चाडपर्व नजिकिँएसँगै राजधानी छाड्ने बढे, चेकजाँचमा छैन कडाई

सप्तरी । कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेपनि लामो समयदेखिको लकडाउनले जनजीवन कष्टकर बनेपछि सरकार लकडाउन खुुकुलो बनाउने तयारीमा छ । असोज १ गतेदेखि यातायात व्यवसायीहरुले समेत निषेधाज्ञा तोड्दै सार्वजनिक सवारी सञ्चालन गर्ने भनेको छ ।
अहिले पनि राजधानी बाहिर भने निर्वाध सवारीहरु चलिरहेका छन् । शहरबजार आशिंक र पूर्ण रुपमा खुलेका छन् । शनिबार उपत्यकाबाट बाहिरीनेहरुको संख्या बढ्दो थियो । नजिकिँदो चाडपर्वसँगै उपत्यका छाड्नेहरु बढ्न थालेका छन् ।
यसअघि गतवर्षको चैत्र ११ गते लकडाउन भएसँगै राजधानीका आधा मानिसहरु गाउँघर गएकोमा कोरोना संक्रमणले दशैं तिहार अगाडी शैक्षिक संस्था, उद्योग, व्यापार व्यवसाय समेत चल्ने अवस्था नदेखिएपछि राजधानी बाहिर घर हुनेहरु चाडपर्व मनाउन बाहिरिन थालेका हुन् ।

काभ्रे नेपालथोक घ्याम्पेखोलामा शनिबार आएको बाढि र खोला तर्दै यात्रुहरू

शनिबार विहानैदेखि साँगा नाका हुँदै राजधानी बाहिरीनेहरु सवारी बढेका छन् । सरकारले राजधानी बाहिरिने सवारीलाई चेक जाँचमा कडाई नगरेपछि गाउँघर फर्कनेहरुको संख्या बढ्दो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एक प्रहरीले बताए ।
‘मोटरसाइकल, निजी कार तथा केही रिर्जभ नै गरेर मान्छेहरु आएका छन् । जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर आएकालाई रोक्न मिल्दैन, आवश्यक विवरणहरु हेरेर छाड्ने गरेका छौं ।’ सिन्धुली माढीमा चेकजाँचको क्रममा बसेका एक प्रहरी हवल्दारले भने ।
त्यसो त कोरोना संक्रमणको जोखिम रहेकै भएपनि प्रहरी प्रशासनले गन्तव्यमा हिँडेकाहरुलाई रोक्ने गरेको छैन । अत्यावश्यक काम लिएर उपत्यका छाड्नेहरुलाई प्रहरीले कहिँ कतै रोकटोक नगरेको हो । साँगा, धुलिखेल, नेपालथोक, सिन्धुलीगढी, बर्दिबासका एकाध स्थानमा प्रहरीले सवारीको इन्ट्री गराउने वाहेक अन्य चेकजाँच र सोधखोज गर्दैनन् । ‘अलिकति व्यवहारिकता पनि हेरिएको हो, प्राइभेट गाडीमा परिवारहरुसँग आएका, इमरजेन्सी परेर पास लिएर आएका सवारीलाई रोकेका छैनौं । स्थानीय स्तरमा मास्क समेत नगराई ओहोरदोहोर गर्नेहरुलाई भने नियन्त्रणमा लिएर काउन्सेलिङ गर्दै छाड्ने गरीएको छ ।’ सिन्धुलीगढीका प्रहरी हवल्दारले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने ।

काभ्रे नेपालथोक घ्याम्पेखोलामा शनिबार आएको बाढि र खोला तर्दै यात्रुहरू

‘यस्तो विषयमा हामीलाई बोल्ने अधिकार छैन, नाम नलेखिदिनु होला । लकडाउन काठमाडौंमा होला यता छैन ।’ उनले भने ।
उपत्यकामा जिल्ला प्रशासनले निश्चित समय र दिन तोकेर व्यापार व्यवसाय गर्न भनेपनि राजधानी बाहिर भने अधिकांश पसल, व्यवसाय खुल्ला रहेका छन् । धुलिखेल, भकुण्डेबेसी, सिन्धुलीगढी, बर्दिबास, ढल्केवर, मिर्चैया, सप्तरी, इनरुवा, इटहरी धरानका पसलहरु निर्वाध खुलेका छन् ।
कोरोनाको उच्च जोखिम रहेका सप्तरी, सुनसरी, सिराहामा पनि दैनिक ७, ८ घन्टा अत्यावश्यक पसलहरु खुलेका छन् । वीपी राजमार्ग, पूर्वपश्चिम राजमार्गमा होटल, रेष्टुरेन्ट मात्र हैन सामान्य चिया पसल समेत खुलेका छन् ।
त्यहाँका ठूला होटल र रेष्टुरेन्टले कोरोना संक्रमणको जोखिम कम गर्न सेनिटाइजर गरेर, सामाजिक दुरी कायम गर्दै सेवा दिइरहेको भएपनि साना तथा मझौला होटल रेष्टुरेन्टहरुले सतर्कता अपनाएका छैनन् ।
तराईका जिल्लाहरुमा कोरोना सचेतनाको चरम अभाव देखिएको छ । सिराहा, धनुषा, सप्तरी, सुनसरी, मोरङ जस्ता जिल्लाहरुमा सर्वसाधारण सामान्य मास्क समेत नगलाई निर्वाध रुपमा हाटबजारमा हिँड्ने गरेको देख्न पाइन्छ ।
सरकारले स्थानीय तहमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा डिसिएमसी गठन गरेर काम गरेको भएपनि प्रभावकारी भएको छैन । खासगरी लकडाउन खुकुलो भएसँगै शहर बजार र यातायातका साधनको भिडभाड व्यवस्थापनका लागि डिसिएमसीले कुनै योजना बनाउन सकेको छैन ।
विगत ६ महिनादेखिको लगातारको लकडाउन, निषेधाज्ञा, सटडाउनले दैनिक ज्यालादारी र मजदुर वर्गलाई जीवन धान्नै मुस्किल भएपनि स्थानीय, प्रदेश र संघीय सरकारले प्रभावकारी काम गर्न सकेको छैन ।

प्रतिक्रिया