बार्दली र सिगरेटहरू

बाहिर एकोहोरो वर्षा भइरहेको छ । म सधैँ झैँ मेरो बार्दलीको कुर्सीमा एकलासले बसिरहेकी छु । मेरा दृष्टिले झरीको आवाज निहारिरहेजस्तै म एकोहोरो भएर बाटोको एउटा बेवास्ता गरिएको कुनामा आकाश र धर्तीकाे विध्वंसकारक कामक्रिडा अवलोकन गर्दै रहिछु ।

हातमा काजान्तजाकिसको ‘जोर्बा’ धैर्यताका साथ मबाट आफ्नो सान्टुरी बजाउने अनुमति कुर्दैछ सायद । म उसलाई मेरो काखमा यसै लत्याएर टोलाउँदै रहिछु । दिनहरू यसरी एकनास बितिरहेका छन् । यो मौसममा, यो रिक्त छिमेकमा सडकहरू यसै सुनसान लेटिरहेका हुन्छन् । कहिले घामको रापले र कहिले बादलको सन्तापले उनीहरूलाई स्पर्श गर्छन् अनि यसै-यसै दिन र रात एकतमासले दोहोरी खेलिरहन्छन् ।

मौसम बदलिनु अघि म झरी कुरिरहेकी थिएँ, मानाैँ मेरो बाँच्नुको एक मात्रै सार भनेको यो वर्षको पहिलो वर्षा हेर्नु । तर अब पानी पर्न थालेको कयौं दिन भैसक्यो । पहिलो वर्षा हुँदा म कोठा भित्र थिएँ, केहि कोश पर घरको युवक आफ्नो बार्दलीमा बसेर सिगरेटको धुँवा बीच आत्मीयता खोज्दै थियो । म मेरो पर्दालाई बिस्तारै हटाएर उसको एक्लोपनलाई चियाउँदै थिएँ ।

जब दिनको एकतमासको ख़ामोशी बिथोल्दै वर्षाको सिमसिम आवाजले आयातन लिन लाग्यो, म झस्किएँ । म यस्तै बेलाबेला आफूलाई युवक तर्फ नजानिदो पाराले आकर्षित भईरहेकी भेट्टाउँछु । दिनभर कोठाभित्रै क़ैदी सरह गुम्सिरहन्छु । बेला बखतमा जब युवक उसैगरी आफ्नो बार्दलीमा सिगरेट खान आउँछ, म मेरो सिरानी मुनीबाट सिगरेटको प्याकेट निकाल्छु र उसको एक्लोपनमा सामेल हुन खोज्छु, या आफ्नो एक्लोपनमा उसलाई सामेल बनाउन खोज्छु । उसका हरेक सर्कोहरूमा म विराम लिन्छु र उसका विरामहरूमा म मेरा सर्कोहरू ।

थाहा छैन म कहिले देखि यस्ती भएँ । मेरा हृदय मस्तिष्क एकदम चेतना शून्य भएझै लाग्छ । हरेक चीज़ निरस लाग्छ । म बडाे सुखशयल र रोबरवाफ भएको घरानामा हुर्किएकी । मध्य वा निम्नवर्गीय बालबालिकाले गर्नुपर्ने चाहहरू मैले आफूभित्र लुकाउनु परेन, निरर्थक ढिपी ज़िद्दी गरेर म रूनु परेन । मेरो चेत आउनु अघि नै बुबा परलोक भइसक्नु भएको थियो, त्यसैले त्यो पीर पनि मेरो हृदयले बेहोर्नु परेन । मुमाले बडो स्नेह र स्याहारले मलाई हुर्काउनु भयो, मेरा हरेक फर्माइशहरू बिना आनाकानी पुरा गरिदिनुभयो । मलाई जीवनमा पिताको ईच्छा र आवश्यकता कहिल्यै भएन ।

म पढाइमा जेहेन्दार । खेलकूदमा स्फुर्तिली हुँदै हुर्किएकी । तर कुनै यस्तो अदृश्य बदलाव यति धिमा तवरले आयो जसले गर्दा म बिस्तारै निस्तेज र भावहीन हुँदै गएँ । अनि त्यो बार्दलीकाे क्रम कहिल्यै रोकिएन । मलाई लाग्छ, मेरो मृत्यु पनि त्यस्तै अर्थहीन हुनेछ । म यहि बार्दली मै बसिरहेकी हुनेछु । एक गृष्मको घमिलो दिन । अनि अचानक चट्याङ्ग पर्नेछ र मेरो रिक्ततामाथि बज्रनेछ । म यसरी मर्नेछु, बिल्कुल ‘बार्टलबी, द स्क्रिभुन’को एक बेनामे पात्र झै जसकाे सम्पूर्ण अस्तित्व एउटा अनुच्छेद मै सिमित हुन्छ । यद्यपी एक प्रकारले मलाई यो मृत्युप्रति विशेष मोह पनि छ । म यति मात्र आशा गर्छु, त्यस बखत मेरो हातमा एउटा राम्रो पुस्तक होओस् ।

त्यस प्रथम झरीले केही समयका लागि त्यस नीरसतालाई रूकाव दियो । म आफ्नो हत्केलाको सिगरेट निभाएर बार्दली बाहिर निस्किएँ । युवक पनि आफ्नो हातको सिगरेट एस्ट्रेमा निमोठी मेचबाट उठेर आकाश तर्फ हेर्दै मुस्कुराउँदै थियो । हाम्रा आँखाहरू केहिबेर जुधिरहे । उसले मुस्कुराहटको शिलशिला नतोडी आफ्नो शिर केही निहुराएर मलाई अभिवादन गर्यो । म पनि उसै गर्दै अरू मुस्कुराइदिएँ । पहिलो पल्ट हामीले एकअर्काका एक्ला अस्तित्व स्वीकार्यौँ । यो चोटी नदेखेझैँ गरी आफ्ना एकान्त मौजूदगीमा लीन भएको बहाना गर्नु परेन ।

एक क्षणमै पानी घना रूपले वर्षिँदै गयो, अनि पर बार्दलीको युवक दृश्यबाट बिस्तारै धमिलिँदै ।

त्यसपछि युवक अचानक आफ्नो बार्दलीमा देखिन छाड्यो ।

तर दिनहरू एकसूरमा बिति नै रहे । म सोच्छु यदि कला, साहित्य, सिनेमा नहुँदा हुन् त म कसरी आफ्नो जीवन बिताउँथे होला । मुमा भन्नुहुन्छ म किताबहरूको आड लिएर आफ्नो जीवनबाट भागिरहेकी छु । म हाँस्छु, ‘जीवनबाट भाग्न मिल्ने भए !’

मेरो छातीमा एकतमासको भारी सधैँ अल्झि नै रहेको हुन्छ । अझ जबजब म किताबहरूबाट टाढा रहन्छु, त्यस भारीपनाले मलाई एकदम व्याकुल बनाउँदै लैजान्छ । यो भारीपना कहिले देखि सुरू भयो म जान्दिन, तर मलाई लाग्छ म जन्मदै छातीमा सो संवेदना लिएर जन्मिएँ र यो अन्त्यहीन छ । म विश्वस्त भएर दावा गर्न सक्छु, म मरेपनि यो छातीको भारीपना सकिने छैन ।

मलाई डर लाग्छ- यस एउटै अनुभूति नितान्त बाँचिरहनेछ र मेरो वेदना, व्यथा अनि हिनताबोध समयको अन्त्यसम्म रहिरहनेछ । मैले मुमालाई एकरात एक्कासी भनेँ- ‘मुमा, यदि म मरेँ भने मलाई जति सक्दो चाँडो जलाइदिनु होला ।’

मुमा एकदम विमुढ भएर केहि काल उभिइरहनुभयो । मैले उहाँको अनुहार हेरिनँ, दृष्टि भुईँतिरै अडाइरहेँ ।

‘तँ कसरी यस्ती भईस् नानी ?’ उहाँको स्वर टुट्यो ।

म चुपचाप बसिरहेँ, मुमा अचानक रून थाल्नुभयो । विक्षुब्ध भएर उहाँलाई नियालेँ- ‘म त जिस्किएकी पो त मुमा !’

मुमा आफ्नो ओछ्यानमा रातभर सुक्-सुक् गरिरहनुभयो । म उहाँको कोठामा गएर छेउको मेचमा मौन बसिरहेँ ।

जब युवक र उसका सिगरेटहरू सुरूसुरूमा बार्दलीमा देखिन थालेका थिए, म मेरो नजरको कापबाट उसलाई अवलोकन गरिरहन्थेँ । सायद विद्यार्थी होला । एक्लै कोठा लिएर बसेको छ । कति शून्य उसको विद्यमानता । मानौँ उसका सुस्केराहरू मात्रै उसको भाषा हो, जो केहि माने राख्दैनन् । यदि राख्छन् त फगत सुस्केराहरू नै । मलाई त्यही नैराश्यताले सायद ऊ प्रति आकर्षित गर्यो, त्यहि बेढंगको रिक्तताले । तर अब युवक कतै देखिएन । सायद हप्तादिन त भइसक्याे । बल्ल आत्मीयता साटिएको थियो, केहि कोशको दुरीबाटै भएतापनि । दिनहरू अरू नियास्रा लाग्न थाले ।

म एउटा कथा लेख्न बसेँ- युवकका बारे, मेरो बारे । हाम्रा नीजि असारताका बारे । तर यस कथामा अझै वर्षा आएको छैन । मलाई अचानक मनोवेग भयो, अन्त्य केही यस्तो हुनेछ । युवकले मलाई एउटा चिठी लेख्नेछ । साँझ म बार्दलीमा रहिरहेकी बेला मेरो पर्खाल बाहिर आएर आँगनमा त्यस चिठी फाल्नेछ । चिठीभित्र उसले लेखेको हुनेछ- ‘यो शनिबार मोक्षलोक छहराबाट हाम फालेर आत्महत्या गर्दैछु । तिमी साथ दिन्छ्यौ या साथ चाहन्छ्यौ भने साँझ ५ बजे अगाडीको चोकमा भेट, म मोटरसाइकलमा कुरिरहेको हुनेछु ।’ म किंकर्तव्यविमूढ़ भएर उसको चिठी हातमा समातिरहनेछु ।

म सोच्छु म कसरी अन्त्य गरूँ यस कथालाई सायद त्यही विमुढतामै सकिदिऊँ ! अनि म त्यहिँ उभिइरहँदा प्रथम वर्षा सुरू होस् । या त त्यो युवक मलाई केहि क्षण कुरिरहोस् अनि म आउँदिन भन्ने हेक्का भएपछि ऊ एक्लै छहरा तर्फ हुँइकिओस् । यतिमै पनि सकिदिदाँ होला । या त अन्त्यमा म एक्लै मोक्षलोक जाऊँ, हतारिँदै । म त्यहाँ पुग्दा ऊ हाम फाल्नै लागेको हुनेछ, मैले उसलाई आवाज़ दिएर रोक्नेछु । हामी मौन भएर एक-अर्काको परस्परमा बस्नेछौँ, छहरा एकनासले नियाल्दै । मैले उसलाई मेरो सिगरेट पास गर्नेछु ।

तर यस्तो पनि हुन सक्छ- म हतारिँदै त्यहाँ पुगुँ तर युवकले यस लोक छोडिसकेको होस् । म एक्लै छहराको पुछारमा उभिएर सिगरेट सल्काऊँ- उत्पतिको सुरूवात देखि पृथ्वीको यस कुनामा पानीका निर्दोष बुँदहरूको आत्महत्या निहार्दै । अनि आधि सिगरेट म छहरा तल फालिदिऊँ युवकको नाममा ।

सायद त्यसपछि म पनि यसै हाम फालिजाऊँ !

तर म किन यस्तो नगरूँरु म युवकको चिठी पढेर विमुढ भईरहेको बखत एक निर्योलमा पुगुँ तर पाठकलाई केहि अन्दाज नहोस् । अनि म कथा एकाएक सिध्याईदिऊँ, वाक्य नै अपुरो राखी । पाठकले नै बाँकी सोचुन् । सायद म संवेगमा युवकलाई चोकमा भेट्न गएँ । सायद म हतारिदै युवकलाई बचाउन दौडिएँ । या त म आफै ऊसँगै आत्महत्या गर्न लम्किएँ ।

कथा सायद वाक्यको मध्येभागमै सकिनेछ-

… मलाई मो

हो, सायद म यतिमै कथा अन्त्य गरिदिनेछु । तर मलाई लाग्दैछ कुनै लेखकले म जन्मनु भन्दा शताब्दी अधि नै यो अन्त्य प्रयोग गरिसकेको छ । यो कस्तो उराठलाग्दो अनुभूति हो ? हामी कति टिठलाग्दो पीढीँका लेखकहरू, कलाकारहरू । सबै कुरा भनिइसकेका छन् । हरेक तरिकाबाट, हरेक प्रयोगबाट । हामीले गएकाहरूबाट सापटी लिए पनि सापटी हो, नलिए पनि सापटी नै हो । त्यसैले त मलाई कुनै नयाँ पुस्तक लेख्ने तृष्णा छैन । संसारमा पहिल्यै कति धेरै राम्रा लेखकहरू छन् । काेही मेरो पुस्तक किन पढाेस् । सायद कसैले ‘तेरो पुस्तक किन्दैछु’ भनोस् अनि म कराऊँ- ‘तैत् ! यी पुस्तकहरू पढ्नु बरू !’ यो कस्तो बेतुकका कुरा ! कस्तो हाँस्यास्पद, कस्तो…!

मुमा भन्नुहुन्छ- मेरो यस्तै पेसिमिजमका कारण मैले कुनै कथा कविता लेख्न सुरू गरेर अन्त्य गर्न सक्दिनँ र यस्तै रहिरह्यो भने न कहिल्यै केहि प्रकाशित नै गर्नेछु । तर मलाई त्यो पेसिमिजम भन्दा पनि एसेप्टेन्स अफ ह्युमन कन्डिसन लाग्छ । मेरो मानेमा कन्टेम्पोरेरी आर्टिस्टस् कन्डिसन ।

‘पुस्तहरूमा संसार हुदैन । संसार बुझ्न संसारसँग घुलमिल हुनुपर्छ, किताबका पानाहरूसँग होइन ।’

म हाँस्दै बोल्छु, ‘मुमा, संसार बदलिएको त छैन ! दुई सय वर्षअघिका पुस्तकहरूमा पनि मानिसका त्यहि उल्झनहरू छन्, अहिले पनि त्यहि ।’

मुमा लामो सुस्केरा हाल्नुहुन्छ अनि थकित स्वरमा बर्बराउनुहुन्छ- ‘तँसँग त यस्ता कुराहरू गर्नु नै हुँदैन।’

एकदिन अचानक युवक बार्दलीमा देखियो । उस्तै नियास्रो अनुहार, उस्तै थकित शरीर । हृदयबाट बेचैनी पलभरमै ख़ामोश भएर शान्ति पाएझैँ एक्कासी हलुको महसूस गरेँ । पर्दालाई हठात् छोडेर म बार्दली बाहिर गएँ । युवकले मलाई देख्यो र मन्द मुस्कानसँगै टाउको हल्का निहुराएर अभिवादन गर्यो । मैले पनि उसै गरी अभिवादन फर्काएँ । अनि केहि क्षणमा कोठाभित्र गएर पर्दाको कापमा उभिएर एउटा सिगरेट बालेँ ।

मलाई अर्को बिहान मोक्षलोक जाने प्रोत्तेजना भयो । मैले त्यो मेरो कथालाई कुनै गति नै दिन सकिरहेकी थिइनँ । अनि त्यो वाक्यको मध्यभागमा अन्त्य गर्ने विचार पछि आएर हाँस्यास्पद लाग्यो । त्यस्तो बेअकलको अन्त्य कुन चाहीँ लेखकले गराेस् । त्यसैले सोचेँ, सायद त्यहाँ पुगेँ भने केहि प्रेरणा स्वतस्फूर्त आइजाओस् । मैले यतिका दिनको नजरबन्दी पश्चात् आफ्नो स्कूटरको इञ्जिन स्टार्ट गरेँ । प्रयोग नगरेको महिनौँ भइसकेकाले केहि बेर बल गर्नुपर्यो ।

‘कहाँ जान लागेकी ?’ मुमा बार्दलीबाट हर्षोन्मुख आवाजमा कराउनुभयो ।

‘यसै । हावा खान ।’

म एकान्त र एक्लोपना अपेक्षा गर्दै त्यहाँ पुगेकी थिएँ । तर त्यहाँ अर्को एकजना पाहुना पहिल्यै रहेछ । नत्र यहाँ खासै भीड हुँदैन । प्रायः म एक्लै नै हुन्छु यहाँ आउँदा ।

लाग्यो एकछिन पर नै बसिरहुँ अनि त्यो मान्छे गयो भने बल्ल नजिक जाऊँ । म केहिबेर उसलाई पछाडीबाट हेरिरहेँ अनि एक्कासी झस्किएँ जब ऊ पछाडी फर्कियो, युवक…।

युवक पनि एक निमेष आश्चर्य भावले मलाई निहार्यो अनि मुस्कुरायो ।

युवक आफ्नो पिताको दाहसंस्कार गर्न भारत गएको रहेछ । ऊ एउटा सिगरेट सल्काउँछ र हामी केहिबेर मौन भएर छहरा निहारिरहन्छौँ ।

युवक मलाई सिगरेट पास गर्दै मुस्कुराउँछ, ‘राति तपाईको पर्दाबाट झ्याल बाहिर धुवाँ उडिरहेको दृश्य कस्तो मिलानकोलिक देखिन्छ । म पेन्टिङ्ग बनाउँदै थिएँ त्यसबारे । पर्दाभित्र तपाईँको पातलो छाँया । कस्तो एक्लो देखिएको । सायद म तपाईँलाई देखाउँला, यदि त्यो पेन्टिङ्ग सकेँ भनेँ ।’

म टाउको हल्लाउँछु । मलाई ख्याल हुँदैन, के प्रतिउत्तर दिऊँ । म मुस्कुराउँदै एक सर्को धुवाँ तान्छु । उसको सिगरेटको धुवाँसँगै उसको केहि स्वाँस मेरो छातीमा मिसिएको मलाई आभाष हुन्छ ।

‘तपाईँ छेउमा हुँदाहुँदै म यसै यहाँबाट हामफालिदिएँ भने तपाईँ के गर्नुहुन्छ ?’ युवकले प्रश्न गर्छ ।

‘तपाईँको नाउँमा एक खिल्ली सिगरेट प्रत्येक वर्ष चढाउँछु यो छहरालाई ।’

हामी दुवै बेस्सरी हाँस्छौँ ।

र, छहरा उसै गतिमा खसिरहेको हुन्छ, क्षितिजबाट साँझ एकनासले नजिकिदै हुन्छ, अनि सिगरेटहरू मन्द गतिमा सबिस्तार आत्महत्या गर्दै हुन्छन् ।

प्रतिक्रिया