सौराहामा कोरोना प्रभाव : धमाधम बेचिँदै हात्ती, भाडाका फिर्ता गरिँदै

• ध्रुवराज खनाल

चितवन । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहाको आम्दानीको श्रोत हात्ती सफारी पनि हो । कोरोना भाइरस संक्रमणका कारण चैतदेखि हात्ती बेकामका भएका छन् ।

हात्ती पाल्न मासिक एक लाखसम्म खर्च लाग्ने व्यवसायीहरु बताउँछन् । आम्दानीको बाटोनै नभएपछि एकोहोरो खर्च मात्र हुँदा हात्तीधनीहरु तनावमा छन् । कोरोना संक्रमण कहिलेसम्म जारी रहन्छ अहिले भन्न सक्ने अवस्था छैन ।

आम्दानी एक पैसा नहुने तर खर्च मात्र भएपछि व्यवसायीहरुले हात्ती बिक्री गर्न थालेका छन् भने भाडाका हात्ती धमाधम फिर्ता हुन थालेका छन् ।

पर्यटकलाई जंगल सयर गराउने हात्तीहरु बेच्ने र भाडामा ल्याएका हात्तीहरु फिर्ता गर्न थालेपछि चितवनको सफारी पर्यटनमा ठूलो धक्का लाग्ने देखिएको छ ।

आम्दानीको श्रोत नभएर हात्ती पाल्न मुस्किल भएपछि व्यवसायीहरुले हात्ती बेच्न सुरु गरेको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले बताए ।

उनका अनुसार अहिलेसम्म तीन वटा हात्ती बिक्री भइसकेको छ । सौराहामा भाडामा ल्याएका पाँच वटा हात्ती छन् । त्यसमध्ये २ वटा हात्ती फिर्ता गरिसकेको छ भने ३ वटा फिर्ताको प्रक्रियामा रहेको सहकारीका अध्यक्ष तिवारीले जानकारी दिए ।

यहाँका थप १० वटा हात्ती बिदेशी संस्थालाइ भाडामा दिइएको छ । सौराहामै रहेको एक संस्थाले भाडामा हात्ती लिएको हो । ती हात्तीहरु सफारिका लागि प्रयोग गरिँछैन ।

सौराहामा निजी स्तरमा ६७ वटा हात्ती सञ्चालनमा छन् । तर युनाइटेड हात्ती संचालन सहकारीमा भने ५५ वटा मात्र आवद्ध छन् । एउटा हात्तीबाट खर्च कटाएर सामान्यतया मासिक ६० हजार रुपैयाँ आम्दानी हुन्छ ।

हात्तीलाई दैनिक २० किलो धान, १८० मुठा पराल, २५० लिटर पानी, घाँस, पिपल, भेली, नुन आवश्यक पर्छ भने माउतेलाइ मासिक १५ हजार सम्म तलब दिइँदै आएको सहकारीका अध्यक्ष तिवारीले बताए ।

हात्ती सफारीबापत् नेपालीलाई प्रतिव्यक्ति १ हजार २ सय, सार्क राष्ट्रका पर्यटकलाइ प्रतिव्यक्ति १ हजार ७५० र विदेशी पर्यटकलाइ प्रतिव्यक्ति २ हजार २५० रुपैयाँ लिने गरिएको छ ।

हात्ती सफारी भएको बेला एउटा हात्तीले दिनमा तीन टिप गर्छ । सौराहा सफारी पर्यटनकोे हिसाबले विश्वमै परिचित छ । हात्ती चढेर निकुञ्ज घुम्नकै लागि देश विदेशबाट यहाँ पर्यटक आउने गरेका छन् ।

चितवनको पर्यटनको अभिन्न अंगको रुपमा स्थापित हात्ती पाल्न अहिले व्यवसायीहरुलाई मुस्किल हुन थालेको भन्दै सहकारीका अध्यक्ष तिवारी अवस्था सहज नहुन्जेल सरकारले निजि हात्ती लिनु पर्ने बताउँछन् ।

‘सरकारलाई पनि हात्ती आवश्यक छ, व्यवसायीले पनि पाल्न सक्ने अवस्था छैन ।’ उनले भने, ‘तत्काल सरकारले हात्ती लिएदेखि राहत पुग्ने थियो, नत्र सौराहामा हात्ती रहँदैन ।’

प्रतिक्रिया