संक्रमणको झन् डरलाग्दो चरण आउँदैछ, कति छन् गम्भीर बिरामी ?

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमको दर बढिरहेको छ । भदौंयता उकालो लागेको संक्रमणबाट गम्भीर बिरामी हुनेको संख्या पनि बढ्दा चिन्ता थपिदै गएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै २५ प्रतिशतमा गम्भीर लक्षण देखिएको छ । यसैगरी अन्य क्षेत्रमा १ प्रतिशत लक्षणसहितका संक्रमित देखिएका हुन् । उसो त दुई महिनाअघिसम्म लक्षणयुक्त संक्रमितकोको सङ्ख्या देशभरि १ प्रतिशत पनि थिएन । साउन पहिनाको पहिलो सातासम्म ९९.७ प्रतिशत संत्रमित मानिसमा कुनै लक्षण देखिएको थिएन ।

तर त्यसपछि क्रमशः त्यो संख्या बढिरहेको र विशेष उपचार आवश्यक बिरामीको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको हो । भदौं २९ सम्ममा नेपालभर २६ प्रतिशत बिरामीमा गम्भीर लक्षण देखिएको छ । अधिकांश सङ्क्रमितहरू २१ देखि ४० वर्ष सम्मका भए पनि बालबालिका र वृद्धवृद्धामा पनि सङ्क्रमण देखिएको हो ।

समग्रमा हेर्दा बाहिरका जिल्लाहरूमा १ प्रतिशत उपत्यकामा २५ प्रतिशत संक्रमितमा लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए । दैनिक थपिने संक्रमितमध्ये आधाजति उपत्यकाका तीन जिल्लामा हुने उनी बताउँछन् । केही समययता उपत्यकामा दैनिक ५०० को हाराहारीमा नयाँ सङ्क्रमित फेला पर्ने गरेका छन् ।

कति छन् गम्भीर बिरामी ?
गम्भीर खालको लक्षण भएका र सघन उपचारकक्षमा राखेर उपचार गर्नुपर्ने सङ्क्रमितको संख्या बढदै जाँदा अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । आइतबारसम्म १६९ जना संक्रमिततलाई आईसीयूमा र २३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सोमबार थप १,१७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५५ हजार नाघेको छ । तीमध्ये ३९५७६ जना निको भइसकेका छन् ।अहिलेसम्म ३६० जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

झन् डरलाग्दो चरण आउँदैछ !
होम आइसोलेसनमा बसिरहेका संक्रमितबाट समुदायमा जोखिम बढेको र अब समुदाय नै यसविरुद्ध लड्ने तयारीमा जुट्नुपर्ने विज्ञको सुझाव छ । कोरोनाको संक्रमण समुदायस्तरमा नै फैलिएको संकेत देखिन थालिसकेको धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम प्रमुख डा. विराज कर्माचार्य बताउँछन् ।

स्थानीय स्तरमा र युवा समूहमा संक्रमण धेरै देखिन थालेकाले जोखिम बढेको उनको तर्क छ । ‘शुरुमा विदेशबाट फर्केका संक्रमित लक्षणविनाका थिए, अहिले स्थानीय स्तरमा लक्षणसहितका संक्रमित धेरै भेटिन थालेका छन्,’ उनले भने- ‘यो अवस्थालाई हेर्दा हामीकहाँ कोरोना संक्रमणको अर्को चरण शुरु भइसकेको देखिन्छ । यो हेर्दा अझै खतरनाक अर्को चरण आउन बाँकी नै छ ।’

अब सरकार र समुदायस्तर दुवै तहमा आवश्यक तयारी गरिएन भने अधिकांश दीर्घरोगीलाई संक्रमण हुनसक्ने र उनीहरुमध्ये धेरैको ज्यान जासक्ने खतरा देखिन थालेको डा. कर्माचार्यले बताए ।

प्रतिक्रिया