पुनः कुलमानले नै पाउँदै प्राधिकरणको जिम्मा, विद्युत् निकालेर बेच्लान् त छिमेकी देशलाई ?

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिएको छ । चार वर्षअघि भदौ २९ गते प्राधिकरणको निर्देशकका रुपमा नियुक्त घिसिङको कार्यकाल सकिनै लाग्दा उनलाई पुनः नियुक्त गर्नको लागि प्रस्ताव तयार भएको बताइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनको प्रस्तावमा घिसिङलाई पुनः चार वर्षका लागि नियुक्त गरिने तयारी भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । मन्त्री पुनले तयार पारेको प्रस्ताव  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पठाउने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई फेरि जिम्मेवारी दिने सहमति भइसकेको छ ।

स्रोतका अनुसार मन्त्री पुनले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा जसलाई अगाडि बढायो उसैलाई स्वीकार गर्ने बताइएको छ । कुलमानको सचिवालयका अनुसार आइतबार पनि उनले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेका छन् ।

यसअघि भदौ २५ गते बोलाएको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजाने तयारी मन्त्री पुनको भए पनि त्यसदिनको बैठक भदौ २६ का लागि सरेको थियो । २६ गते नेकपा स्थायी कमिटी बैठक परेका कारण मन्त्रिपरिषद स्थगित भएको थियो । त्यसपछि मन्त्रिपरिषद बैठक बसेको छैन । प्रधानमन्त्रीको व्यस्तताले पछिल्लो समय मन्त्रिपरिषद्को बैठक बस्न नसकेको बताइएको छ ।

उर्जा मन्त्रालयका अनुसार सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट कुलमानबारे निर्णय हुने बताइएको छ । तर मन्त्रिपरिषद् बैठक बस्ने सूचना भने आइसकेको छैन ।

यसैगरी अब बस्ने बैठकले सरकारका प्रवक्ता र वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नेबारे पनि निर्णय गर्न सक्ने जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया