विदेशमा अलपत्र श्रमिकलाई सहयोग गर्नुपर्नेमा उल्टो सास्ती ?- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता गगन थापाले विदेशमा अलपत्र श्रमिकहरूको राहत, उद्धार तथा घरफिर्तीका लागि सरकारले गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार बेलुकी आफ्नो फेसबुक पेजमा भिडियो सन्देश जारी गर्दै सरकारलाई श्रमिकको राहत, उद्धार तथा घरफिर्तीका लागि गम्भीर हुन उनले ध्यानाकर्षण गराए ।

नेता थापाले विदेशमा अलपत्र श्रमिकलाई सरकारले सहयोग गर्नुपर्नेमा उल्टो झन् सास्ती ? दिइरहेको भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीज्यू नेपाल वायु सेवा निगमकै अहिले उडानको भाडा, कोरोना सङ्क्रमणको अवस्थाभन्दा पहिलाको भाडाको त कुरै छाडौँ, निगमकै चार्टर फ्लाइटको भाडाभन्दा अचाक्ली बढी ! विदेशमा रहेका श्रमिक सङ्कटमा हुँदा सरकारले सम्भव भएसम्म सहयोग गर्नुपर्नेमा उल्टो झन् सास्ती ?”

विदेशबाट घर फर्किने श्रमिकका लागि सरकारले निर्धारण गरेको हवाई भाडादर अत्यन्तै चर्को भएको भन्दै भाडादर घटाउनुपर्ने उनले बताए ।

उनले भने, “श्रमिकहरुले पाएको दुःख, उनीहरुमाथि भएको शोषणको सूची लामो छ, यही भएर नै श्रमिकहरूको आक्रोश चुलिएको, यही भएर नै अनेकन देशहरूमा श्रमिकहरूको आक्रोश सडकमा पोखिन थालेको ।’

यस्तै सरकारले श्रमिकहरूको यस्तो मनोदशा बुझेर, आफ्ना गल्तीहरू सच्याएर, नयाँ ढङ्गले काम गर्न प्रारम्भ गरेमा भने स्थिति नियन्त्रणमा आउन उनको भनाइ छ । उनले वृद्धि गरिएको हवाई भाडादर बारे बाल्दै भने,‘होइन भने स्थिति हातभन्दा बाहिर जान्छ । यस्तो अवस्था नआओस् भन्ने हामी चाहन्छौँ । त्यसैले श्रमिकहरूको राहत, उद्धार तथा उनीहरूको घरफिर्तीका सम्बन्धमा केही विषयहरूमा गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

पर्यटन मन्त्री योगेश भट्टराईलाई उडानको सङ्ख्या बढाउने मात्रै नभएर कार्य योजना बनाउन समेत सुझाव उनको सुझाव रहेको छ । उनले भने, ‘केही दिनअगाडि पर्यटनमन्त्रीले भन्नुभयो सम्माननीय प्रधानमन्त्री, उपप्रधानमन्त्रीसँग बसेर हामीले निधो गरेको छौँ, अब हामी उडानको सङ्ख्या बढाउँछौँ, उडानको सङ्ख्या बढाउने मात्र होइन, कार्ययोजना बनाउनुस्, कुन देशमा कहिले कति वटा उडान जान्छ ? प्रत्येक श्रमिकले अगाडि नै जानकारी पाओस् कि मेरो घर फिर्ता जाने दिन यो दिन पर्छ, तिथिमिति थाहा पाओस् । सजिलोसँग उसले घर फिर्ता आउने अवस्था बनोस् । यो निर्णय कागजमामात्र सीमित नहोस् ।’

 

प्रतिक्रिया