टयालेन्ट हण्टका उत्कृष्ट ७ जना बास्केटबल खेलाडीलाई एम्स कलेजद्वारा छात्रवृत्ति प्रदान

धरान । धरान बास्केटबल संघको आयोजनामा भएको पाँचौँ बास्केटबल ट्यालेण्ट हण्टका उत्कृष्ट ७ जनालाई एम्स एकेडमीले छात्रवृत्ति प्रदान गरेको छ । संघको सिफारिसमा ट्यालेन्ट हण्टका खेलाडी विद्यार्थी विनम राई, सञ्जय राना मगर, शिव गजमेर, इन्दु भण्डारी, सुविन राई, निकेश राई र निशान तामाङलाई छात्रवृत्ति प्रदान गरिएकाे हो ।

आज (आइतबार) एकेडेमीको हलमा एक कार्यक्रमको आयोजना गरि विद्यालय र धरान बास्केटबल संघबीच साम्झौता पत्रमा हस्ताक्षर भएको थियाे । साे पत्रमा एकेडेमीले विद्यार्थीलाई ६० प्रतिशत छात्रवृत्ति दिने उल्लेख छ ।

छात्रवृत्तिका लागि खेलाडीहरुले पालना गर्नुपर्ने सम्झाैता पत्रमा छात्रवृत्ति पाउने विद्यालय र अभिभावकले हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा विद्यालयका तर्फबाट एकेडमीको सञ्चालक समिति अध्यक्ष प्रकाश राई, व्यवस्थापकिय निर्देशक अनुप योञ्जन तामाङ र प्राचार्य मित्र तामाङले हस्ताक्षर गरेका थिए ।

पत्रमा संघबाट बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष तथा धरान बास्केटबल संघका अध्यक्ष सुरज लामा, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी र प्रदेश नं. १ मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले हस्ताक्षर गरेका छन् ।

विगत ३ वर्षदेखि बास्केटबल संघसँग गरेको सहकार्यलाई एम्स एकेडेमीले निरन्तरता दिएको एकेडमीका सञ्चालक समिती अध्यक्ष राईले बताए । खेलसँगै शिक्षा भन्ने उद्देश्यका साथ एम्सले निरन्तर रूपमा बास्केटबल संघसँग सहकार्य गर्दै आएको उनले बताए ।

प्रतिक्रिया