उपत्यकामा व्यवसाय र होटलहरू पूर्ण रुपमा खुल्ने, जोरबिजोर कायमै

काठमाडौं । काठमाडौं उपत्यकामा व्यापार व्यवसाय र होटलहरू पूर्णरुपमा सञ्चालन गरिने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले यसअघि बारअनुसार पसल खोल्ने गरेको व्यवस्था हटाउँदै अब नियमितरुपमा व्यवसाय सञ्चालन गर्नदिने निर्णय गरको हो ।

बुधबारदेखि अर्को आदेश नभएसम्मका लागि बार अनुसार पसल खाेल्ने व्यवस्था हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मकालुखबरलाई जानकारी दिए ।

यसअघि भदौ २४ मा काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न दिने निर्णय भएको थियो ।

यस्तै प्रजिअ दाहालका अनुसार उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको छ । खुला स्थानमा भिडभाड गर्न भने निषेध गरिएको छ ।

यस्तै, प्रशासनले बुधबार जारी गरेको सूचनामा खुला स्थानमा मानिस जम्मा हुन, भिडभाड गर्न वा सभा, जुलुस गर्न, जात्रा, महोत्सव, भोज गर्न पनि निषेध गरिएको उल्लेख छ ।

मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालन गर्न, बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न पनि निषेध गरिएको छ ।

यसैगरी सबै प्रकारका सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्विमिङ पुल, जिमखानासहित भीड हुने क्षेत्रलाई पूर्ण रुपमा निषेध गरिएको छ ।

प्रतिक्रिया