मकालु खबर दिनभर : यी हुन्, आजका १० प्रमुख समाचारहरू

ओली–दाहालबीच भेटवार्ताः सचिवालय बैठक पेरिस डाँडामा बस्दै

नेकपा सचिवालय बैठक आउँदो शुक्रवार बस्ने भएको छ । प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा आज दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्ताको सहमतिअनुसार बैठक पेरिस डाँडामा आउँदो शुक्रवार बस्ने भएको हो ।

नेकपा सचिवालय बैठक पहिलो पटक पार्टी कार्यालय पेरिस डाँडामा बस्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मकालु खबरलाई जानकारी दिए । अध्यक्षद्वयबीच पार्टी एकताका बाँकी काम टुङ्गो लगाउने गरी छलफल भएको हो । पार्टी एकताको घोषणासँगै दुवै अध्यक्षको कार्यकक्ष पेरिस डाँडामा पनि रहे पनि त्यसपछि औपचारिक बैठकहरू बस्न सकेको थिएन ।

काँग्रेसको आरोप– ‘प्रधानमन्त्रीकै कारण संवैधानिक आयोग पदाधिकारीविहीन छ’

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संवैधानिक आयोगहरूमा पदाधिकारी नियुक्ति नहुनुमा प्रधानमन्त्री नै दोषी रहेको बताएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामहरूलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरूमा क्रियाशीलता बढाएको आरोप काँग्रेसको छ ।

लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदपूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले यसको अपजस प्रतिपक्षीलाई दिन नहुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको बताए ।  राम्रा कामहरूको जस सरकारले लिन खोज्नु स्वाभाविक भए पनि काममा ढिलासुस्ती, गर्न नसकेका र नगरेका कामहरूमा प्रतिपक्षीलाई दोषी देखाउने प्रवृत्ति प्रधानमन्त्री ओलीमा रहेको शर्माको भनाइ छ ।

आजको कोरोना अपडेटः ८ जनाको मृत्यु

नेपालमा कोरोना सङ्क्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या ३८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा थप १ हजार ५ सय ३९ जना नयाँ सङ्क्रमित थपिएका छन् । यसै गरी थप १ हजार ६८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

आज थपिएकामध्ये ७ सय ३७ जना भने काठमाडौँ उपत्यकाका रहेका छन् ।

काँग्रेस महामन्त्री कोइराला आइसियुमा, रेम्डिसिभियर औषधि चलाइयो

नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालालाई आइसीयूमा राखेर उपचार गरिएको छ । कोभिडको लक्षण देखिएका उनको ओम अस्पतालको आइसीयू कक्षमा राखी उपचार थालिएको उनका सहयोगी भरत तिवारीले बताए ।

अस्पताल भर्ना गरिएका कोइरालालाई रेम्डिसिभिर औषधि चलाएको अस्पताल स्रोतले जनाएको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए । भदौ २३ गते कोरोना सङ्क्रमणको पुष्टि भएका महामन्त्री अहिलेसम्म होम आइसोलेशनमा बसेका थिए ।

हिमाल आरोहण गर्न बहराइनका राजकुमार काठमाडौँ आइपुगे

बहराइनका राजकुमार हिमाल आरोहण गर्न काठमाडौँ आइपुगेका छन् ।

खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा उत्तरी गोरखाको मनास्लु हिमाल आरोहण गर्न राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली बुधवार काठमाडौँ आइपुगेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बहराइनका राजकुमार खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधवार बिहान ११ बजे काठमाडौँ अवतरण गरेको थियो ।

आरोहणको जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार, राजकुमार खलिफाको टोली ल्याएर आएको विमान एभ्रो विमान बुधवार नै बहराइन फर्किनेछ ।

डोटीमा कार्यरत ४० नेपाली सेनामा कोरोना सङ्क्रमण 

डोटीमा कार्यरत ४० नेपाली सेनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दिपायल सिलगढी नगरपालिका ४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा सङ्क्रमण देखिएको हो ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परीक्षणमा ४० नेपाली सेनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।

यसअघि पनि नेपाली सेनाका सोही ब्यारेकमा २१ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । सङ्क्रमित सबै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।

एसिडसम्बन्धी सरकारले १५ दिनभित्र कडा कानुन जारी गर्दै

सरकारले एसिड आक्रमणमा परेका पीडितलाई न्याय दिन १५ दिनभित्र नयाँ कानुन जारी गर्ने भएको छ । गत सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत् नयाँ कानुन ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

एसिड आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्षको भदौ २५ गतेलाई एसिड आक्रमणविरुद्धको जागरण दिवसको रूपमा मनाउने सरकारले निर्णय गरेको प्रवक्ताको भनाइ थियो । सरकारले एसिड आक्रमणमा परेका पीडितहरूको तत्काल सम्भव हुने उपचार नजिकैको अस्पताल वा स्वास्थ्य संस्थाबाट गर्ने र थप उपचारका लागि रेफर गरी पठाउने सरकारको निर्णय छ ।

सामान्य अङ्कले बढ्यो शेयर बजार, कारोबार कति

आज सेयर बजारमा सामान्य सुधार आएको छ । मङ्गलवार सामान्य अङ्कले घटेको नेप्से परिसूचक बुधवार ५.३६ अङ्कले बढेर १५४१.४० अंकमा पुगेको छ ।

जुन अघिल्लो दिनको तुलनामा ०.३५ प्रतिशतको वृद्धि हो । आज १ अर्व ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभरको बजारमा कूल एक सय ९४ कम्पनीको ६३ लाख ९० हजार ८३ कित्ता सेयर खरिद बिक्री भएको छ ।

पहिलो जितको खोजीमा पीएसजी

साबिकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा आज मेट्जसँग प्रतिस्पर्धा गर्दै छ । नयाँ सिजनको तेस्रो खेलको रूपमा पीएसजीले मेट्जसँग खेल्न लागेको हो । पीएसजी र मेट्जबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा मेट्जविरुद्ध मैदान उत्रँदा पीएसजी पहिलो जितको खोजीमा हुनेछ । यस्तै पीएसजी पहिलो अङ्क जोड्न चाहन्छ । नयाँ सिजन दुई खेल खेल्दा पीएसजीले अङ्क जोड्न सकेको छैन । पीएसजी अघिल्ला दुई खेलमा पराजित भएको थियो ।

योशिहिदे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा बुधवार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उनी प्रधानमन्त्री बन्ने पक्का भएको थियो ।

गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । ७१ वर्षका योशिहिदे यसअघिको मन्त्रीपरिषदमा मन्त्रीपरिषद् सचिवको भूमिकामा थिए ।

उनी आबेका नजिकका सहयोगी हुन् । उनले प्रधानमन्त्रीका रूपमा आबेका नीतिहरू अघि बढाउने सम्भावना रहेको जनाइएको छ । सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को बहुमत रहेको तल्लो सदनमा ४६२ मध्ये ३१४ मत सुगाले पाएका हुन् ।

प्रतिक्रिया