कार्यकाल सकिन लाग्दा राप्तीमा प्रवक्ता चयन

चितवन । चितवनको राप्ती नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएको तीन वर्षभन्दा बढी समयपछि प्रवक्ता ताेकिएकाे छ । निर्वाचित जनप्रतिनिधिको समयावधि सकिन अब २ वर्ष पनि छैन । समयावधि सकिन लाग्दै गर्दा राप्ती नगरपालिकाको प्रवक्तामा वडा नम्बर १० का अध्यक्ष अम्मर बहादुर तामाङलाई जिम्मेवारी तोकिएको हो ।

आइतबार बसेको नगर कार्यपालिकाको बैठकले तामाङलाई प्रवक्ता तोकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले जानकारी दिए । तामाङ तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

राप्तीमा वडा नम्बर ९ र १२ मा मात्र नेपाली कांग्रेसले जितेको थियो । राजनीतिका कारण प्रबक्ता तोक्न ढिलाइ भएको बताइन्छ । यता नेकपा राप्ती नगर अध्यक्ष समेत रहेका नगरपालिका उपप्रमुख इमानसिंह लामाले यो विषयमा कुनै राजनीति नभएको दाबी गर्छन् ।

नगरपालिका र कार्यपालिका बैठकको जानकारी नगरबासीलाई सूचना प्रवाह गर्न प्रवक्ता तोकिन्छ । कार्यपालिका बैठकले दररेट पारित गर्नुका साथै विभिन्न निर्णय गरेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भुजेलले जानकारी दिए ।

प्रतिक्रिया