मकालु खबर दिनभर : आजका १० प्रमुख खबरहरू(भिडियोसहित)

१८ घण्टे लोडसेडिङ हटाउने कुलमान बिदा, अब आउने निर्देशकले थाम्लान् उनको विरासत ?

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिदा भएका छन् । उनलाई आज प्राधिकरणका कर्मचारीले औपचारिक रूपमा विदाई गरेका हुन् ।

प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा कुलमानको आइतबार ४ वर्षे कार्यकाल सकिएको थियो । गत २८ गते बसेको मन्त्रिपरिषद् बैठकमा उनको नियुक्तिको बारेमा निर्णय हुने भनिए पनि यसबारे कुनै निर्णय भएन । ऊर्जामन्त्री वर्षमान पुनले भने उनलाई पुनः नियुक्तिका लागि बालुवाटार प्रस्ताव पुर्‍याइसकेको बताएका छन् ।

मङ्गलवार थप १०६२ जना डिस्चार्ज हुँदा १४५९ जनामा सङ्क्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ हजार ७८८ पुगेको छ । काठमाडौँ उपत्यकामा मात्रै आज ६७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै आज १ हजार ६२ जना डिस्चार्ज भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४० हजार ६३८ पुगेको छ । कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३७१ पुगेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीलाई सरकार प्रवक्ताको जिम्मेवारी
सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि प्रवक्ताको जिम्मेवारी मन्त्री ज्ञवालीलाई दिएका हुन् । उनलाई सोमबार प्रधानमन्त्री ओलीले प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघि अर्थ मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका मन्त्री युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएर बाहिरिएपछि तीनै ठाउँ खाली रहेको थियो । मन्त्री ज्ञवालीले सञ्चार मन्त्रालयको जिम्मेवारी यसअघि पनि सम्हालिसकेका छन् ।

यस्तो छ नेकपाको अन्तरपार्टी निर्देशन – ५
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अन्तरपार्टी निर्देशन– ५ जारी गरेको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार अन्तरपार्टी निर्देशन– ५ जारी गरेका हुन् । यही भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले गरेका निर्णयको आधारमा अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको हो । पार्टीभित्रका विवाद समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदनलाई पार्टी स्थायी कमिटी बैठकले सुझावसहित पारित गरेको आधारमा अन्तरपार्टी निर्देशन– ५ जारी गरिएको हो । अन्तरपार्टी निर्देशनमा पार्टीलाई जीवन्त बनाउने कुरा समेटिएका छन् । अन्तरपार्टी निर्देशन– ५ मा १६ बुँदे निर्देशन रहेका छन् ।

प्रचण्डको सम्झनामा ‘बोगटी’
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा नेता पोष्टबहादुर बोगटीलाई सम्झिएका छन् ।
पार्टी मुख्यालय धुम्बाराहीमा तस्वीरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पूर्व सहकर्मी बोगटीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । बोगटीको स्मृतिमा बृहत् कार्यक्रम राख्ने गरिएकोमा यस पटक कोरोना महामारीका कारण भिडभाड नगरी कार्यक्रम गरिएको हो । पूर्व माओवादी नेतासमेत रहेका बोगटीको २०७१ भदौ ३० गते हृदयाघातबाट निधन भएको थियो ।

भारतद्वारा दुई हजार थान रेमेडिसिभर प्रदान
भारत सरकारले नेपाल सरकारलाई गम्भीर अवस्थाका कोरोना सङ्क्रमितको उपचारका निम्ति आवश्यक पर्ने ‘रेमेडिसिभर’ प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज दुई हजार थान रेमेडिसिभर उपहारस्वरूप हस्तान्तरण गरेका हुन् । कोभिड १९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामान गर्न भारत सरकारले रेमेडिसिभर उपलब्ध गराएकामा भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै मन्त्री ज्ञवालीले उक्त महामारीबाट भारत स्वयं प्रभावित भएको अवस्थामा सहयोग प्राप्त हुनु दुई देशबीच भरपर्दो मैत्रीको प्रतीक भएको बताए ।

शैक्षिक सत्र आगामी चैतमै सकिन्छ : पाठ्यक्रम विकास केन्द्र
पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्र आगामी चैतमै समाप्त हुने बताएको छ । कोरोना भाइरस लक्षित निषेधाज्ञा र लकडाउनले पढाई प्रभावित भएकाले शैक्षिक सत्र सार्नुपर्ने विषयमा छलफल भइरहेका बेला केन्द्रले यस्तो बताएको हो ।
मङ्गलवार आयोजित भर्चुअल कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले शैक्षिक सत्र सुरु र अन्त्य हुने मिति यथावत् रहेको बताए । उनले पढाइ हुन नसके पनि शैक्षिक सत्र गत वैशाख १ गतेबाटै सुरु भएको मानिने बताएका हुन् । नेपालका पाँच वटा हिमाली जिल्लामा फागुन १ गतेबाट र बाँकी सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ ।

सामान्य अङ्कले घट्यो शेयर बजार, आज कारोबार कति ?
आज सेयर बजार सामान्य अङ्कले घटेको छ । कारोबार सुरु भएदेखि उतारचढाव देखिएको बजारमा अन्ततः नेप्से परिसूचक १.६५ अङ्कले घटेर १५३८.८५ अङ्कमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.११ प्रतिशतले घटेको हो । बजारमा कूल १९० कम्पनीको ४२ लाख ९५ हजार ३ सय २८ कित्ता सेयर एक अर्व ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ । मङ्गलवार तीन समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । जीवन, निर्जीवन र म्युचअल फण्ड उकालो लागेको छ । भने बाँकी ओरालो लागेका छन् ।

आईपीएलका लागि युएई पुगे सन्दीप
नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न सोमबार राति युएई पुगेका छन् । भर्खरै मात्र वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप युएई पुगेका हुन् । युएई पुगेपछि सन्दीप सेल्फ क्वारेन्टिनमा बसेका छन् । यो सिजनको आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदै छ ।

अफगानिस्तानमा बम विस्फोट गरी पाँच सैनिकको हत्या
अफगानिस्तानमा बम विस्फोट गरी पाँच अफगानी सैनिकको हत्या गरिएको छ । जिल्लामा सोमबार अपराह्न सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकका हत्या गरिएको हो । प्राप्त समाचारअनुसार उक्त जिल्लाको एक राजमार्गमा लुकाई छिपाई राखिएको बम सेनाको सवारीमा नजिक पुगेपछि विस्फोट भएको थियो । त्यस विस्फोटमा परी सुरक्षा गस्तीमा हिँडेको अफगान सेनाको सवारीमा रहेका पाँच जना सैनिकको ज्यान गएको र त्यसमा रहेका अरू केही घाइते भएका सोमबार प्राप्त भएको समाचारमा जनाइएको छ । सोही स्थानमा केही दिनमत्र अघि सडकमा नै यसै गरी राखिएको बम विस्फोट हुँदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको थियो ।

प्रतिक्रिया