प्याजमा कालाेबजारी, एस. के. सप्लायर्स र चुली सगरमाथा ट्रेडर्स प्रहरी नियन्त्रणमा

काठमाडौं । बुधबार बिहान करीब साढे ६ बजे अनुगमनमा पुगेका महानगरको उपभोक्ता हित संरक्षण समितिका पदाधिकारीहरूले एस. के. सप्लायर्समा पुगेर प्याजको भाउ सोधे । व्यापारीले बिक्रीका लागि प्याज नभएको बताए । ‘भारतबाट प्याज आयात रोकियो । बेच्न छैन’, उनीहरु भन्दै थिए । व्यापारी सुनाउँदै थिए,  ‘हिजो हामीले होलसेलमा १०० रुपैयाँ र खुद्रामा ११० रुपैयाँमा प्याज बिक्री गरेका थियौँ ।’

अनुगमनका क्रममा बजारकै नदीतर्फको भागमा सञ्चालित मिट मार्टको छेउमा करीब २०० बोरा प्याज भण्डार गरिएको भेटियो । शुरुवातमा सामानको स्वामित्व कसैले लिएनन् । पछि सुनिल के. सी. को सामान भएको जानकारी भयो । सोधखोज गर्दै जाँदा थाहा भयो कि उनले चुली सगरमाथा ट्रेडर्स नामको होलसेलबाट यी सामान भण्डार गरेका रहेछन् ।

उता प्याज छैन भनिएको एस. के. ट्रेडर्स पनि उनकै नाममा दर्ता भएको फर्म रहेछ । दुवै फर्मका सञ्चालक एकै व्यक्ति भएको कागजपत्र भेट्टाएपछि थाहा भयो, उनले खुद्रा व्यापार गर्न एस. के. ट्रेडर्स र होलसेल व्यापारका लागि चुली सगरमाथा दर्ता गरेका रहेछन् । उनले हिजो ११० मा खुद्रा पसलबाट बिक्री गरेको भनेकाे प्याज भदौ ३० गतेको बिलमा ६८ रुपैयाँमा बिक्री गरेका थिए ।

बजारमा प्याज नभएको मौका पारेर भएको प्याज पनि नबेचेको, आफ्नै होलसेलबाट ६८ रुपैयाँमा खरिद गरेको प्याज खुद्राबाट ११० मा बेचेको एकिन भएपछि उनलाई स्थानीय प्रहरी, बजारका व्यवस्थापकको रोहवरमा मुचुल्का तयार पारेर प्रहरीलाई बुझाइएको छ । यस क्रममा के. सी. भन्दै थिए,  ‘गल्ती हो । तर एक्लैले कानुन पालना गर्छु भन्दा ग्राहकबिनाको एक्लो व्यापारी होइन्छ । मैले व्यवहारिक रुपमा यसो गरिन भने कसरी बचिन्छ र ?’

उनकाे कर्तुत बाहिरिएपछि बल्खु तरकारी बजारमा उनले सञ्चालन गरेकाे सञ्चालित एस के. सप्लायर्य र चुली सगरमाथा ट्रेडर्सलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको जिम्मा लगाइएको छ । एकै व्यक्तिले दुईवटा फर्म दर्ता गरेर होलसेल र खुद्रा व्यापार गरेको, उनकै होलसेलमा करीब २१९ बोरा प्याज हुँदाहुँदै खुद्रा पसलमा छैन भनेर बिक्री नगरेपछि उनलाई कालोबजारी गरेको आरोपमा आवश्यक कारवाही गर्न प्रहरीको जिम्मा लगाइएको हो ।

अहिले काठमाडौंको खुद्रा बजारमा प्याजको भाउ १५० रुपैयाँ सम्म पुगेको छ ।

अनुगमनका क्रममा बाफलबाट बल्खु आएकी खुद्रा व्यापारी रमिला महत अनुगमन समितिसँग सोध्दै थिइन्, ‘सर आज प्याज किन्न नपाइने हो ? व्यापारीहरुको प्याज छ तर अरुलाई बेचिसकेको भनेर हामीलाई बेच्न मान्दैनन् ।’

बजारमा प्याजको किन्न नपाउने उनी मात्र होइनन् । कीर्तिपुर, नयाँ दोबाटोबाट आएका अनिल बिष्ट पसल नं. १११ मा रहेकी व्यापारी सरोजा राणालाई देखाएर भन्दै थिइन्, ‘उहाँ दिदीकोमा प्याज छ तर, आफ्ना ग्राहकलाई मात्र बेच्ने भनेर मलाई बेच्नु नै हुन्न ।’ यो गुनासो गर्दागर्दै उनले कालोबजारी गर्नेलाई कारवाहीको माग गर्दै अनुगमन समितिलाई सम्बोधन गरेर निवेदन दिइन् । उनको आरोप सुनेपछि व्यापारी सरोजा भन्दै थिइन्, ‘मैले नियमित सामान दिने गरेका ग्राहकलाई राखिदिएन भने उनीहरु मेरामा सामान किन्न आउँदैनन् । मैले त अरु दिन पनि त व्यापार गर्नु परो नि !’

उनी प्रतिकिलो १०० रुपैयाँमा प्याज बिक्री गर्दै थिइन् । 

त्यसपछि अनुगमन समिति प्याज आयात मूल्यको जाँच गर्न कलंकीबाट थानकोट जाने सडक खण्ड ढुङ्गे अड्डा पुग्यो । करीब ४५ मिनेट त्यहाँ रहँदा प्याज बोकेका कुनै पनि ढुवानीका साधन भेटिएनन् ।

त्यसपछि टोली कालीमाटी तरकारी बजार आयो । बजारले आज प्याजको भाउ ११७ देखि १२० सम्म भएको सूची सार्वजनिक गरेको छ । यो सूची देखाएर व्यापारीहरु कालीमाटीले बेच्न पाउने हामीले किन नपाउने भनेर प्रश्न गरिरहेका छन् ।

‘बजारमा देखिएको यो अव्यवस्थालाई पूर्ण निगरानी गर्छौँ,’ अनुगमनपछिको प्रतिक्रियामा समितिकी संयोजक एवं महानगरकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले भनिन्, ‘आयातमा कम भएको हुन सक्छ तर त्यही निहुँमा बजारमा भाउ बढ्ने अवस्था होइन । मौकाको फाइदा उठाउनेहरुमाथि हाम्रो निगरानी निरन्तर रहन्छ ।’

आजको अनगुमनमा महानगरको पशु सेवा विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रतिनिधि सहभागी थिए । ‘

प्रतिक्रिया