ओम्नी समूह कालोसूचीमा, एक वर्षसम्म खरिद प्रक्रियामा भाग लिन नपाउने

काठमाडौं । ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई) कालाेसूचीमा राखिएकाे छ ।
सार्वजनिक खरिद अनुगमनको कार्यालयले एक सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन २०६३ काे दफा ६३ काे उपदफा (१) बमाेजिम एक वर्षसम्म कालाेसूचीमा राखिएकाे जानकारी गराएकाे हाे ।
सरकारले गत चैत १९ गते नै ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेकाे थियाे । यद्यपी कार्यान्वयन भने गरेको थिएन । भदौ २९ देखि लागु हुनेगरी कारवाही प्रक्रिया अगाडी बढाएको हो ।
काेभिड १९ महामारीकाे सुरूवाती चरणमा परीक्षण किट र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री खरिदका लागि सरकारले ओम्नी समूहमार्फत् एक अर्ब २४ करोड बढी रकमको उपकरण झिकाएको थियो । पहिलाे लटकाे सामान ल्याइपुर्याउँदा नै बजार मूल्य भन्दा महँगाे भएकाे र सामान समेत कम गुणस्तरकाे भएकाे भन्दै चाैतर्फी रूपमा आलोचना उठेकाे थियाे ।
त्यसको चौतर्फी विरोध भएपछि चैत १९ गते ओम्नीसँगको सम्झौता तोड्ने निर्णय गरेकाे थियाे ।
मन्त्रिपरिषद्ले सम्झौता तोड्ने निर्णय मात्र लिएन ओम्नीलाई कालोसूचीमा राख्ने र उसले हिमालयन बैंकमा राखेको पाँच लाख १६ हजार ९ सय २२ अमेरिकी डलरसमेत जफत गर्ने निर्णय लिएको थियो। उक्त स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको आशंकामा संसदको सार्वजनिक लेखा समितिले छानबिन गरिरहेको छ ।








