सपना फुड बैंकमार्फत् १७ विपन्न परिवारलाई राहत

चितवन । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले सपना फुड बैंक मार्फत् रत्ननगर नगरपालिका वडा नं. ७ का अति विपन्न १७ घर परिवारलाई राहत वितरण गरिएको छ ।

लकडाउन र निषेधाज्ञाका कारण बिहान बेलुकाको गर्जो टार्न नसकेका विपन्न परिवारलाई राहत वितरण गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । सपना भिलेजमै सामाजिक दुरी कायम गरी राहत वितरण गरिएको गिरीले बताए ।

१७ परिवारलाई प्रतिपरिवार २० किलो चामल प्रदान गरिएको छ । वडा कार्यालयको लिखित आग्रहका आधारमा सपना फुड बैंक मार्फत थप १७ परिवार राहत प्रदान गरिएको हो । एक हस्ताअघि सपना भिलेजले सीमान्तकृत मुसहर समुदायका ४१ घर परिवारलाई राहत प्रदान गरेको थियो । इम्प्याक्टले सपना बैंक मार्फत् लकडाउन सुरु भएपछि करिब १२ लाख रुपैयाँ बराबरको राहत वितरण गरिसकेको छ ।

फुड बैंक मार्फत स्थानीय सरकारको आग्रहमा समस्यामा परेका समुदायलाई तुरुन्तै राहत प्रदान गरिँदै आएको अध्यक्ष गिरीले बताए । रत्ननगर, खैरहनी र इच्छाकामनाका विपन्न परिवारलाई राहत, मास्क तथा स्वास्थ्यकर्मीहरुलाई मास्क लगायतका सहयोग गरिएको छ । ‘कोरोना नियन्त्रणमा हामी स्थानीय सरकारलाई सहयोग गर्न चाहान्छौँ । सोही अनुसार नै राहत तथा स्वास्थ्य सामाग्री वितरण गरिरहेका छाैँ’, उनले भने ।

प्रतिक्रिया