मेसी बने विश्वको धेरै कमाउने फुटबलर, को छन् दोस्रोमा ?

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सी सन् २०२० मा सर्वाधिक आम्दानी गर्ने फुटबलर बनेका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।

मेसीको कुल कमाई १२६ मिलियन अमेरिकी डलर रहेको छ । जसमा ९२ मिलियन डलर पारिश्रमिक रहेको छ भने विभिन्न ब्रान्डको प्रचार गरे बापत ३४ मिलियन डलर कमाएका छन् ।

त्यस्तै दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको कमाई ११७ मिलियन अमेरिकी डलर रहेको फोर्ब्सले उल्लेख गरेको छ । जसमा ७० मिलियन डलर पारिश्रमिक रहेको छ भने ४७ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरे बापत कमाएका छन् ।

फोर्ब्सको यस सूचिको तेस्रो स्थानमा ब्राजिलका नेइमार रहेका छन् । नेइमारले बार्षिक ९६ मिलियन डलर कमाएका छन् । जसमा ७८ मिलियन डलर पारिश्रमिक रहेको छ भने १८ मिलियन डलर विभिन्न ब्रान्डको प्रचार गरेबापतको कमाई रहेको छ ।

त्यस्तै चौथो स्थानमा फ्रान्सका किलियन एम्बाप्पे रहेका छन् । उनले बार्षिक ४२ मिलियन डलर कमाएका छन्, जसमा २८ मिलियन पारिश्रमिक छ भने १४ मिलियन ब्रान्डको प्रचारबाट कमाएका छन् ।

यस सुचीको पाँचौ स्थानमा लिभरपुलका मोहमद सलाह रहेका छन् । सलाहले बार्षिक ३७ मिलियन डलर कमाएका छन्, जसमा २४ मिलियन डलर पारिश्रमिक छ भने १३ मिलियन डलर ब्राण्डको प्रचार गरे बापत कमाएका छन् ।

यस्तै छैटौँ स्थानका म्यानचेस्टर युनाइटेडका पउल पोग्बाको ३४ मिलियन र सातौँ स्थानका बार्सिलोनाका एन्टोनी ग्रिजम्यानको ३३ मिलियन आय छ ।

आठौं स्थानमा रहेका रियल मड्रिडका ग्यारेथ बेलको २९ मिलियन, नवौँ स्थानका बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्कीको २८ मिलियन र दशौँ स्थानका म्यानचेस्टर युनाइटेडका डेविड डी जियाको २७ मिलियन डलर वार्षिक आय रहेको फोर्ब्सले जनाएको छ ।

प्रतिक्रिया