हवाई सेवा र यातायात खुल्दा कस्तो सावधानी आवश्यक ?

काठमाडौं । काठमाडौं उपत्यकासहित अधिकांश क्षेत्रमा निषेधाज्ञा खुकलो भएसँगै नागरिकको दैनिकी चलायमान भएको देखिन्छ । तर कोरोना संक्रमणको दर र जोखिम भने अझै कम भइसकेको छैन, झन् बढ्दैछ । स्वास्थ्य सावधानीको दायित्व पनि अब नागरिककै काँधमा छ ।

कोरोना संक्रमण दर नघटिरहेको बेला सरकारले लामो समयपछि आन्तरिक हवाई उडान तथा सार्वजनिक यातायात भोलिदेखि खोल्ने निर्णय गरेको छ । त्यसैमाथि अब दशैं–तिहार लगायत चाडवाड समय नजिकिदैछ । यो बेला उडान र सार्वजनिक यातायात खोल्दा मानिसको भीडभाड बढ्ने देखिन्छ । मानिसको चहलपहल बढ्दा कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढेर जान्छ, यी जोखिमलाई मध्यजनर गर्दै अब नागरिक आफैले पर्याप्त स्वास्थ्य सुरक्षाको उपायहरु अपनाउनुको विकल्प छैन ।

कुरा गरौं हवाई यात्राको- कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले सुरक्षात्मक कार्यविधि गत भदौ ७ गते तयार पारिसकेको छ । कर्मचारी, सेवाग्राही, सवारीसाधन, चिट्ठीपत्र र फाइल, चमेना गृहलगायतलाई व्यवस्थित गर्न कार्यविधि बनाइएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

  • कस्तो सावधानी आवश्यक ?
    कार्यविधिले स्वास्थ्यको सुरक्षाका लागि यसो गर्न भनेको छ :-
    -सेवाग्राही तथा कर्मचारीले सुरक्षित मास्क अनिवार्य रूपमा लगाएर मात्र विमानस्थल तथा कार्यालय प्रवेश गर्ने
    -सेवाग्राही तथा यात्रुलाई प्रवेशद्वारमै तापक्रम जाँचेर र हातमा स्यानिटाइजर लगाएर मात्र प्रवेश गराउने
    -लागि खाजा-पानीको व्यवस्था आफै मिलाउने
    -एक व्यक्तिदेखि अर्को व्यक्तिको दूरी कम्तीमा दुई मिटर राख्ने
    -खोक्दा तथा हाच्छिउँ गर्दा अर्कालाई असर नगरोस् भनेर सावधानी अपनाउने
    -रुघाखोकी लागेका, घाँटी दुख्ने, जीउ दुख्ने, ज्वरो आउने समस्या भएका व्यक्तिलाई प्रवेश नगराउने
    -यात्रुको ट्र्याकिङका लागि सम्पूर्ण विवरणसहित काउन्टरमा फर्म भराउने
    -आफ्ना लागि चाहिने लेख्ने कलमलगायत सम्पूर्ण सामान आफै लिएर विमानस्थल जाने
    -विमान चढ्न उडान हुनुभन्दा डेढ घण्टाअघि विमानस्थल पुग्ने

अब कुरा सार्वजनिक यातायातको- उपत्यकामा जोरबिजोर लागू गरेर यातायात सञ्चालन भइरहेको छ । अब भोलिदेखि लामो दूरीको सार्वजनिक यातायातका पनि खुल्दैछ । यसले उच्च दरमा वृद्धि भइरहेको कोरोना संक्रमणको वृद्धिको जोखिम अझ बढ्ने चिन्ता थपिएको छ । तसर्थ यातायातका साधन चढ्दा वा प्रयोग गर्दा उच्च सावधानी अपनाउनु जरुरी छ ।

  • यी सावधानी अपना‍औं
    -सामाजिक दूरी कायम गरौँ
    -स्वास्थ्यकर्मीले सेवामा जाँदा अनिवार्य रुपमा एन ९५ मास्क प्रयोग गर्ने, अन्यले यस्ता मास्क उपलब्ध नभए सर्जिकल वा कपडाको मास्क प्रयोग गर्ने
    -कोरोनासँग सम्बन्धित लक्षण भएका व्यक्तिले अनिवार्य रुपमा मास्क प्रयोग गर्नु पर्दछ । यस्ता व्यक्तिले सकेसम्म सार्वजनिक यातायात प्रयोग गर्नु हुँदैन
    -सँगै यात्रा गरी रहेका अन्य साथीसँग सामान, रुमाल मोवाइल आदि शेयर नगर्ने
    -आफ्ना साधनका स्टेयरिङ्ग, ह्याण्डिल, साँचो सफा राख्नु पर्छ। प्रयोग अघि र पछि रसायनले डिस्इन्फेक्ट गर्नुपर्छ
    -यात्रा गर्दा दिर्घ रोगी, अशक्त लामो समयसम्म औषधी सेवन गरिरहेका व्यक्ति, गर्भवती, बालबालिका र वृद्धहरुको विशेष ख्याल राख्नु पर्छ
    -यात्रा गर्दा सकेसम्म खाने कुरा वा पेय पद्धार्थ नपिउने
    -यात्रु संख्या एक तिहाई देखि आधासम्म मात्र हुनु उपयुक्त हुन्छ
    -पैसाको लेनदेन गर्दा भएपछि स्यानेटाइजरको प्रयोग गरिसकेपछि साबुन पानीले हात धुनु पर्छ
    -आफ्नो पालो कुरेर बिस्तारै भौतिक दूरी कायम राखेर चढ्ने वा ओर्लिने गर्नु पर्दछ
    -भीडभाड कम हुने स्टेसनहरु मात्र प्रयोग गरौँ
    -सकेसम्म नजिकको दूरी निजी साधन वा हिँडेरै यात्रा तय गरौँ

कोरोना संक्रमणसँग जुध्ने एकमात्र उपाय यो नै हो भन्ने अहिलेसम्म कुनै पनि विज्ञहरुले भन्न सकेका छैनन् । औषधि र खोपको विकास भइनसकेको अवस्थामा स्वास्थ्य सुरक्षा र सावधानी अपनाउनु नै सबैभन्दा उत्तम उपाय हो ।

प्रतिक्रिया