थ्य सुरक्षा र सावधानी अपनाउनु नै सबैभन्दा उत्तम उपाय हो ।

प्रतिक्रिया