राष्ट्रिय बाल दिवस, डिजिटलाइज् जमाना र बालबालिका

विराटनगर । नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्षको भदौ २९ (आजकै दिन) गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय बालअधिकार परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन, २०७६’ ले मुलुकमा बालश्रम, बालविवाह, बालबालिकाविरुद्ध हुने अमानवीय यौन हिंसा, दुर्व्यवहार गैह्रकानूनी ओसार-पसारजस्ता बालअधिकारविरुद्धका समस्या निराकरण गरी अनाथ, असहाय, सडक बालबालिकाको संरक्षणका साथै विद्यालय शिक्षामा सिकाइ उपलब्धि तथा पोषण र विद्युतीकरण आदि सुधार हुनुपर्ने सुझाव दिएको छ ।

नेपालले यसरी राष्ट्रिय बाल दिवस मनाएको आज २९/३० वर्ष बितिसकेको छ । नेपालले बालबालिकाको क्षेत्रमा धेरै प्रयासहरु पनि गरेको देखिन्छ । यद्यपि पनि बालबालिकाको स्तर र अवस्थामा भने खासै सुधार नभएको कतिपय सरोकारवालाहरुले बताउँदै आएका छन् ।

त्यसो त कतिपय बालबालिकाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले अभिभावकहरु पनि उतिकै नै जिम्मेवार हुनुपर्ने बताउँछन् । विज्ञान प्रविधिले गर्दा समय डिजिटलाइज हुँदै गएका छन् । यसको प्रत्यक्ष असर बालबालिकामा समेत परेको कतिपय बालमनोवैज्ञानिकहरु बताउँदै आएका छन् ।

एन्ड्रोइड् मोबाइल, टिभि रिमोट, ल्यापटपसँगै अन्य विद्युतीय सामग्रीहरु आजभोलि बालबालिकाको हातमा थमाइएकै हुन्छ ।
कारण, यो पनि होकि–उनीहरुलाई सिर्फ भुल्याउनु छ । त्यसो त उनीहरु पनि यसैमा रमाउँछन् ।

हालकै कुरा गर्ने हो भने कोरोना भाइरस महामारीको कारण हाल सबै शैक्षिक संस्थाहरु बन्द छन् । बालबालिकाहरु फुर्सदिला भएका छन् । अधिकांश बच्चाहरुको हातहातमा एन्ड्रोइड् मोबाइल या टिभिको रिमोट हुन्छ ।

पछिल्लो समय धेरैजसो बालबालिकाको ‘मोबाइल गेम’मा खेल्ने लत बसेको छ भने कतिको कार्टुन हेर्ने लत बसेको छ । अधिकांश अभिभावकका लागि बालबालिकालाई भुलाउने गतिलो माध्यम बनेको छ ।

आफू पनि मोबाइलमा व्यस्त रहने र बच्चालाई पनि मोबाइल खेलाउन दिने धेरै अभिभावकहरु छन् । जसले गर्दा धेरैजसो बालकालिकाहरु मोबाइलबिना खाना खान नमान्ने, सुत्न नमान्ने जस्ता क्रियाकलापहरु गर्ने गरेको पाइन्छ । मोबाइल र टिभिमा लत बसेका बालबालिकाले बाहिरी विविध गतिविधिमा घुलमिल हुन रुचाउँदैनन् ।

अभिभावकको प्रश्न–‘लत कसरी छुट्याउने ?’ 
पछिल्लो समयका अधिकांश अभिभावकहरु सोध्ने गर्छन्–‘बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने ? बच्चा मोबाइल नहेरी खाना खान मान्दैनन् के गर्ने होला ?’

बुढीगंगा १ की इन्दिरा कोइरालाको पनि उही गुनासो छ, ‘बच्चालाई मोबाइलबाट कसरी टाढा राख्ने होला ? इन्दिराको ७ वर्षीय छोरा छन् । बच्चा सानो छँदा आफू कार्यालय पनि जानुपर्ने भएकाले घरधन्दा भ्याउनुपर्ने अवस्था हुँदा बच्चालाई मोबाइल खेलाउन दिएर भुलाउँदा पछिल्लो समय बच्चाको मोबाइल खेलाउने आदत नै बसेको उनले बताइन् ।

उनी भन्छिन्,–‘कोरोना महामारीले गर्दा स्कूल सबै बन्द छ, केटाकेटी भुलाउने नै मोबाइल भएको छ । फेरी आफू कार्यालय जानुपर्छ । हतारमा बच्चालाई भुलाउनैका लागि भए पनि मोबाइल दिने गर्दा लत बनै बस्यो ।’ उनले आफ्नो मोबाइल बच्चालाई नदिँदा आफूसँग नै बच्चा रिसाउने गरेको पनि सुनाइन् । ‘आजभोलि त बच्चालाई मोबाइल दिन्नँ, मामु अफिसमै बस्नुस्, घर नआउनुस् भन्दै रिसाउँछ ।’ उनी थप्छिन् ।

त्यस्तै विराटनगर ६ कि लिना थापा पहिलेको बच्चा र अहिलेको बच्चाको तुलनात्मक हिसाबले भन्दा धेरै नै परिवर्तन आएको बताउँछिन् ।

‘पहिलेको बच्चाहरु बिहान उठेर हातमुख धोएर, केही समय पढाइलाई, केही समय घरको काममा केन्द्रित हुन्थेँ भने पछिल्लो समयका बच्चाहरु हरेक महत्वपूर्ण समय मोबाइलमा नै खेर फाल्ने गरेका छन् । यसो हुनुमा हामी अभिभावकको कमजोरी पनि हो ।’ उनी भन्छिन् ।

पछिल्लो समय अभिभावकको व्यस्त जीवनशैली, आमा–बाबा नै कामकाजी भएकाले पनि कामको चटारोमा बच्चा अलमलाउन मोबाइल दिने गर्दा पनि बच्चाहरुमा एक खालको मोबाइल खेलाउने लत बसेको उनको बुझाइ छ ।

‘बच्चाहरुको अगाडि कोरोना संक्रमणको भयावह अवस्थाका विषयमा कुरा गरिरहँदा उनीहरुमा एक खालको नकारात्मक असर पर्न गएको छ, जसले गर्दा घरको कमपाउण्डभित्र निस्किएर खेल्न समेत डराउँछन् । यो त्रास मेरै बच्चाहरुमा पनि छ, त्यसैले पनि विकल्पको रुपमा मोबाइल या टिभि भएको हो । ’उनले भनिन् ।

पछिल्लो समय स्कूलहरुले अनलाइन क्लास दिने भएकाले बच्चाहरुलाई एउटा मोबाइल या ल्यापटप दिनैपर्ने भएकाले मोबाइलबाट टाढा राख्न पनि सम्भव नभएको उनी बताउँछिन् ।

सामाजिक रुपमा घुलमिल कम
‘हामीलाई सानोमा आमाले घरको काम सिकाउनुहन्थ्यो, हामीले पनि हाम्रो आमाले जस्तै बच्चालाई घरायसी काम सिकाउनुपर्ने हो । तर, तर श्रीमान् श्रीमती नै काम गर्ने भएपछि व्यस्त जीवनशैलीेले गर्दा प्रविधिको बढ्दो विकाससँगै बच्चालाई केही संस्कार दिन सकेको छैन । मोबाइलको लतले बच्चा सामाजिक घुलमिल हुन नचाहाने, मोबाइलमा बढी ध्यान केन्द्रिकृत हुने हुँदा बच्चाहरु सामाजिक घुलमिल हुन नचाहाने, एकान्तमा बस्न रुचाउने जस्ता क्रियाकलाप बढ्ने विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालका बाल रोग विशेषज्ञ डा. रामभक्त सुवेदी बताउँछन् ।

मोबाइल भेटेपछि घण्टौंसम्म एक्लै मोबाइल चलाउँदै बस्ने, कोसँग कस्तो व्यहवार गर्ने, कसरी बोल्नेजस्ता क्रियाकलापले अहिलेको बच्चामा संस्कार पनि हराउँदै गएको उनले बताए ।

अत्याधिक मात्रामा मोबाइल चलाइरहँदा यसले शारीरिकसँगै मानसिक समस्या पनि ल्याउने उनको भनाइ छ ।

प्रविधि र असर
डा. सुवेदीको भनाइअनुसार बच्चाहरु धेरै समय एकै ठाँउ बसेर मोबाइल चलाइरहँदा बच्चाहरुको मांशपेशी बलियो नहुने समस्या हुन्छ ।

जसले गर्दा खेलकूदमा रुची कमी आउने समस्या उत्पन्न हुन्छ । बढी मोबाइल चलाउने बच्चालाई चलाउन नदिँदा धेरै छिटो रिसाउने जस्ता समस्याहरु देखिन्छन् ।

लामो समयसम्म मोबाइल हेरिरहँदा आँखामा समस्या आउन सक्छ । आँखा मात्रै नभएर ब्रेनमा पनि असर पर्छ । विस्तारै बालबालिकाको ब्रेनलाई सुस्त बनाइदिन्छ । मोबाइलले गर्दा एक्लै बस्ने, परिवारको सदस्यसँग कुरा गर्न नरुचाउने जस्ता समस्याहरु देखिन्छ ।

लत र छुटकारा 
मोबाइलको लत बसेको बच्चाहरुलाई लत छुटाउन गाह्रो हुन्छ । पछिल्लो समय मोबाइल नदिइ पनि नहुने अवस्था छ ।

अनलाइ क्लास चलिरहेको छ । बच्चाहरुले अनलाइनबाटै पढ्नुपर्ने बाध्यता पनि छ । त्यसले गर्दा बच्चालाई टिभि हेर्ने, मोबाइल चलाउने समय छुटयाइदिनपर्छ ।

बच्चालाई राति ओछ्यानमा बसेर मोबाइल हेर्न नदिने र एक घण्टा, आधा घण्टा गर्दै मोबाइल धेरै हेर्ने लत छुटाउन सकिने डा. सुवेदीको भनाइ छ ।

बच्चालाई मोबाइलको सट्टा अन्य खेलौना दिने, केही समय अभिभावकले बालबालिकालाई समय दिने, उनीहरुसँग घुलमिल भइदिने गर्दा मोबाइललगायतका अन्य विद्युतीय सामग्रीहरुको लत सजिलै छुट्याउन सकिने बताउँछन् ।

प्रतिक्रिया